लागू औषध नियन्त्रण सम्बन्धी कविता प्रतियोगितामा मेरी गोल्डका आन्भी प्रथम

भक्तपुर, असोज ७
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतवार आयोजित कविता प्रतियोगितामा मेरी गोल्ड ईङ्गलिस बोर्डिङ स्कुल बालकोटका आन्भी पाण्डे प्रथम हुनुभएको छ । प्रशासनले लागू औषध ओसारप्रसार तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम अन्तर्गत आयोजित ‘लागू औषध नियन्त्रण’ विषयको उक्त प्रतियोगितामा मेरी गोल्डकै आशुतोष पोखरेल दोस्रो हुनुभयो ।
प्रतियोगितामा राजर्षि गुरुकुलका प्रतिशा खड्का तृतिय र गणेश माविका संजिता थापामगरले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा प्रथम हुने पाण्डेले १५ हजार, दोस्रो हुनेले १२ हजार, तेस्रो हुनेले ८ हजार र सान्त्वनाले ४ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा सहभागी कविता मध्ये उत्कृष्ट १० वटा छनौट गरी प्रतिपष्र्धा गराईएको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो । प्रतियोगितामा अरनिको सेकेण्डरी स्कुलका दिनेश पन्थी, आदर्श मावि लाय्कू थिमिका सन्दिप राई, श्री सञ्जय साई विद्या मन्दिरका पिन्स काफ्ले, बागेश्वरी माविका श्रेया शाही, ओम माविका उत्सव तिमल्सिना र प्रथा नगरकोटीको कविता पनि छनोट भएको थियो ।


विजयी विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले लागू औषधले मानिसको मानसिक, शारिरीक, आर्थिक अवस्थामा नकरात्मक असर पार्ने भएकोले युवा वर्गलाई त्यस्ता कूलतमा फस्न नदिन विभिन्न सामाजिक गतिविधिमा क्रियाशिल बनाई राख्नुपर्ने बताउनुभयो ।
प्रजिअ श्रेष्ठले लागू औषध ओसार पसार तथा दुव्र्यसन नियन्त्रणको लागि आयोजना गरिएको जनचेतनामूलक कार्यक्रमले भक्तपुरबासीलाई सकारात्मक सन्देश दिने आशा व्यक्त गर्नुभयो ।
सो अवसरमा लागू औषध दुव्र्यसन र कुलतबाट हुने हानी नोक्सानीका बारेमा जिल्ला प्रहरी परिसर भक्तपुरले तयार पारिएको जनचेतनामूलक गिती नाटक र प्यारोडी नृत्य प्रस्तुत गरिएको थियो ।