नेपाल पुलिस बन्यो काभा महिला क्लव च्याम्पियन

भक्तपुर, असोज ६
नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । माल्दिभ्सको मालेमा शनिबार राती सम्पन्न फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।
पहिलो सेट २५–१६ ले जितेको पुलिसले दोस्रो सेट २५–२२ ले जितेको थियो । तेस्रो सेटमा २५–२३ को जित निकाल्दै पुलिसले उपाधि जितेको हो । लिग चरणबाट पुलिस शीर्ष र हुमो दोस्रो स्थानमा रहँदै उपाधि नजिक पुगेका थिए ।
प्रतियोगितामा पुलिस अपराजित रहँदैं फाइनल प्रवेश गरेको थियो । पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३–० सेटमा पराजित गरेको थियो । त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३–० सेटले हराएको थियो ।
पुलिसले घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्दै ३–२ सेटको जित निकालेको थियो । त्यो जितपछि अन्तिम खेलअघि नै पुलिस फाइनलमा पुगेको थियो । शुक्रवार लिग चरणको आफ्नो अन्तिम खेलमा पुलिसले अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ ले हराउँदै अपराजित यात्रालाई कायम राखेको थियो ।
प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र ताजकिस्तानका ६ टोलीले सहभागिता जनाएका थिए ।
गत चैतमा सम्पन्न आठौं एनभिए महिला भलिबल लिग विजेताको हैसियतामा पुलिसले यस काभा महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाएको हो । पुलिसले प्रतियोगिताका लागि विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड यु स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो ।
सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका ४ खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ साउनमा काभा नेसन्स लिगको रजत पदक विजेता टोलीका पनि सदस्य थिए ।
त्यस्तै पुलिसमा साउनमा नै भुटानमा भएको काभा बीच भलिबलमा स्वर्ण पदक विजेता जोडी कमला पुन र मनिषा चौधरी पनि छन् । कमलाकै कप्तानीमा पुलिसले काभा क्लब च्याम्पियनसिप जितेको छ ।
पुलिसको भलिबल टोलीमा कमला पुन (कप्तान) , उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द छन । यस्तै मूख्य प्रशिक्षकमा रुपेश विष्ट, सुशिला थापा सहायक प्रशिक्षक र व्यवस्थापकमा श्रवणकुमार झा, भरत कार्की रहेका छन ।