मध्यपुर थिमिमा आज ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा’ मनाईंदैं, जात्राले पशुपति परिक्रमा गर्ने

फाइल तस्विर

भक्तपुर, असोज २
आश्विन शुक्ल पूर्णिमाको अवसरमा आज (बुधवार) साँझ मध्यपुर थिमिमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु (जिब्रो छेड्ने) जात्रा’ भव्यरुपमा मनाईंदैछ । जात्राले पशुपति नाथको परिक्रमा गर्ने भएको छ ।
तेस्रो पटक जिब्रो छेडाउन तयार हुनु भएका मध्यपुर थिमि–५ का विरेन्द्रभक्त श्रेष्ठको इच्छा अनुसार जात्राले यसवर्ष पनि पशुपति नाथको परिक्रमा गर्ने भएको हो ।
विरेन्द्र भक्तले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएर लोप हुन लागेको जात्रालाई पुनर्जिवित गर्नुभएको थियो । उहाँले दोस्रो पटक २०७९ सालको येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रामा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो ।
स्थानीय दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा जिब्रो छेडाएर शुरु हुने यो जात्रा परिक्रमा गर्ने निश्चित मार्ग तोकिएको छैन । जात्रामा जिब्रो छेड्ने व्यक्तिको टोलको इष्ट गणेशको दर्शन पछि उसको इच्छा अनुसारको स्थानको परिक्रमा गराउने यो जात्राको एउटा विशेषता हो ।
यसै विशेषता अनुसार गतवर्ष पनि जिब्रो छेडाएका बालकराम श्रेष्ठको इच्छा अनुसार पशुपति नाथको परिक्रमा गराईएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्र श्रेष्ठले बताउनुभयो । यो जात्राको इतिहास अनुसार भक्तपुरको चाँगुनारायणको परिक्रमा गरेको समेत पाईन्छ ।
यसवर्ष दिगुटोलमा जिब्रो छेडाएपछि निगु पुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गराईने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । थास्मा गणेश जिब्रो छेडाउने विरेन्द्रको इष्ट गणेश हो ।
थास्मा गणेशको दर्शनपछि तछु टोल (गाँतले), सुँगा टोल (विष्णुवीर), ईन्द्रायणी, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोथिमि, मनोहरा खोला पुल, पुरानो सिनामंगल, खहरेचोक, एअरपोर्ट पछाडीको बाटो हुँदैं गुह्ेश्वरी मन्दिरहुँदैं पशुपति नाथको दर्शन गर्ने मार्ग तय गरिएको श्रेष्ठले बताउनुभयो ।
यसैगरी सोही मार्ग भएर फर्कने क्रममा सानोथिमिस्थित तिनधारा व्यारेक चोकबाट भित्र हुँदैं नगदेश, गार्चा चोक, बहाखाबजार भिमसेन मन्दिर, चपाचो, दिगुटोल, निगुपुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी) मन्दिर परिसर पुगेर जिब्रोबाट नातु निकालेर जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ । अनि नातुलाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ । त्यसपछि जिब्रो छेडाउने व्यक्ति घर पुगेर मान्यजनबाट सगुन लिन्छ । जात्राको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूूजा) का लागि बालकुमारीमा पुजा गर्न जानुपर्ने प्रचलन रहेको छ ।


जात्रामा पशुपति विकास कोषले चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेडाउने व्यक्तिको जिब्रोमा शुद्ध तोरीको तेल राखिदिने प्रचलन रहेको छ । सो अनुसार कोषलाई पत्राचार गरिसकेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसवर्ष पशुपतिमा सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्रिप्रसाद पाण्डेले तेल हालिदिने तयारी रहेको छ ।
जात्राको परम्परा अनुसार जिब्रो छेडाउने व्यक्तिले एक महिना अघि नकर्मीलाई नातु बनाउन आग्रह गर्नुपर्छ, त्यसका लागि जिब्रो छेडाउने व्यक्तिले पुजा सामग्रीका साथ सम्ये बजी र एउटा रातो भाले लिएर नकर्मीको घरमा जानुपर्छ ।
जिब्रो छेडाउने व्यक्तिको आग्रह अनुसार नकर्मीले नातु तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राख्ने प्रचलन रहेको छ । यसरी राखेको सियोले जिब्रो छेड्दा रगत नआउने जनविश्वास रहेको छ ।
जात्राको लागि जात्राको आठ दिन अगाडि द्यः दुसालेगु अर्थात देवता भित्र्याउने चलन रहेको छ । त्यसको लागि बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउनु पर्दछ र रातोभालेको वलि दिएर बालकुमारीको साधना गर्नुपर्दछ । जिब्रो छेड्ने जात्राको चारदिन अघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरवारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्रामा डबलीमा राख्ने प्रचलन समेत रहेको छ । ईन्द्रजात्राको दिन बालकुमारीमा रातो भालेको बलि सहितको पूजागरि छ्वयला ब्वः भोज खुवाउने चलन रहेको छ ।
त्यसको भालिपल्ट येंया पुन्हीको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारी देखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ति दिन जानु पर्दछ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरवसामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पु¥याईन्छ ।


डवलीमा नकर्मीले बनाएको करिव १० इन्च लामो नातुबाट कमीनायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्यं (महादिप) बोक्न लगाई उसको ईच्छा अनुसार नगरपरिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ ।
यसरी जात्रा गर्नाले मध्यपुर थिमि क्षेत्रमा भुतप्रेतहरुले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनताहरुलाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई नातुले जिव्रो छेडाएर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति रहेको छ ।
मध्यपुर थिमिमा वर्षेनी दुई वटा मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) सञ्चालन हुने गरेको छ । पहिलो बिस्काः (बिस्केट) जात्राको अवसरमा प्रत्येक वर्ष बैशाख २ गते दिउँसो थिमिको बोडेमा र दोस्रो ईन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पुर्णिमाको साँझ थिमिको दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ ।
जात्रा अवलोकनका लागि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापालगायतलाई आमन्त्रण गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।