‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने

भक्तपुर, भदौ २४
भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने भएको छ ।
नेपालीको सबैभन्दा ठुलो पर्व दशैंको अवसर पारेर आयोजना गरिएको महोत्सव यही असोज ९ गतेदेखि १९ गतेसम्म ११ दिन चल्ने सोमवार आयोजित पत्रकार सम्मेलनमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले बताउनुभयो । महोत्सव भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित खुल्ला मैदानमा हुने छ ।
महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, बिउबिजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गार्मेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स्, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैंक तथा वित्तिय संंस्था, अटोमोवाइल्स् लगायत रोजगार दाता निकाय गरी १५० भन्दा बढी स्टल रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । साथै, राष्ट्रिय आविष्कार केन्द्रको स्टल समेत रहने उहाँले बताउनुभयो ।


महोत्सवमा बालबालिकाहरुका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, ड्रागन रेल, नाउ, बोटिङ, वाटर वल्व, मिकि माउस, ट्रेम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
भक्तपुर जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका स्थानहरुको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउदै यहाँका स्थानीय उत्पादनहरुको बजारीकरणमा विशेष टेवा पुरÞ्याउने उद्देश्य महोत्सवको रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
महोत्सवका संयोजक माधवप्रसाद प्रजापतिले महोत्सवमा विविध उत्पादन तथा सेवाहरुको अलग अलग परिसर बनाई प्रवर्द्धन गर्ने योजना रहेको बताउनुभयो । औद्योगिक उत्पादन र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्धमा सामिप्यता अभिवृद्धि गराउने र लगानीकर्तालाई नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न महोत्सवले टेवा पुरÞ्याउने उहाँले बताउनुभयो ।
महोत्सवमा राखिने बस्तुहरुको प्रकृत्तिका आधारमा स्टलको साइज र शुल्क फरक हुने महोत्सव व्यवस्थापक सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.का प्रमुख संगम लामाले बताउनुभयो । स्थानीय उत्पादनहरुका लागि न्यून स्टलभाडा रहने छ भने आयातित वस्तुहरुको स्टलका लागि फरक शुल्क हुने उहाँले जानकारी दिनुभयो ।
११ दिनको उक्त महोत्सवमा एक लाख रुपैयादेखि १८,५०० सम्म स्टल भाडा हुने जनाइएको छ । महोत्सव अवधिभर करिब दुईलाख पचास हजार दर्शकहरुले अवलोकन गर्ने र उक्त अवधिमा करिब १० कारोड रुपैया बराबरको कारोवार हुने अनुमान रहेको छ ।
महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु. ७० र विद्यार्थीहरुलाई रु. ५० को टिकट लाग्ने जनाइएको छ । वृद्धवृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने छ । महोत्सवबाट राजधानी उपत्यकाका साथसाथै काभ्रे, धुलिखेल, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने आयोजकले विश्वास लिएको छ ।