प्रचार प्रसार र दैनिक खुल्ला नहुँदा भक्तपुरको चारधाम ओझेलमा

लक्ष्मी गारु, भक्तपुर, माघ १४
ख्वप लाय्कू (भक्तपुर दरवार स्क्वायर) परिसरमा अवस्थित पवित्र तिर्थ स्थलका चारधाम देवस्थल ओझेलमा परेको छ । ख्वप लाय्कूको दक्षिण पश्चिममा अवस्थित चारधाम प्रचार प्रसारको अभाव र दैनिक दिनभरी मन्दिर खुल्ला नहुँदा भक्तपुरको पवित्र चारधाम स्थल ओझेलमा परेको हो ।
भक्तपुरमा चारधामका पाँच देवस्थल रहेका छन । ख्वप लाय्कू प्रवेश गर्ने मूख्य प्रवेशद्धार खौमा ढोकाको दक्षिणतर्फ रहेको चारधाम अन्र्तगत बद्रीनाथ, जगन्नाथ, केदारनाथ, द्धारिकानाथ(गोपीनाथ) र रामेश्वर महादेवको देवस्थल रहेको छ ।
भक्तपुरको ख्वप लाय्कूमा अवस्थित तलेजु भवानी सहित चारधामका पाँच देवस्थलका देवीदेवताको श्रद्धापुर्वक नियमित पुजापाठ गर्नाले मृत्युपछि बैकुण्ठ बास हुने धार्मिक विश्वास स्थानीयहरुको रहेको छ ।
चारधामका सबै देवलमा दैनिक बिहान नित्य पुजा हुन्छ । दिनभरी बन्द हुने यी देवलहरुमा नित्य पुजाको क्रममा स्थानीयले मन्दिर भित्रै गएर पुजाआजा र दर्शन गर्न पाईन्छ । तर प्रचार प्रसारको अभावमा चारधाममा दर्शनार्थीहरु भने न्यून मात्रामा आउने गरेको द्धारिकानाथका पुजारी विनोदराज शर्माले बताउनुभयो ।
“प्रचार प्रसार नहुँदा भक्तपुरमा चारधाम छ भन्ने नै आमनागरिकलाई जानकारी छैन । यहाँका स्थानीय पनि खासै पुजाआजा र दर्शन गर्न आउँदैंन,” उहाँले भन्नुभयो ।


उहाँका अनुसार द्धारिकानाथको मन्दिरमा कार्तिक शुक्ल पुर्णिमाको दिन नसा(भुटेको मकै, गहँु, लाभा, भटमास)ले भगवानको आकृति बनाई पुजा गर्ने परम्परा रहेको छ । त्यसैगरी वर्षको एकदिन पुरोहितसहित राखेर रुद्धी पुजा गरी केदारनाथको बुसादाँ(जन्मदिन) गर्ने परम्परा छ ।
चारधाममा बालाचतुर्थीमा सतविज छर्ने परम्परा पनि छ । मल्लकालदेखि चल्दै आएको यो परम्परा अहिले पनि कायमै रहेको पुजारी शर्मा बताउँछन । चारधाममा महास्नान गराउने परम्परा भने लोप भैसकेको छ ।
बद्रीनाथ १७ औं शताब्दीमा राजा भुपतिन्द्र मल्लले बनाएको इतिहासमा उल्लेख छ । शिखर शैलीमा दाँचीअप्पाले निर्मित देवस्थलको गर्भगृहमा डेढ फिट अग्लो भगवान विष्णुको मुर्ति छ । मन्दिरमा ढुङ्गाको कलात्मक थाम, कलात्मक काठको ढोका र अगाडी एक जोडा सिंह रहेको छ ।
जगन्नाथ मन्दिर राजा भुपतिन्द्र मल्ल कै पालामा निर्माण गरिएको हो । यस मन्दिरमा बाँया सेतो बलराम, बीचमा रातो सुभद्रा दायाँ, निलो कृष्णको काठको मुर्ति रहेको छ । यी तीन देवीदेवताको संयुक्त नाम जगन्नाथ हो । हाल यस मन्दिरको पुननिर्माण कार्य भैरहेको छ ।


