रिङ्स एक्स्पो अन्तराष्ट्रिय बुद्धिचालमा विवेक दोस्रो स्थानमा

भक्तपुर, असोज ६
युरोपको हंगेरिस्थित बुढापेष्टमा सम्पन्न प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा विवेक थिङ्ले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेका छन ।
विवेकले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित गर्दै दोस्रो स्थानमा रहन सफल भएको हो । जितसँगै विवेकले नौ चरणको खेलवाट ८ अंक प्राप्त गर्दै दोश्रो स्थानमा प्रतियोगिताको अन्त्य गरेका हुन । उनले ३ सय यूरो पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा अमेरिका, जर्मनी, डेनमार्क, हंगेरि, नाइजेरिया, पेरु, रोमानिया, यूएई, युक्रेन, घाना, इटली र नेपालका २८ अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिताको तेश्रो चरणमा विवेकले पराजित गरेका हंगेरियन आईएम मेस्जारोस् आन्द्रासले समान ८ अंक बटुल्दै बुकोल्ज र प्रोग्रेसिभ अंक ३७.५ को आधारमा विजेता बने । विवेकको ३६.५ प्रोग्रेसिभ अंक रहेको छ । विजेता आन्द्रासले ३ सय ७५ यूरो पुरस्कार हात पारे ।
“नेपाल बुद्धिचाल महासंघले हंगरिको खेलमा सहभागी हुने मौका दिएको हो । मैले राष्ट्रको लागि खेलेर दोश्रो स्थान प्राप्त गर्न सफल भएँ । हामी खेलाडीहरुलाई थोरै भएपनि राज्यले लगानी गरिदिए जस्तोसुकै खेलमा राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने आत्मविश्वास छ,” विवेकले बुढापेष्टवाट पदक जितेपछि भने ।
बुढापेष्टको स्पोर्ट्स हलमा सेप्टेम्बर १२ देखि सञ्चालन भएको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक चेस २१ सेप्टेम्बरसम्म जम्मा ९ चरणको खेल सञ्चालन भएको हो । स्विस मानेजर सफ्टवेयर प्रयोग भएको स्पर्धामा क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट समय रहेको थियो । बुकोल्ज कट वान र कट टु , बर्गर सोनेबर्न र प्रोग्रेसिभ नियम लागु गरिएको स्पर्धा अन्तर्राष्ट्रिय निर्णायक जेडसल्ट कोर्पिक्सले सम्पन्न गरेका छन् ।
नेपाली खेलाडी क्याण्डिडेड मास्टरको विवेकको अन्तर्राष्ट्रिय रेटिङ २२८२ रहेको छ । उनले यस खेलवाट १७ रेटिङ वृद्धि गर्दै आफ्नो २२९९ क्लासिकल रेटिङ बनाउन सफल भएका छन् । उनको यसै प्रतियोगिता मार्फत २३५२ रेटिङ पर्फोमेन्सको खेल खेल्दै चौथो चरणमा २३०० रेटिङ छुन सफल भएका थिए । अब विवेकले विश्व बुद्धिचाल महासंघमा एप्लाई गरेपछि रेटिङका आधारमा नेपालका पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्ने भएका छन् ।
विश्व बुद्धिचाल महासंघको आधिकारिक कुनै एक प्रतियोगिता मार्फत ६६ प्रतिशत अंक जोडेर यस अघि मनिष हमाल, बिलमलाल श्रेष्ठ, सुजेन्द्र प्रसाद श्रेष्ठ, रुपेश जैसवालले एफएम उपाधि प्राप्त गरिसकेका छन् ।