पेप्सीकोला–निकोशेरा सडकमा सवारीको गति प्रतिघण्टा ४० किलोमिटर निर्धारण

भक्तपुर, फागुन ६
दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले जिल्लाको दोस्रो मूख्य सडक पेप्सीकोला–पुरानो थिमि–निकोशेरा सडक (पुरानो बाटो)मा तिब्र गति नियन्त्रण अभियान शुरु गरेको छ । परिसरले निकोशेरा चोकबाट यो अभियान शुरु गर्दै उक्त सडकमा सवारीको गति प्रतिघण्टा ४० किलोमिटर निर्धारण गरेको हो ।
अभियान अन्तर्गत जनचेतना अभिबृद्धि र पेप्सीकोला–पुरानो थिमि–निकोशेरा सडक खण्डमा गति निर्धारण सम्बन्धी जानकारीमूलक बोर्डहरु २० स्थानमा राखिएको छ । तोकिएको गति भन्दा बढी गतिमा सवारी साधन चलाय कारवाही हुने चेतावनीयुक्त बोर्ड पनि राखिएको छ ।
परिसरले मध्यपुर थिमि नगरपालिकाको संयोजन एवं सहयोगमा ट्राफिक प्रहरी, नगरपालिका, प्रहरी बृत्त थिमि, डिभिजन सडक कार्यालय भक्तपुर, नगर प्रहरीसमेतको टोलीले आज निकोशेरा चोकदेखि पेप्सीकोला मनोहरा पुलसम्म २० ठाउँमा तिब्र गति नियन्त्रण सम्बन्धि जनचेतना एवं सूचनामलक बोर्डहरु राखेको हो ।
जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले फराकिलो सडकमा सावरी साधनको अत्याधिक तिब्र गतिका कारण दुर्घटना बढेपछि यसलाई नियन्त्रण गर्न तिब्र गति नियन्त्रण अभियान शुरु गरेको बताउनुभयो ।


उहाँले २०८१ साउन १ गतेदेखि यहीँ फागुन २ गतेसम्म सात महिनाको अबधीमा सल्लाघारीबाट निकोशेरा, बाहखा बजार, पुरानो थिमि, सानोथिमी हुदै पेप्सीकोला सडकमा मात्रै १६० वटा सवारी साधन दुर्घटना भएको जानकारी दिनुभयो । दुर्घटना भएका मध्ये ९० प्रतिशत दुई पाङ्ग्रे सवारी साधन भएको खत्रीले बताउनुभयो ।
उहाँले नियमाअनुसार फराकिला सडकमा प्रति घण्टा ४० किलोमिटर र बस्ती भित्रका सडकमा ३० किलोमिटर प्रतिघण्टाको गति कायम गरिएको बताउनुभयो । यसैगरी अरनिको राजमार्ग खण्ड अन्तर्गत मनोहरा खोलादेखि राधेराधे सूर्यविनायकसम्म प्रतिघण्टा ५० किलोमिटरको गति निर्धारण गरिएको छ ।
गति निर्धारण गरिएका सडकहरुमा जुनसुकै समयमा ट्राफिक प्रहरीले राडार गनको सहायताले सवारी साधनहरुको गति मापन गरी तोकिएको भन्दा बढी गतिमा सवारी चलाए कारवाही गरिने भएकाले तिब्र गतिमा सवारी साधान नचलाउन खत्रीले सबैमा आह्वान समेत गर्नुभयो ।
अभियानका क्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भक्तपुर–नगरकोट सडकमा पनि सवारीको गति निर्धारण आवश्यक रहेको बताउनुभयो ।


मध्यपुर थिमि नगरपालिका वडा नं. ६ का वडासदस्य रामचन्द्र थापा मगर, डिभिजन सडक कार्यालय भक्तपरका सुपरभाईजर सजन श्रेष्ठलगायतले भक्तपुरका मुख्य सडकहरुमा यस्ता अभियान आवश्यक रहेको बताउनुभयो ।
यसैबीच जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले रातीको समयमा पनि राडार गन मार्फत तिब्र गति मापन गर्दै कारबाही प्रक्रिया शुरु गरेको छ । गत सोमबार राती ८ बजेदेखी ९ बजेसम्म एकघण्टा गरेको जाँचमा ४९ वटा सवारी साधन तिब्र गतिका कारण कारबाहीमा परेको खत्रीले जानकारी दिनुभयो ।
तिब्र गतिका कारण अरनिको राजमार्ग अन्तर्गत लोहकिल्थली मनोहरा पुलदेखी सूर्यविनायक चोकसम्म सवारी दुर्घटनामा बृद्धि भएकाले न्यूनिकरणका लागि रातीको समयमा पनि राडार गनको सहायताले सवारीको गति मापन गरी तिब्र गतिमा सवारी चलाउनेलाई कारवाही शुरु गरिएको खत्रीले बताउनुभयो ।