केदारनाथ मन्दिरमा पशुपतिमा जस्तै जलहरी भएको शिवलिङ्ग स्थापना गरिएको छ । राजा भुपतिन्द्र मल्लको समयमा निर्माण गरिएको यो मन्दिर पनि दाँचीअप्पाले शिखर शैलीमा निर्माण गरिएको छ । मन्दिरको चारै दिशामा चारवटा बुर्जाहरु जडित एकादश रुद्रका सुनमोलम्बा लगाएको धातुको शिरोभाग मुर्तिहरु, कलात्मक ढुङ्गाको थाम र धातुको गजुरले बनेको छ । मन्दिरको अगाडि ढुङ्गेधारा र पश्चिममा साँढे रहेको छ ।
द्धारिकानाथ(गोपीनाथ)मन्दिर दुई तल्ले झिँगटीको छाना र सुनको मोलम्बा गजुर भएको मन्दिर हो । काठका कलात्मक भ्mयाल ढोकाहरुले निर्मित मन्दिरमा दायाँ बायाँ नृत्य मुद्रामा रहेको कृष्णका जेठी र माइली श्रीमती सत्यभामा र रुकुमणीको बीचमा महाविष्णु ध्यानमा रहेका कृष्णको मुर्ति छ । जसमा माथिको दुई हातमा शंख र गदा छ । तलको दुई हातले बाँसुरी समाएको छ । दुई गाई माथि खुटा टेकेर आशन बनाएको छ । मुल प्रवेश अगाडि गरुडध्वज स्तम्भ रहेको छ ।
त्यसैगरी रामेश्वर मन्दिर जलहरी सहितको शिलाको शिवलिङ्ग भएको मन्दिर हो । ६ फिट अग्लो प्लेट फर्मको बीचमा शिवलिङ्ग भएको यस मन्दिर चुनासुर्की प्लाष्टरले ढलान गरी घोप्टिएको कमलको फुलको आकारका छाना भएको नाग शैलीको मन्दिर हो । यस मन्दिरमा जलहरी सहितको शिवलिङ्ग र शिलाका कलात्मक थामहरु छन ।
चारधामको रुपमा प्रख्यात देवस्थलमा द्धारिकानाथ, केदारनाथ, बद्रीनाथ र जगन्नाथ पर्दछ । भारतमा चारधाम यात्राका बेला हिउँदमा केदारनाथ जान नसक्ने अवस्थामा रामेश्वरको दर्शन गर्ने प्रचलन रहेको छ । सोही अनुसार भक्तपुरमा चारधाम निर्माण गर्ने क्रममा केदारनाथसँगैं रामेश्वरको पनि देवस्थल निर्माण गरिएकोले ५ वटा रहन गएको पुजारी शर्माले बताउनुभयो ।


मल्लकालमा राजधानी शहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चारधामको देवस्थलहरुको नित्य र पर्व पुजा गुठी संस्थान मार्फत सञ्चालनमा छन । त्यसैगरी मर्मत सम्भार कार्यको लागि स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भैरहेको पुजारी शर्माले बताउनुभयो ।
धार्मिक तथा साँस्कृतिक महत्व झल्काउनुका साथै राष्ट्रहितको लागि भक्तपुर दरवार क्षेत्रमा चारधाम स्थापना गरेको ईतिहास तथा सँस्कृतिविद् प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो । विषेशगरी भारतमा जान नसक्ने तथा आर्थिक अवस्था कमजोर भएका र असाहाय अशक्तलाई आफ्नै ठाउँमा चारधाममा दर्शन एवम् पुजा गर्न सजिलो लागि बनाएको उहाँले बताउनुभयो ।
“भक्तपुरमा चारधामका पाँच प्रसिद्ध देवस्थल यहाँका स्थानीय जनताहरुको अवस्थालाई बुझेर बनाएको हो,” उहाँले भन्नुभयो, “आर्थिक रुपले कमजोर, कार्य व्यस्तताले भारतमा जान नसक्नेहरु, बृद्धबृद्धा, बालबालिकाहरुका लागि यही दर्शन पुजन गराउने उद्देश्यले तत्कालिन राजधानीको मुटु भक्तपुरको लाय्कूमा यी देवलहरुको तान्त्रिक विधिपुर्वक प्राण प्रतिस्था गरी स्थापना गरिएको हो ।”
