रोमाञ्चक प्रतिष्पर्धामा नेपाल र म्यानमार बराबर, फाइनलमा पुनः भिड्ने

भक्तपुर, फागुन ११
चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले बराबरी खेलेको छ । काठमाण्डौंको दशरथ रंगशालामा आइतवार सम्पन्न रोमाञ्चक प्रतिष्पर्धामा नेपाल र म्यानमारले २–२ को बराबरी खेलेको हो ।
खेलमा सबै गोल पहिलो हाफमै भएका थिए । फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमारलाई बराबरीमा रोक्न नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो । बराबरी नतिजासँगैं म्यानमार लिग विजेता र नेपाल उप विजेता बनेको छ ।
खेलमा म्यानमारले शुरुवाती अग्रता लिएको थियो । खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल गर्दै घरेलु टिम र दर्शकलाई स्तब्ध बनाए । २५ यार्डबाट उनले फ्रिकिकमा शानदार गोल गरेकी हुन् । नेपाली गोलकिपर अन्जना राना मगरले भलि आएको बललाई ठम्याउनै सकिनन् । सविताले स्वे यी तुनलाई फाउल हानेपछि म्यानमारले फ्रि–किक पाएको थियो ।


खेलको ११ औं मिनेटमा नेपालले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्यायो । साबित्रा भण्डारी ‘साम्बा’ले एकल प्रयासमा अगाडि बढाएर दिएको सटिक पासमा सविता रानामगरले पेनाल्टी बक्सबाट ट्याप इन गर्दै बललाई सही दिशा दिइन् । सविताको यो तेस्रो अन्तराष्ट्रिय गोल हो । यसअघि उनले वाफ र साफ च्याम्पियनसीपमा एक–एक गोल गरेकी थिइन् ।
एक एकको बराबरीपछि थप रोमाञ्चक बनेको खेलमा नेपालले १६ औं मिनेटमा दोस्रो गोल बेहोर्यो । डिफेन्सिभ इररका कारण नेपालले दोस्रो गोल खाएको थियो । म्यानमारका मे टेट लुले नेपाली ३ डिफेण्डर र गोलकिपर अञ्जनालाई जिल्लाउँदै गोल गरिन् । उनको जारी च्याम्पियनसिपमा यो तेस्रो गोल हो ।
खेलको ४१ औं मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा साम्बाले डि बक्स भित्रबाट आकर्षक गोल गरिन् । यो सँगै पहिलो हाफ २–२ को बराबरीमा सकियो ।


दोस्रो हाफमा म्यानमारले केही दवाब बनायो । खेलको ६३ औं मिनेटमा म्यानमारले अग्रता लिने मौका गुमायो । विन थेङ्गी तुनले हानेको फ्रि–किक प्रहारलाई गोल किपर अन्जनाले बचाईन । दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन् । खेल २–२ को बराबरीमा सकियो ।
आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो । उनले एक एसिस्ट र एक गोल गरिन् । उनी प्लेयर अफ दि म्याच घोषित भए ।
लिगको अन्तिम खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपाल र म्यानमार दुवैको लागि आइतवारको खेल वाम अफ खेल जस्तै थियो । यस्तोमा दुवै टोलीले एक अर्का विरुद्ध रणनीतिक खेल खेलेका थिए ।


म्यानमारले पहिलो प्लेइङ सेटमा ७ परिवर्तन गरेका थिए भने नेपालले तीन परिवर्तन गरेका थिए । नेपाली प्रशिक्षक राजेन्द्र तामाङले कप्तान तथा गोल किपर एञ्जिला तुम्बाप्पो सुब्बाको स्थानमा अन्जना राना मगर, स्ट्राइकर रेखा पौडेलको स्थानमा रश्मिकुमारी घिसिङ र विमला चौधरीको स्थानमा सरु लिम्बुलाई मैदानमा उतारेका थिए ।
म्यानमार र नेपाल यसअघि दुई पटक एएफसी वुमन्स ओलम्पिक क्वालिफाईङमा खेलेको थियो । जहाँ नेपाल एक पटक म्यानमारसँग ३–१ ले हार्दा एक खेल १–१ को बराबरीमा सकिएको थियो ।
नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनलमा पुगेका हुन् । यसअघि नेपाल र म्यानमार दुवैले लेबनान र कीर्गिस्तानलाई हराएका थिए । फाइनल खेल बुधवार हुनेछ ।