शाक्य रत्न, काठमाण्डौ, कार्तिक १४ ।
भोजपुर जिल्लाको नाम म करिब १२ वर्षको हुँदा नै मेरो मानसपटलमा बसेको थियो । यसको कारण भोजपुरबाट त्यतिबेला मेरै नाम गरेका अर्थात संघ रत्न शाक्य भन्ने एक युवा (हाल दिवंगत भैसक्नुभयो) हाम्रो घरको छिंडी (भुईं तला) मा पसल खोल्ने र बास बस्ने गरी बस्नु भएको थियो । करिब ५२ वर्ष अघि वहाँ भोजपुरको त्यस समयको प्रख्यात स्थान टक्सारबाट काठमाडौंमा पढ्ने र व्यवसाय गर्ने उद्देश्य लिएर आउनु भएको थियो र संयोगबस हामीहरुको घरमा भाडामा बस्नु भएको थियो ।
यसैगरी, केही समयअघि बौद्ध ऋषि महाप्रज्ञाले आफ्नो जीवनीको बारेमा लेख्नु भएको पुस्तकमा पनि भोजपुरको बारेमा पढ्ने र जानकारी लिने मौका पाईयो । वहाँको किताबमा भोजपुरको बारे गरिएको वर्णन पढेर भोजपुर त्यतिबेला अति नै विकट पहाडी जिल्ला जहाँ यातायातको व्यवस्था थिएन भन्ने भौगोलिक अवस्थाको जानकारीका साथै बौद्ध इतिहासमा सबैभन्दा पहिला वि.सं. १९९३ सालमा थेरवादी शाक्यमुनि विहारको स्थापना हुनुका साथै बुद्ध जयन्तीको पावन अवसरमा बुद्ध प्रतिमाको रथ यात्रा सहित भव्यरुपमा बुद्ध जयन्ती मनाइएको जानकारी पाइयो । तथा सोही विहार स्थापना एवं बुद्ध धर्म र शिक्षा प्रचारप्रसार गरेको अभियोगमा जहाँनिया राणा शासनले नेपालको बौद्ध इतिहास कै कालो पन्नाको रुपमा वहाँ तथा वहाँको चेला त्यतिबेला श्रामणेर अमृतानन्दलाई भोजपुरकोे जेलमा कैद गरिएको नमिठो जानकारी पनि पाईयो ।
यी कुराहरुको कारण मेरो मनमा भोजपुर वास्तवमा कस्तो ठाउँ रहेछ अनि त्यहाँका मानिसहरु कस्ता रहेछन् भन्ने उत्सुकता रहन गयो । र यो उत्सुकता मेट्ने अवसरको खोजीमा म थिएँ ।
तँ चिता म पुर्याउँछु भन्ने उक्ति जस्तै यसवर्ष २०८१ सालमा विश्वशान्ति विहारका प्रमुख पूजनीय भिक्षु बोधिज्ञान महास्थविर भोजपुरमा वर्षावास बस्नुहुने खबर थाहा पाएर अब मेरो भोजपुर जाने इच्छा पुरा हुने भयो भनी मनमनै खुशी भएँ ।
यात्राको अठोट र तयारी
पूजनीय भिक्षु बोधिज्ञान महास्थविरले कोरोना महामारीको समयमा कोरोना कहरले आक्रान्त सत्वप्राणीहरुको कल्याण हेतु फेसबुकमार्फत ध्यानको प्रत्यक्ष प्रसारण चलाउनु भएको थियो । र, उक्त समयदेखि मैले वहाँको निर्देशनमा सतिपट्ठान विपस्सना ध्यान अभ्यास गर्ने मौका पाएँ, र हालसम्म पनि पाइरहेको छु । त्यसैले वहाँ मेरो प्रथम ध्यान गुरु हुनु भएकोमा मलाई गर्व महशुस छ । वहाँ मेरो मात्र नभईकन मेरी पत्नी, ञातीबन्धुहरुका साथै अन्य धेरै ध्यानप्रेमी योगी कल्याणमित्रहरुका पनि ध्यान गुरु हुनुहुन्छ । यसरी एक शिष्यको नाताले आफ्नो गुरु जहाँ वर्षावास बस्नुहुन्छ, समय र व्यवस्था मिलेसम्म वर्षावासको समयमा कमसेकम १ दिन मात्र भएपनि गुरुको सेवा गर्ने र कुशल पुण्य कार्य गर्ने शिष्यको कर्तव्य सम्झेर वहाँ वर्षावास बस्नु भएको भोजपुरको टक्सारस्थित शाक्यमुनि विहारको धार्मिक यात्रा गर्ने अठोट लिएँ ।
कुशल मनसायले लिएको अठोट पुरा हुने कुरामा म विश्वस्त थिएँ । यसै विश्वासको आधारमा मैले पत्नीसित सल्लाह गर्दा तत्कालै सकारात्मक उत्तर पाएपछि यात्रा गर्ने मेरो हौसला बढ्यो । कुशल पुण्यकार्यमा सँधैजसो साथ दिंदै आउनु भएका मेरा ञातिबन्धुहरुका साथै कल्याण तथा धर्म मित्रहरुसँग पनि भोजपुरको धार्मिक यात्रा बारे सरसल्लाह गर्दा सबैले तत्क्षण जाने मञ्जुरी दिएपछि मिति २०८१ साल भाद्र ३१ गते सोमबार देखि मिति २०८१ साल आश्विन ४ गते शुक्रबार सम्म ५ दिनको यात्राको योजना बनाएँ । तत्काल यात्राका लागि गाडी (जीप) भाडामा लिन चिरपरिचित पाटनका रवि शाक्यलाई सम्पर्क गरें । यात्राको बारेमा कुरा गर्दा सहज रुपमा उचित भाडा सहित वहाँले स्वीकृती दिनुभएपछि भोजपुरको धार्मिक यात्रा मनले चिताए बमोजिम नै हुने तय भयो ।
यात्रामा जानु अघि यात्रा गर्ने स्थानको बारेमा जानकारी लिनु उचित हुने ठानेर पूजनीय भिक्षु बोधिज्ञान महास्थविरज्यू, हाल उपत्यकामा रहनु हुने भोजपुर निवासी दाजु दान मान शाक्य तथा दिदी शान्ता शाक्यबाट आवश्यक जानकारी हासिल गर्नुका साथै थप जानकारी गुगल मार्फत लिएर विपि राजमार्ग हुँदै धरान अनि धरानबाट पुष्पलाल राजमार्ग हुँदै हिले भएर भोजपुर जाने र फर्किने बेला पुष्पलाल राजमार्गबाट दिक्तेल, हलेसी हुँदै काठमाडौं फर्किने योजना बनायौं । र, योजनामा सहमती जनाउँदै हामी सबै आठजना यात्रुहरु संघ रत्न शाक्य, सुजना शाक्य, तिर्थदेवी शाक्य, गौतम शाक्य, सुलोचना शाक्य, गंगा शिलाकार, ज्ञानीमैयाँ तुलाधर तथा रवि शाक्य (गाडी धनी /चालक) यात्राको लागि आवश्यक तयारीमा जुट्यौं ।
भोजपुर जिल्ला
तत्कालिन नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलको सदरमुकाम (राजधानी) भोजपुर जिल्ला मध्यकालिन समयमा स्थानीय बोलिचाली भाषामा पूर्व ४ नम्बरले चिनिन्थ्यो । र, स्थानीय बोलिचालीमा हालसम्म पनि धेरैले भोजपुरलाई पूर्व ४ नम्वर नै भन्ने गरिन्छ । भौगोलिक विविधतायुक्त यस भोजपुर जिल्ला र नगर क्षेत्रले नेपालको ऐतिहासिक महत्व बोकेको छ । नेपाल एकिकरण पश्चात यस क्षेत्रलाई माझकिराँत क्षेत्रको प्रशासनिक स्थल चयन गरिएको इतिहास रहेछ । वि. सं. १८७२ सालमा नेपालकै डोली पैसाको नामले प्रख्यात टक (पैसा) टकमारी गर्ने कार्य भएकोले भोजपुरको यस पुरानो बजार क्षेत्रको नाम नै टक्सार रहन गएको रहेछ । त्यहाँको ट्याम्के डाँडा, चखेवा डाँडा, सल्ले अनि सुन्तले डाँडाबाट नेपालको प्रसिद्ध हिमालहरु तथा अरुण उपत्यकाको पनि अवलोकन गर्न सकिने रहेछ । र, यस स्थान पर्यटकहरुको रोजाइको स्थान पनि रहेछ । भोजपुरको भित्री बजार क्षेत्रमा चाहीं सिद्धकाली मन्दिर र पानी ट्याँकी रहेको स्थानमा दृश्यावलोकनको लागि बनाइएको स्थलबाट भोजपुरको टुँडिखेल, आधुनिक नगरपालिका भवन, बजार क्षेत्र, विमानस्थल, रंगशाला, बसपार्क तथा बन्दिगृह आदिका साथै सुन्दर वातावरणको अवलोकन गर्न सकिने रहेछ ।
भोजपुरमा किराँती तथा नेवाः जातीको बाहुल्यता रहेतापनि अन्य जातीहरुको पनि बसोबास रहेको छ । तर हाल यहाँका पुराना बासिन्दा (विशेष गरी नेवाः जाती) हरुले बिस्तारै शहरी क्षेत्रमा बसाईं बिस्तार गरिसकेकोले यहाँ (टक्सार) का अधिकाँश घरहरु खाली छन् । बसोबास गर्ने बासिन्दा अन्यत्र बसाईं सर्न थालेकाले पहिलेको प्रख्यात टक्सार क्षेत्र हाल सुनसान हुने क्रममा छ । यो देखेर हामीहरुको मन अलि खिन्न भयो । खै, कस्लाई के भन्ने ? वास्तवमा यो अवस्था पूरै देशको हुने क्रममा छ । हाल गाउँ छाडेर शहर पस्ने, अनि शहरमा केही समय व्यतित गरी देशै छाडेर विदेश जाने रोग पूरै देशमा व्याप्त भैरहेको छ । तर जिम्मेवार नेताहरुलाई सत्ता जोगाउने र सत्तामा जाने खेल खेल्न मै फुर्सद छैन ।
धर्म सम्बन्धी भन्नुपर्दा भोजपुरमा हिन्दू र बुद्ध धर्म, संस्कार अनि संस्कृती बढी प्रचलनमा रहेछ । त्यसैले भोजपुरमा हिन्दू मन्दिर तथा बौद्ध विहार र गुम्बाहरु भ्रमणको क्रममा देख्न पाईयो । टक्सारको शानको रुपमा रहेको शाक्यमुनि विहार, पद्य्मपाणी लोकेश्वरको मन्दिर तथा स्वधाःहिटी (तिनधारा), भोजपुर बजारमा रहेको सप्तहिटी (सातधारा) र त्यसैको माथि अर्को स्वधाःहिटी (तिनधारा) अवलोकन गर्दा हामी सबैको मन हर्षविभोर भयो । शनिवारको दिन हाम्रो बसाई भोजपुरमा नपरेकोले भोजपुरको हटिया बजारमा लाग्ने हाटबजार चाहीं हेर्न पाइएन । भोजपुरको प्रसिद्ध उत्पादनमा भोजपुरे खुकुरी, भोजपुरे करुवा, काँसका भाडावर्तन तथा बम्बईसन मिठाई रहेछ ।
यात्राको उद्देश्य तथा धरान यात्रा
हामीहरुको यात्राको प्रमुख उद्देश्य भनेको वि.सं. १९९३ सालमा स्थापना भएको नेपालको प्रथम थेरवादी शाक्यमुनि विहार अवलोकन गर्नुका साथै विश्वशान्ति विहारका प्रमुख पूजनीय भिक्षु बोधिज्ञान महास्थविर उक्त विहारमा वर्षावास बस्नु भएको अवसर पारेर कुशल पुण्य कार्य सम्पादन गर्ने थियो । यही उद्देश्य साथ यात्राको पहिलो दिन मिति २०८१ साल भाद्र ३१ गते सोमवारका दिन काठमाडौंबाट विहान ६ः४५ बजे धरान तर्फको हाम्रो यात्रा सुरु भयो । विपि राजमार्गमा पर्ने बनेपा, धुलिखेल, भकुण्डे बेसी, नेपालथोक, खुर्कोट, सिन्धुलीगढी, भिमान हुँदै साँझको ६ः४५ बजे हामी धरान पुग्यौं । हुनत काठमाडौंबाट धरान ३६५ कि.मी. दूरीको यात्रा साँझको करिब ४ः०० बजे नै तय हुनुपर्ने थियो । तर हामीलाई लानुहुने चालक रविभाईले हतार नगरिकन सिमित गतिमा जीप चलाई आरामदायक यात्रा गराउनु भएकोले र हामी यात्रुहरुपनि विभिन्न स्थानमा रोकिएर चिया नास्ता, खाना खाँदै आराम गर्दै यात्रा गरेको कारण सबै ठाउँमा ढीला नै पुगियो । फेरी पहिलो दिनको हाम्रो यात्राको गन्तव्य धरानसम्म मात्रै थियो । त्यसैले पनि हामीलाई खासै हतार थिएन ।
पूजनीय भिक्षु बोधिज्ञान महास्थविरबाट धरान बुद्ध विहारका श्री रमणा श्रेष्ठज्यू तथा श्री रमेश शाक्यज्यूलाई हामी आउने सूचना दिनु भएको कारण वहाँहरुबाट धरानको उक्त सुन्दर बुद्ध विहारमा नै खाना तथा बासको व्यवस्था गरिदिनु भएकोले पनि हामी अलि ढुक्क भएर यात्रा गरेका थियौं । र, धरान बुद्ध विहारमा हामीहरुले सोचेको भन्दा पनि उत्तम व्यवस्था गरिदिनु भएकोमा पुजनिय भिक्षु, रमणा श्रेष्ठज्यू तथा रमेश शाक्य दम्पत्तिलाई हामी सबैको तर्फबाट धेरै धेरै साधुवाद तथा धन्यवाद दिन चाहन्छु ।