भक्तपुरमा चारधाम स्थापना गर्र्नुको अर्को कारण तत्कालिन शैव र वैष्यमा कुनै भेदभाव छैन भन्ने सन्देश दिनुपनि रहेको स्थानीय किंवदन्ती रहेको छ । तत्कालिन समयमा शिवका अनुयायी शैव समूदाय र विष्णुका अनुयायी वैष्य समूदायबीच केही मतभिन्नता रहेको अवस्थामा नेपाल मण्डलमा त्यस्तो कुनै विमेल छैन भन्ने सन्देश दिन दरवार क्षेत्रभित्र चारधामका पाँच देवलको निर्माण गरेको कथन रहेको प्रा. डा. श्रेष्ठले जानकारी दिनुभयो ।
विष्णुको लोकप्रियता अत्यन्त बढेको तत्कालिन समयमा सामाजिक एकता र सद्भाव झल्काउन एकै स्थानमा चारधाम निर्माण गरेको प्रा. डा. श्रेष्ठले बताउनुभयो । “धार्मिक समन्वय साँस्कृतिक एकता सदभावको एउटा उत्कृष्ट उदाहरण हो चारधाम । शिव र विष्णुमा कुनै भेदभाव छैन भन्ने भाव यसले दिन खोजेको छ । त्यो युगमा विष्णुको लोकप्रियता अत्यन्त बढेको समयमा चारधाम निर्माण भएको देखिन्छ,” प्रा.डा श्रेष्ठले भन्नुभयो ।
मल्लकालमा राजधानी शहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चारधामको देवस्थलहरु नृत्य र पर्व पुजा गुठी संस्थान मार्फत संचालनमा छन । त्यसैगरी मर्मत सम्भार कार्यको लागि स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भैरहेको छ ।
चारधामका पाँचै देवस्थल मल्लकालिन राजा भुपतिन्द्र मल्लको पालामा निर्माण गरिएको इतिहासमा उल्लेख छ । चारधाम अन्र्तगत बद्रीनाथ, जगन्नाथ र केदारनाथको देवल १९९० सालको भुकम्पले केही क्षती पु¥याएको थियो । केदारनाथको गजुरको भागमा क्षती भएर जिर्णोद्धार गरिएको थियो । त्यसपछि २०७२ सालको भुकम्पले पनि केदारनाथको देवलको आधा भाग भत्काएपनि भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरिसकेको छ ।
चारधाम राजा भुपतिन्द्र मल्लको पालामा निर्माण गरेको भनिएता पनि पछिल्लो अनुसन्धानका क्रममा नेपाल संम्वत ३४७ मै जगन्नाथको जीर्ण प्रतिमा फेरिएको पुरानो अभिलेखमा फेला परेको प्रा. डा. श्रेष्ठले बताउनुभयो । “जगन्नाथको देवल राजा यक्ष मल्लको भन्दा पहिला आन्नदेवको समय तिर १२ औं शताब्दीमा स्थापना भएको अनुसन्धानले देखाएको छ । त्यो समय नेपाल मण्डलमा जगन्नाथको इपि सेन्टर भक्तपुर नै हुन । त्यसपछि चारधाम कान्तिपुर र ललितपुरमा समेत बिस्तार भएको हो,” उहाँले भन्नुभयो ।
भारतको सिक्किममा केही वर्ष अघि निर्माण गरेको चारधामको प्रचार प्रसारले अहिले पश्चिम सिक्किममा वार्षिक लाखौं धार्मिक पर्यटकहरु दर्शनका लागि जाने गरेको छ । भक्तपुरमा भएको चारधामको पनि प्रचार प्रसार गरी दैनिकरुपमा दिनभरी भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था गर्न सके वार्षिक लाखौं भक्तजन आउने र यसले भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा थप टेवा पुग्ने देखिन्छ । यसतर्फ सम्बन्धीत निकायको गम्भिर ध्यान जानुपर्ने देखिन्छ ।