एमालेसँग सत्ता सहकार्य भएपनि राजनैतिक प्रतिष्पर्धा कायम रहन्छ – सांसद थापा

भक्तपुर, भदौ २९
प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेकपा एमालेसँग सत्ता सहकार्य भएपनि राजनैतिक प्रतिष्पर्धा भने कायम रहेको बताउनुभएको छ । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको शनिवार आयोजित १२ औं साधारणसभामा सांसद थापाले मुलुकको राजनैतिक स्थिरताको लागि एमालेसँग सत्ता सहकार्य भएपनि राजनैतिक मूल्य मान्यता र सिद्धान्तका आधारमा एमालेसँग प्रतिष्पर्धा रहीरहने बताउनुभएको हो ।
उहाँले एमालेसँग विकास निर्माण पनि सहकार्य हुने बताउनुभयो । “राजनैतिक मूल्य मान्यता र सिद्धान्तका आधारमा एमालेसहित सबै दलसँग प्रतिष्पर्धा हुन्छ तर विकास निर्माणमा भने सहकार्य हुन्छ,” उहाँले भन्नुभयो ।


उहाँले खानेपानीमा राजनीति गर्न नहुनेमा जोड दिँदैं संविधानको मौलिक हकमा उल्लेखित खानेपानीलगायत शिक्षा, स्वास्थ्य र रोजगारीमा राजनैतिक आस्था र विचारका आधारमा व्यवहार गर्न नहुने बताउनुभयो ।
उहाँले मुलुकमा राजनैतिक परिवर्तनसँगै प्राप्त उपलब्धी, विकास निर्माण र सेवा क्षेत्रको बिस्तारलाई व्यवस्थित गरी जनता समक्ष लैजान नसक्दा र बुझाउन नसक्दा अन्तराष्ट्रिय विमानस्थलको भिड देखाएर व्यवस्था विरोधी टिप्पणी हुने गरेको भन्दै असन्तुष्टि पोख्नुभयो ।
कुनैपनि संस्थाले समयमा साधारणसभालगायतका गतिविधि गरी संस्थालाई पारदर्शी बनाए चोक चोकमा वा चिया पसलहरुमा संस्था विरोधी टिका टिप्पणी नहुने भन्दै उहाँले समितिमा नयाँ कार्यसमिति आएको एक वर्ष नहुँदैं साधारण सभा हुनु सकारात्मक भएको बताउनुभयो ।


कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका १३ वटा अस्पताल, आयुर्वेद औषधालय र जनस्वास्थ्य कार्यालयको भौतिक पूर्वाधार र सेवा प्रवाहको बिस्तारमा जोड दिइरहेको बताउनुभयो ।
उहाँले सूर्यविनायक नगरपालिकाको नगर अस्पताललाई हालै ४५ लाख रुपैंया बराबरको स्वास्थ्य उपकरण र औषधी प्रदेश सरकारले हस्तान्तरण गरेको जानकारी गराउँदैं सो अस्पतालमा छिट्टै शल्यक्रिया, आईसीयुलगायतका सेवा शुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।
उहाँले सूर्यविनायकको खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारमा आवश्यक समन्वय गरिरहेको जानकारी गराउँदैं यसका लागि सबै राजनैतिक दलहरु एकमत हुनुपर्नेमा जोड दिनुभयो ।


समितिका पुर्वअध्यक्ष निशान ढुंगेलले समितिले नयाँ बस्ती र पुरानो बस्तीको आधारमा शुल्कमा भेदभाव गर्न नहुनेमा जोड दिँदैं समितिले विगतदेखी निक्कै कठिन र संर्घषशील समय व्यतित गरी आएकोले यसलाई पूर्णरुपमा सफलतापूवर्क सञ्चालन गरिरहन सबै उपभोक्ताहरुको उत्तिकै ठूलो दायित्व र जिम्मेवारी भएको बताउनुभयो ।
सो अवसरमा सूर्यविनायक नगरपालिका वडा नं. ५ का कार्यबहाक वडाअध्यक्ष मनोज थापाले खानेपानीको विकास र बिस्तारको लागि वडा र नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख राजेन्द्र कुमार श्रेष्ठले खानेपानी समितिहरुले तत्काल गर्नुपर्ने, मध्यमस्तरीय योजना र दिर्घकालिन वा लामो समयको लागि गरी तीन तहको योजना निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा खानेपानीको डिप बोरिङका लागि एक पैसा एक दाम क्षेत्रफलको जग्गा दान गर्ने राधेश्याम सुवाल, समितिको कार्यालय व्यवस्थापनमा सहयोग गर्ने दाता टंकराज काफ्ले, समितिका सेवा निवृत्त कर्मचारीहरु पुर्व कार्यालय प्रमुख रञ्जनराज ढुंगेल, लेखापाल हरी बहादुर राउत, सह लेखापाल सुमित्रा थापा, पम्प अपरेटरहरु मधु नेपाल, नानीराम थापा, प्लम्बर उत्तम थापा, कार्यालय सहयोगी मैयाँ थापालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।


कार्यक्रममा समितिका अध्यक्ष प्रकाशराज ढुंगेलले विगत ४ वर्षदेखी नयाँ धारा जडान नहुँदा आवेदन दिएर बसेका ३५० घरमा नयाँ धारा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदैं समिति अन्तर्गतका ७ वटा पम्पमा स्वचालित प्रणाली जडान गरिएको, जिआइएस म्यापिङ गरी डिजिटल प्रणालीमा लैजाने कार्य अघि बढाएको बताउनुभयो ।
सभाले कोषाध्यक्ष जीवन बखुन्छें र सचिव कमल प्रसाद तिमिल्सनाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन पारित गरेको समितिको ४ नं. क्षेत्रका अध्यक्ष रमेश खड्काले बताउनुभयो ।