मध्यपुर महोत्सव आजबाट शुरु हुने, यी हुन महोत्सवमा आकर्षणहरु

भक्तपुर, पुस १२
मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले आज (शुक्रवार)बाट मध्यपुर थिमिमा मध्यपुर महोत्सव २०८१ शुरु हुँदैंछ । वडा नं. ४ स्थित बालकुमारी मन्दिर परिसरमा बिहान १० बजे उद्घाटनपछि हुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
महोत्सवका प्रमुख आकर्षणहरुमा बालकुमारीमा ५३ थरीका गेडागुडी प्रदर्शनी, ओस्ला नेपालको संयोजनमा नेवार समूदायमा जन्मदेखी मृत्युसम्मका संस्कार र अन्य पर्वहरुमा खाने भोजका करिव ३५ प्रकारमा भोजको प्रदर्शनी, हिटरको प्रवेश द्धार, सामूहिक व्रतबन्धको प्रतिकात्मक प्रदर्शनी रहेको छ ।

यस्तै गमलाको प्रवेश द्धार, माटोका भाँडाुकँडा प्रवेश द्धार, भैलः (भैरव)को प्रतिमूर्तिसँग फोटो खिच्न पाइने, जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्ने व्यक्तिको प्रतिमूर्ति, बुद्धको अस्थि धातुको दर्शन, माटोको भाँडा बनाउने ३०० वर्ष पुरानो ढुंगाको चक्का, नेपाली मुद्रा र सिक्काको प्रदर्शन, माटोको करिव ५ फिट अग्लो सुकुन्दा पनि आकर्षण केन्द्र बन्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
उपत्यकाका चार प्रख्यात उत्पादन मध्येको एक टिगनीको टिगनी बजी (चिउरा) कुट्ने विधिको जिवित प्रत्यक्ष अवलोकन गर्न सकिने वडा नं. ९ का वडाअध्यक्ष सानुकाजी रावबहाकले जानकारी दिनुभयो ।


महोत्सवलाई आकर्षक बनाउन नगदेशमा तरकारीको प्रवेश द्धार निर्माण गरिएको छ । थिमिको लाय्कूमा दरवारभित्र बिस्काः जात्रा गरिने विभिन्न देवी देवताका खट प्रदर्शन गर्ने भएको छ । नगदेशको सिद्धि गणेश द्यछेंस्थित लुँझ्या (सुनको झ्याल) महोत्सवको अर्को आकर्षण बन्ने छ ।
बोदेको शैक्षिक प्रदर्शनीले पनि युवा विद्यार्थीहरुलाई आकर्षित गर्ने मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो । नगरपालिकाको शिक्षा शाखाको संयोजन र नीजि तथा आवासीय विद्यालय संगठन नेपाल (प्याव्सन) मध्यपुरको सहकार्यमा आयोजित शैक्षिक प्रदर्शनीमा विद्यालयस्तरी लोकनृत्य प्रतियोगितामा सहभागी सबै नाच, चित्रकला प्रतियोगितामा विद्यार्थीहरुले स्थलगतरुपमा तयार गरेका चित्रको प्रदर्शनीलगायत शैक्षिक गतिविधि शैक्षिक प्रदर्शनीमा हुनेछ ।


ऐतिहासिक प्याखँ तथा नाचतर्फ अष्टमातृका नाच, ईन्द्रअप्सरा नाच, जोगी प्याखँ, दिगंवर(साँज्या) प्याखँ, द्योवंवीर प्याखँ, नागचा नाच, पुलुकिसि नाच, भष्मासुर, मयुर नाच, महाकाली नाच, राजकुमार नाच, लाखे नाच, लुसी प्याखँ, वाःपिज्या नाच, सलचा नाचलगायतका २५ वटा नाच प्रदर्शन हुनेछ ।
बासुरी बाजा, धिमे बाजा, गुँला बाजा, नाय्खी बाजालगायतका साँस्कृतिक बाजागाजा तर्फ २६ प्रदर्शनी हुनेछ । युवाहरुको समूहले बिस्काः जात्राको झल्को दिनेगरी सिन्दुरसहितको जात्रा नगर परिक्रमा गर्नेछ । निकोशेराको समूहले शनिवार घिन्ताङघिसी नाच नगर परिक्रमा गराईने भएको छ ।


भजनकिर्तन प्रदर्शनीतर्फ ४५ स्थानमा कृतन भजन, ज्ञानमाला भजन, दाफा भजन, नित्य भजन, भजन, रामायण भजन, हरि भजनको प्रस्तुती रहनेछ । घरेलु तथा साना उद्योगको प्रदर्शनमा ६० स्टल रहनेछ ।
यसका साथै टोल टोलमा नेवारी खानाका स्टल, चापाचो क्षेत्रमा सेरामिक्स र माटोका भाँडाकुँडाका उत्पादन, परम्परागत खेलहरु, चपाचोस्थित आँखाछें संग्रहालय, मूर्ति र मूर्तिकला, काष्ठकला, हस्तकलाका प्रदर्शनी पनि महोत्सवका आकर्षक हुनेछन ।
महोत्सवलाई व्यवस्थितरुपमा सञ्चालन गर्न महोत्सव क्षेत्रका पार्टी प्यालेस, विद्यालय, कलेजहरुको प्रांगण, शंखधरचोक, पाटी बिहार नजिकको खेल मैदान, सिद्धिकालीको खेल मैदान लगायतका स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । महोत्सवलाई मध्यनजर गरी महोत्सव सञ्चालन हुने नगरको पुरानो क्षेत्रमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म आकस्मिक सेवा बाहेकका सवारी साधन प्रवेश निषेध गरिएको छ ।


महोत्सवलाई लक्षित गरी विशेष सरसफाई अभियान सञ्चालन गरिएको छ । यसका लागि नगरभित्र फोहोर मैलाको क्षेत्रमा कार्यरत चार वटा संघसंस्था, नगर प्रहरी र नगरको द्रुत सहयोगीको समूह परिचालन गरिएको छ ।
महोत्सवका बेला शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर, जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुर, शसस्त्र प्रहरी बल २२ नं. गण गुह्येश्वरी, नेपाली सेनाको गठ्ठाघर व्यारेक र भैरवनाथ गुल्म, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय लगायतका निकायसँग सहकार्य र समन्वय गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।


महोत्सवलाई भव्य, सभ्य र व्यवस्थितरुपमा सञ्चालन गर्न स्थानीय स्काउट, नगरको युवा क्लव र युवा क्लव सञ्जाल, विद्यार्थीहरुलाई स्वयम् सेवकको रुपमा परिचालन गरिएको छ । यसका साथै महोत्सव अवलोकनका लागि आउने पाहुनाहरुको सुविधाको लागि महोत्सव क्षेत्रमा निःशुल्क बसको व्यवस्था गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।