साफ यु–१७ फुटबल – सुजनको ह्याट्रिकमा नेपालको पहिलो जित

भक्तपुर, असोज ७
नेपालले साफ यु–१७ च्याम्पियनसिपमा सोमवार भएको खेलमा श्रीलंकालाई पराजित गर्दै पहिलो जित हात पारेको छ । भुटानको चाङलिमिथाङ रङ्गशालामा भएको खेलमा नेपालले सुजन डंगोलको ह्याट्रिकमा श्रीलंकाविरूद्ध ४–० को रवाफिलो जित दर्ता गरेको हो ।
यो जितमा नेपालले सेमिफाइनलमा पुग्ने संभावनालाई जिवितै राखेको छ । खेलमा नेपालले पहिलो १३ मिनेटभित्र २–० को अग्रता बनाएको थियो । नवौं मिनेटमा सुजनले हेडर गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाए । यसपछि १३औं मिनेटमा सुबास बमको सहयोगमा सुजनले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।
सुजनले ३०औं मिनेटमा ह्याट्रिक पूरा गरे । सुजनको तीन गोलमा नेपाल पहिलो हाफमा ३–० को फराकिलो अन्तरको अग्रता बनाउन सफल रहयो । दोस्रो हाफमा पनि श्रीलंका खेलमा फर्कन सकेन भने ८३औं मिनेटमा विज्ञान खड्काले नेपालको लागि चौथो गोल गरे ।
जितसँगैं नेपालले महत्वपुर्ण ३ अंक बनाएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० ले स्तब्ध भएको थियो । श्रीलंकाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका भुटानसँग ५–१ ले हारेको थियो ।
समुहमा ‘बी’ मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा बुधबार भुटानसँग खेल्नेछ । सेमिफाइनल प्रवेशको लागि नेपालले बुधवार भुटानलाई पराजित गर्नुपर्ने छ । गत संस्करणमा नेपाल यो प्रतियोगिताको फाइनलमा पुगेको थियो । यो समुहको दुई शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल असोज १२ र फाइनल १४ गते हुनेछ ।