शंखधर सहकारीको खुद नाफा ८२ लाख ६७ हजार

भक्तपुर, असोज ६
मध्यपुर थिमि ४ शंखधरचोकस्थित शंखधर वचत ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा ८२ लाख ६७ हजार ७९४ रुपैंया खुद नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को तुलनामा १२ लाख ५९ हजार ८०५ रुपैंयाले बढी हो ।
संस्थाको शनिवार सम्पन्न १७ औं वार्षिक साधारणसभामा संस्थाका कोषाध्यक्ष न्हुँछेंराज बज्राचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गतवर्ष संस्थाले ४७ करोड २१ लाख ७५ हजार ४६५ रुपैंया निक्षेप संकलन गरी कुल ३० करोड ८९ लाख ४२ हजार ८६२ रुपैंया ऋण लागनी गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्थाको जगेडा कोषमा ३ करोड ९ लाख २० हजार ३१३ रुपैंया रहेको छ भने अन्य कोषमा ६८ लाख ९९ हजार ५७० रुपैंया रहेको छ ।
सभामा संस्थाका सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाले सहकारी मूल्यमान्यता र सिद्धान्तका आधारमा सदस्यहरुलाई कुनै भेदभाव नगरी सरल ढंगले वित्तिय सुविधा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले समूदायमा आधारित नभएका सहकारीहरुमा देखिएको आर्थिक अपचलन घटनाले शंखधर जस्तो समूदायमा आधारित सहकारी संस्थाका बारेमा पनि एक पटक सोच्नु पर्ने अवस्था आएको बताउनुभयो ।


उहाँले संस्थाले चालु आर्थिक वर्ष संस्थाको कार्यक्षेत्र भक्तपुर जिल्लाभरी कायम रहने गरी बिस्तारको पहल गर्ने जानकारी दिँदैं संस्थाको चारवर्षे रणनीतिक व्यवसायिक योजना तयार गरेको र सो योजनाबाट तोकिएको लक्ष्य हासिल गरी संस्थालाई थप मजबुद बनाईने बताउनुभयो ।
यसअघि संस्थाको साधारणसभाको उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सहकारी मूल्य मान्यता सिद्धान्तमा आधारित भएर सहकारी संस्थाहरु समूदायमा आधारित भएर सञ्चालन भए कुनै समस्या नआउने उदाहरण शंखधर रहेको बताउनुभयो ।
उहाँले बागमती प्रदेशले छिट्टै स्वास्थ्य विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिँदैं उक्त विधेयक प्रदेशसभाबाट पारित भएसँगै बागमती प्रदेशमा रहेका नीजि स्वास्थ्य संस्था, अस्पतालहरुको स्तरबृद्धि लगायतका कार्य सहज हुने विश्वास दिलाउनुभयो ।


सो अवसरमा मध्यपुर थिमि नगरपालिकाको सहकारी शाखा प्रमुख अभयेन्द्र रञ्जितले नगरभित्र १२८ वटा सहकारी सञ्चालनमा रहेको जानकारी गराउँदैं केही सहकारीले नियमितरुपमा नगरपालिकालाई आवश्यक कागजपत्र उपलब्ध गराई नियमित नगरेको बताउनुभयो । उहाँले त्यस्ता सहकारीहरुलाई पत्रद्धारा सचेत पार्ने र आवश्यकता अनुसार अनगुमन समेत गरी वचतकर्ताको वचतको सुरक्षाको लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले संस्थाका सचिव र कोषाध्यक्षको प्रस्ताव पारित गरेको थियो । कार्यक्रममा संस्थाका सदस्यका छोराछोरी मध्ये एसईई २०८० मा उत्कृष्ट अंक ल्याउन सफल छात्रछात्रा, ज्येष्ठ सदस्यलगायतलाई सम्मान गरिएको थियो ।
संस्थामा हाल ३ हजार ४५० सदस्य रहेका छन भने यसको शेयर पुँजी ४ करोड ६४ लाख ९२ हजार ५ सय र कुल सम्पत्ति ५८ करोड ३५ हजार ९६७ रुपैंया रहेको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।