शुभकामना सहकारीको खुद नाफा ३ करोड ८५ लाख

भक्तपुर, भदौ २९
भक्तपुरको सूर्यविनायकमा अवस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड ८५ लाख ८१ हजार २२९ रुपैंया खुद नाफा गरेको छ । संस्थाको शनिवार सम्पन्न २४ औं वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष नारायण बहादुर बासुकलाले सो जानकारी दिनुभएको हो ।
संस्थाले गत आर्थिक वर्ष ४ करोड २८ लाख ९८ हजार ८१५ रुपैंया कुल नाफा आर्जन गरेकोमा आयकर ४३ लाख १७ हजार ५८६ रुपैंया कटाएर सो नाफा आर्जन गरेको हो ।
सभामा वासुकलाले संस्थामा शेयर पुँजी १० करोड ८६ लाख, सदस्य संख्या ९ हजार ४०६ जना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको कुल सम्पत्ति एक अर्ब ४८ करोड १८ लाख १६ हजार ९१५ रुपैंया रहेको छ ।
सभामा वार्षिक प्रतिवेदन पेश गर्दै सचिव पुष्पलाल तिमिलाले संस्थामा सहकारी ऐन नियम बमोजिम रही पल्र्स मापदण्डको आधारमा १५ प्रतिशत सदस्य बृद्धि गर्ने, शेयर पुँजी बृद्धिलाई निरन्तरता दिने, औसत वचतलाई बृद्धि गर्ने, संस्थाको कुल तरलता मध्ये कम्तीमा ५० प्रतिशत अल्पकालिन वित्तिय लगानीको रुपमा व्यवस्थापन गर्ने र कम्तिमा ७० प्रतिशत ऋण लगानी उत्पादनमूलक क्षेत्रमा जाने गरी परिचालन गर्ने नीति चालु आर्थिक २०८१÷०८२ मा लिने जानकारी गराउनुभयो ।
सभाको उद्घाटन गर्दै नेपाल वचत तथा ऋण सहकारी संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले भक्तपुरमा नागरिक र समाजमा सहकारी शिक्षामा बढी सचेत रहनु र जिल्ला वचत संघको अभिभावकीय भूमिकाका कारण भक्तपुरका स्थानीय सहकारीहरुमा समस्या नदेखिएको बताउनुभयो ।


सो अवसरमा शुभकामनाले पुर्वअध्यक्ष एव्म सल्लाहकार समितिका प्रमुख सल्लाहकार बाल मुकुन्द सुवाललाई विशेष सम्मान गरेको छ । सुवालले हालै मानार्थ विद्या वारिधी उपाधि पाउनुभएको थियो ।
यस्तै शुभकामनाले विद्यावारिधी गर्ने संस्थाका सदस्यहरुलाई पनि सम्मान गरेको छ । उक्त सम्मान पाउनेहरुमा डा. मुनलक्ष्मी त्वायना र डा. सुन्दर हेगाेंजु रहेका छन । त्वायनाले युनिभर्सिटी अफ नर्थ टेक्सासबाट वायोकेमेष्ट्री मोलेकुलर वायोलोजी र हेगोंजुले फ्रेण्डरिच स्केलर युनिभर्सिटी जेनाबाट बायोलोजिकल साईन्समा विद्यावारिधि गर्नुभएको हो ।
यस्तै हाडजोनी तथा नशा रोगमा एमडी गर्नुहुने डा. सरोज कुमार सुवाल, टेबुलटेनिसका राष्ट्रिय खेलाडी नर्मदा खाईतु, नियमति वचतकर्ता पुरुषतर्फ देवराज जोशीर महिलातर्फ शिला बासुकला, दैनिक वचतकर्ता रमेश ख्याजु, असल ऋणी पुरुषतर्फ सुवर्ण मानन्धर, महिलातर्फ तेजमाया भंडेल र कक्षा ८, एसईई २०८० र कक्षा ११ एवम् १२ को परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले संस्थाले सुसूचित सदस्य, दिगो सहकारीलाई आत्मसाथ गर्दै सहकारी शिक्षा तथा वित्तिय साक्षरताको कार्यक्रमलाई विशेष जोड दिँदैं आइरहेको बताउनुभयो । उहाँले समूदायमा आधारित भएर सञ्चालन भएकै कारण शुभकामनाले सदस्यहरुको विश्वास जित्न सफल भएको बताउनुभयो ।
सभामा भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, संस्थाका उपाध्यक्ष निर्मला सुवाल, पुर्वअध्यक्ष एवम् नासमना सेवा केन्द्रका प्रमुख न्हुछेंकुमार त्वयनालगायतले संस्थाको विविध गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो ।