थेरवाद बुद्ध धर्मानुसारको कथिन चीवर दानोत्सव हिजोदेखि देशभर शुरु, पहिलो कथिन दान बौद्धजन विहारमा सम्पन्न

सुनिता तुलाधर, ललितपुर, कार्तिक ३ गते ।
थेरवादी बुद्ध धर्ममा वर्षातको ३ महिना उपसम्पदा प्राप्त भिक्षुहरु कुनै एक विहारमा विनयपूर्वक वर्षावास बस्नुपर्ने विनय रहेको छ र सो वर्षावासपछि उक्त विहरमा भिक्षु संघलाई दाता उपासकोपासिकाले कथिन चीवर दान गर्ने परम्परा रहेको छ । यो कथिन दान कोजाग्रत पूर्णिमाको भोलिदेखि सकिमिला पूर्णिमासम्म एक महिना (१) भित्रमा सम्पन्न गर्नुपर्दछ ।
यही नियमानुसार हिजो कौलागा पारुका दिनदेखि देशभरका थेरवादी विहारहरुमा कथिन चीवर दान शुरु भएको छ । यसक्रममा हिजो ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा कथिन दान सम्पन्न भएको छ । भिक्षु धर्मगुप्त महास्थविर विनयपूर्वक ३ महिना वर्षावास बस्नुभएर पुरा गर्नुभएको उपलक्ष्यमा बुद्ध धर्म संघ जूम परिवारले उक्त दानको आयोजना गरेका हुन ।
उक्त विहारका विहारप्रमुख भिक्षु धर्मगुप्त महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई शील प्रदान गरी कार्यक्रम शुभारम्भ गर्नुका साथै धर्मदेशना पनि गर्नुभएको थियो भने भिक्षु नन्द महास्थविरले बुद्ध पुजा गराउनु भएको थियो ।
उहाँले भिक्षुहरुले धारण गर्ने चीवरको रंग अरहत ध्वजाको प्रतीक, अनित्यताको स्वभाव प्रकट गरेको, आगोको प्रतीक, गाँठो नभएको – निग्र्रन्थ आदिको प्रतीक रहेको बताउनुहुँदै दानको महिमा, आनिशंसका बारेमा उहाँले उपस्थित उपासकउपासिकाहरुलाई धर्मदेशना गर्नुभएको थियो ।
सो कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरले कथिन चीवर दानको वाक्य वाचन गराउनुभएपछि दाताहरुले भिक्षु महासंघलाई चीवर दान गरेका थिए । उहाँले नै अष्टपरिष्कारको वाक्य पनि वाचन गराउनुभएको थियो ।
साथै कार्यक्रमको अन्तमा उक्त विहारका विहार प्रमुख भिक्षु धर्मगुप्त महास्थविरले पुण्यानुमोदन गराउनुभएको थियो ।
उक्त उत्सवमा ८९ जना अष्टपरिष्कारका दाताहरुले भिक्षु महासंघलाई अष्टपरिष्कार दान गरेका थिए । त्यसपछि कार्यक्रममा उपस्थित उपासकउपासिकाहरुले भिक्षु गण एवं अनागारिका गुरुमाहरुलाई दानप्रदान गरेका थिए ।
कथिनोत्सवको शुरुमा कथिन चीवरलाई बाजागाजाका साथ सुनागुथि क्षेत्रमा शोभायात्रा निकालिएको थियो ।
थेरवाद बुद्ध धर्ममा भिक्षुहरुको तीन महिने वर्षावास पुरा भएको उपलक्ष्यमा कथिन चीवर दानको आयोजना गरिन्छ । यस दानलाई बौद्ध धर्ममा ठूलो पुण्य कार्यको रुपमा लिईन्छ ।