ठगी गरेको अभियोगमा तीन महिला पक्राउ

भक्तपुर, भदौ २९
सुनका गरगहनाको बढी तौलको बिल बनाई ठगी गरेको अभियोगमा प्रहरीले तीन जना महिलालाई बिहिवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको कञ्चनपुर घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ अल्पाईन टोल बस्ने ५५ वर्षिया मनमाया थापा मगर, उदयपुर आमबासी घर भई ललितपुर इमाडोल बस्ने ५४ वर्षिया चन्द्रकला विश्वकर्मा र सप्तरीको सप्तकोशी नगरपालिका–२ घर भई हाल महालक्ष्मी नगरपालिका–४ अल्पाईन टोल बस्ने ४० वर्षिया राधा विश्वकर्मा छन ।
उनीहरुले सुनका गरगहनाको बढी तौलको नक्कली बिल बनाई बढी मूल्यमा बन्धकी राखी रकम ठगी गर्न लागेको अवस्थामा भक्तपुर नगरपालिका–२ व्यासीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहनमणी अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार उनीहरुको साथबाट सुनको तिलहरी – ४ थान, चुरा – २ थान, बाला १ थान, नाकको फुली र पेच १५.८० ग्राम, हरियो र पहेलो रंगको पोते ३०÷३० थान, विभिन्न ज्वेलर्सहरुको बिल १५ थान, बन्दकी राख्दा लिने दिने कागज चिट ३० थान, विभिन्न भिजिटिङ कार्ड ३० थान र नगद तिन लाख बयालिस हजार पाँच सय बरामद भएको छ ।
उनीहरुलाई सम्बन्धमा प्रहरी वृत्त सातदोबाटो ललितपुरमा ठगी सम्बन्धी उजुरी परेकोले बरामद सामान सहित थप अनुसन्धानका र कारवाहीका लागि प्रहरी वृत्त सातदोवाटो पठाएको प्रनाउ अधिकारीले बताउनुभयो ।