दोश्रोदिन धरानबाट हिले हुँदै भोजपुरको यात्रा
धरानको सिद्धार्थ मार्गमा अवस्थित धरान बुद्ध विहार अति नै सुन्दर तथा दर्शनिय रहेछ । उक्त विहार भित्र पाइला टेक्नासाथ हामी सबैको मुखबाट “आहा कति राम्रो रहेछ” भनी अनायास नै वाक्य निस्कियो, जुन उचित पनि थियो । किनकी स्थानीय वासिन्दा श्री रमेश शाक्य दम्पत्तिको रेखदेखमा रहेको धरान बुद्ध विहार सुन्दर, स्वच्छ तथा शान्त थियो । यस विहार भित्र पाइला टेक्नासाथ नै “बुद्ध विहार भनेको यस्तो पो हुनुपर्दछ” भन्ने सुखानुभुतीको भाव सञ्चार भएको हामी सबैले महशूस गर्यौं ।
यस धरान बुद्ध विहारमा भक्तपुर मुनि विहारका श्रद्धेय आलोक भन्ते वर्षावास बस्नु भएको रहेछ । त्यसैले भोलिपल्ट श्रद्धेय आलोक भन्तेबाट हामी सबैले त्रिशरण गमन सहित पञ्चशील ग्रहण, बुद्ध पूजा, धर्म श्रवण, पुण्यानुमोदन तथा श्रद्धा दान कुशल कार्य सम्पादन गर्न पाएर हामी सबै धन्य भयौं ।
यसपछि श्री रमेश शाक्य दम्पत्तिबाट तयार पार्नु भएको जलपान ग्रहण पश्चात सबैसँग मैत्री आदानप्रदान तथा साधुवाद दिँदै वहाँहरुबाट पाएको आत्मिय सत्कार हृदयमा सँगालेर बिदा मागी विहानको करिब ९ः०० बजे हामी भानुचोक हुँदै पूर्वयोजनानुसार धरानमा हाल निर्माण हुँदै गरेको श्रमपार्क अवलोकन गर्न उक्त स्थल तर्फ लाग्यौं । ठूलो क्षेत्रफल ओगटेको निर्माणाधीन श्रमपार्क वास्तवमै सुन्दर रहेछ । निर्माणाधीन क्षेत्रमा जान निषेध गरेकोले निर्माण सम्पन्न भैसकेको पार्क क्षेत्रमा हामी सबै रमाइलो मानी घुम्दा र फोटो शेसनमा रमाउँदा करिब डेढ घण्टाको समय व्यतित भएको पत्तै पाइएन ।
यसरी पार्क भ्रमण पश्चात धरानबाट भोजपुरसम्म १५१ कि.मि.को यात्राको लागी विहानको ११ः०० बजे तिर हिलेमा खाना खाने योजनाका साथ हामी हिले तिर लाग्यौं । करिब दुई सवा दुई घण्टाको धनकुटा हिले पुष्पलाल राजमार्गको निरन्तर पहाडी रमाइलो यात्रा तय गरी दिनको १ः०० बजे हामी हिले पुग्यौं । काठमाडौं देखिको धरान र धरान देखी हिलेको लामो पहाडी यात्राबाट अलि अलि थाकिसकेका हामी सबै खाना खाएर एकछिन सुस्ताउन हतारिएका थियौं । खाना खानकोलागि होटेल खोज्ने क्रममा गुम्बा होटेल नामको सानो गुम्बासँगैको होटेलमा बस्यौं । हिलेको शितल चिसो हावा अनि लोकल चामलको भात र दाउरामा पकाएको लोकल तरकारी अनि दाल धेरै नै मिठो मानी हामी सबैले पेटभरी खायौं । हामी सबै शाकाहारी भएकाले सबैले यात्रामा शाकाहारी भोजन नै गर्यौ, सबैठाउँमा मीठो भोजन खायौं । यो हामीहरुकोलागि सकारात्मक पक्ष हुन गयो । किनकी सबै ठाउँमा भोजन स्वादिलो र सुपाच्य अनि सस्तो (प्रतिव्यक्ति रु. १८० देखि २००मात्र) थियो । खाना खाएर केही बेर सुस्ताएपछि सबैको थकान मेटियो र पुनः यात्राको लागि तयार भई भोजपुरको यात्रा सुरु गर्यौं ।
क्रमश: ……