जनस्वास्थ्य कार्यालयको वार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्ठी शुरु

भक्तपुर, असोज ७
जनस्वास्थ्य कार्यालयको वार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्ठी सोमवार शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा जिल्लास्थित स्वास्थ्य कार्यालय, सरकारी तथा नीजि अस्पतालहरुको समेत प्रगती समिक्षा हुनुका साथै योजना तर्जुमा हुने बताईएको छ ।
गोष्ठीको उद्घाटन गर्दै जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाले सरकारले दिने सेवाप्रवाहमा एकरुपकता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नीतिगत कमीकमजोरी भए त्यसलाई बेलैमा सच्याउनु पर्ने बताउँदैं भक्तपुरका जनताले सरल र सहजरुपमा स्वास्थ्य सेवा पाउनुपर्ने
बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण बहादुर कार्कीले सरकारी स्वास्थ्य संस्थामा सरकारले तोकिए भन्दा बढी शुल्क लिन नहुने बताउनुभयो । उहाँले भक्तपुरका स्वास्थ्य केन्द्रका ल्याव अनुगमन गर्दा तोकिएभन्दा दुई गुणा बढी शुल्क लिएको पाईएको बताउँदैं त्यसलाई तत्काल घटाउन सुझाव दिनुभयो ।


नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले महामारी र जनस्वास्थ्यका समस्याका बारेमा सरकारी र स्थानीय पालिकाका स्वास्थ्य कार्यालयसँगैं नीजि स्वास्थ्य संस्था पनि परिचालन हुने गरी समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो । उहाँले जनस्वास्थ्य कार्यालयले पनि नियमित अनुगमन गरी सबै स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा समान शुल्क निर्धारण गर्न आग्रह गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेंले सही तथ्यांकले सही योजना निर्माण हुने र त्यसको प्रतिफल पनि सही हुने बताउँदैं सबै स्वास्थ्य कार्यालयहरुले तथ्यांक राख्नमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
गोष्ठीमा जिल्लास्थित चार वटै पालिकाको स्वास्थ्य शाखा, सरकारी अस्पताल, नीजि स्वास्थ्य संस्थालगायतको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत हुने र ती प्रतिवेदनका आधारमा योजना तर्जुमा गरिने जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शालिकराम खतिवडाले बताउनुभयो । साथै जनस्वास्थ्य कार्यालयको तर्फबाट खोप, कोल्चेन व्यवस्थापन र बाल स्वास्थ्य, प्रजनन स्वास्थ्य, रोग नियन्त्रण र प्रयोगशाला, रेकडिङ र रिपोर्टिङ, महामारी, नसर्ने रोग तथा विशेष अनुदान, स्टार तथा उपकरणका विषयमा समेत प्रस्तुतीकरण रहेको खतिवडाले बताउनुभयो ।