भक्तपुर, फागुन ५
फोर नेसन्स वमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । काठमाण्डौंको दशरथ रंगशालामा सोमवार साँझ सम्पन्न खेलमा नेपालले १–० गोल अन्तरले किर्गिस्तानलाई पराजित गरेको हो ।
नेपालले खेलको पहिलो हापमा विमला चौधरीले गरेको हेडर गोलको मद्दतले जित हासिल गरेको हो । विमलाले खेलको ११ औं मिनेटमा उत्कृष्ट हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलमा थप गोल हुन नसकेपछि विमलाको गोल निर्णायक बनेको हो । सविता रानामगरले मैदानको बाँयातर्फबाट गरेको क्रसमा विमलाले उत्कृष्ट हेड गर्दै गोल गरेका थिए । नेपाली जर्सीबाट उनको यो दोस्रो गोल हो । यसअघि उनले सन् २०२१ मा फिलिपिन्सविरुद्ध गोल गरेकी थिइन् ।
खेलमा नेपालले किर्गिस्तानमाथि निरन्तर दवाब दिए पनि थप गोल भने गर्न सकेन । केही अवसरमा नेपाली खेलाडीहरु फिनिसिङमा चुके भने केही अवसरमा किर्गिस्तानी डिफेन्डर र गोलकिपर बाधक बने । किर्गिस्तानले पहिलो हाफमा नेपाली गोलपोष्ट चार्ज समेत गर्न सकेन् ।
खेलको छैटौं मिनेटमा नेपालले मौका सिर्जना गरेको थियो । रेखा पौडेलले टाइट एङगलबाट हानेको प्रहारलाई किर्गिस्तानकी गोल किपर दिलनुरा अबिबुल्लाहले बचाइन् । रिबाउन्डमा सबिता राना मगरको प्रहार बाहिरियो ।
१८ औं मिनेटमा प्रिती राईको फ्रि–किकमा विमला चौधरीको प्रहारलाई गोल किपर दिलनुराले बचाइन् । फर्किएको बलमा रेणुका नगरकोटीको लङ रेन्ज प्रहार क्रसबार माथिबाट थोरैले बाहिरियो ।
२७ औं मिनेटमा प्रिती राईको प्रहारलाई गोलकिपरले पन्च गरेर बचाइन् । यसपछि पहिलो हाफको इन्जुरी समयमा नेपालले सुनौलो मौका गुमायो । रश्मि कुमारी घिसिङको प्रहार क्रस बारमा लागेर फर्कियो । रिबाउन्डमा पनि सबिताको प्रहारले फेरि क्रसबारमा लाग्यो । रिबाउन्डमा रेखाको प्रहारलाई किर्गिस्तानकी डिफेन्डरले क्लियर गरिदिईन् ।
दोस्रो हाफको शुरूवातमा नै डिफेन्डर विमला विकेलाई रिप्लेस गर्दै स्टार स्ट्राइकर साबित्रा भण्डारी मैदान प्रवेश गरिन् । ५३ औं मिनेटमा विमला चौधरीले पहेंको कार्ड पाइन् । रेखा पौडेलको क्रसमा विमलाले हातले गोल गरेपछि रेफ्रीले कार्ड दिएकी थिइन् । ८२ औं मिनेटमा सबिताको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।
आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराएको थियो । चारै टिमले एक–एक खेल खेल्दा म्यानमार र नेपालले समान ३÷३ अंक जोडेका छन् ।
अब बिहिवार हुने पहिलो खेलमा किर्गिस्तानले म्यानमारको सामना गर्नेछ । दोस्रो खेल नेपाल र लेबनानबीच खेल हुनेछ ।