एसियन प्यासिफिक करातेमा नेपाललाई २ स्वर्णसहित ९ पदक

भक्तपुर, मंसिर १६
सिंगापुरमा सम्पन्न १६ औं एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ ।
नेपालको लागि सिनियर महिलातर्फ ६८ केजी तौल भन्दा माथि समुहमा १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरि महिलातर्फकै ५० केजी मुनीको तौल समुहमा अन्जली महर्जनले नेपाललाई स्वर्ण पदक दिलाइन् ।
एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्बुको समूहले महिलातर्फको टिम कातामा रजत पदक जितेको छ । निरुपा दोङ तामाङले सिनियर महिलाको ५५ केजी मुनिको तौल समुहमा रजत पदक जितिन् ।


त्यसैगरि सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर कास्य पदक प्राप्त गरिन् । महिला जुनियर तर्फ ४५ केजी मुनिको तौल समुहमा पोरसिया चौधरी, ६८ केजी मुनि तौल समुहमा आशिका राईले कास्य पदक जितिन् ।
पुरुष तर्फको १६ बर्ष मुनि एकल कातामा रेहान जावेद र सिनियर पुरुष तर्फ ८४ केजी मुनिको तौल समूहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाए ।
१२ खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्री,अफिसियल गरि कुल ३० जनाको नेपाली टोलीले एसियन प्यासिफिक सितोरियो करातेमा भाग लिएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ‘ईश्वर’ले जानकारी दिए ।