भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाको स्वागत

भक्तपुर, असोज ११
४५ औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रवार भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पहिलो दुई विदेशी पर्यटकलाई उपहारसहित स्वागत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा फिनल्याण्ड र अष्ट्रेलियाका दुई पर्यटकलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गर्नुभएको हो ।
यसैगरी नगर प्रमुख प्रजापतिले नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई मयुरको झ्याल र पिक्टोरियल बुक उपहारस्वरुप प्रदान गर्नुभएको थियो । आज बिहानै नगर प्रवेश गर्ने १४ जनाको विदेशी पर्यटक टोलीलाई पनि भक्तपुर नपाले नगर प्रवेशद्वारमा स्वागत गरिएको थियो ।


‘सबैका लागि पर्यटन ः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ मूल नाराका साथ भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा नगर प्रवेश गरेका पहिलो दुई जना पर्यटकलाई लाखे प्याखं र जंगली प्याखंको प्रस्तुतीले समेत स्वागत गरिएको थियो ।


सो अवसरमा नगर प्रमुख प्रजापतिले पर्यटक भनेका विश्व प्रचारक पनि हुन् भन्दै पर्यटक लक्षित गतिविधिमा भक्तपुर नपाले जोड दिंदै आएको बताउनुभयो । भक्तपुर नपाले यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षण गर्दै विश्वकै हेर्न र घुम्न लायक आकर्षक गन्तव्यस्थलको रुपमा विकास गरी देश विदेशमा भक्तपुर आकर्षित गर्ने योजनाले काम गर्दै आइरहेको बताउनुभयो ।


कार्यक्रममा भक्तपुर प्रवेश गर्ने अष्ट्रेलियाका रागबीर कालसी र फिनल्याण्डका ईलका रोईट्टोले नगरपालिकाको स्वागतको लागि धन्यवाद ज्ञापन गर्दै नेपाल भ्रमणका क्रममा भक्तपुर घुम्न र यहाँका सम्पदाहरु अवलोकनबाट आफू निकै प्रभावित भएको बताउनुभयो ।
वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, नगरको पर्यटन सूचना केन्द्र प्रमुख गौतमप्रसाद लासिवालगायतले पर्यटकले भक्तपुरको अवलोकनपछि आ–आफ्नो देशमा भक्तपुर बारे सकारात्मक प्रचार गरिदिन आग्रह गर्नुभयो ।