पाकिस्तानी शहिदको सम्झनामा काठमाण्डौंमा कार्यक्रम

भक्तपुर, भदौ २२
नेपाली सेनाका कार्यबहाक प्रधान सेनापति अशोक राज सिग्देलले पाकिस्तान र नेपालबीचको बहुआयामिक द्धिपक्षीय सहयोग अन्तर्गत सैन्य सहयोग पनि रहेको बताउनुभएको छ ।
पाकिस्तानको रक्षा तथा शहिद दिवसको अवसरमा शुक्रवार काठमाण्डौंमा आयोजित कार्यक्रममा सिग्देलले पाकिस्तान र नेपालबीचको बहुआयामिक द्विपक्षीय सम्बन्ध, जसमा आर्थिक, व्यवसायिक, शैक्षिक, प्राविधिक सहयोगसँगैं सैन्य सम्बन्धहरू रहेको बताउनुभएको हो ।
उहाँले संकटको समयमा पाकिस्तानले प्रदान गरेको सहयोगलाई उच्च प्रशंसा गर्दै मित्र राष्ट्रको रुपमा नेपाली संस्थाहरूको क्षमता विकासमा पाकिस्तानले निस्वार्थ सहयोग गरिरहेको उल्लेख गर्नुभयो । उहाँले दुई देशबीचको आपसी सहयोग मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गर्नुभयो ।


सो अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हास्मीले रक्षा तथा शहिद दिवसको महत्वमाथि प्रकाश पार्दै मातृभूमिको रक्षाका लागि जीवन उत्सर्ग गर्ने पाकिस्तानका सशस्त्र बल, कानून प्रवर्तन निकायहरू र नागरिकहरूको बलिदानप्रति उच्च प्रशंसा र सम्मान प्रकट गर्नुभयो ।
राजदूत हास्मीले पाकिस्तानले क्षेत्रीय शान्ति र स्थायित्वमा आफ्नो दृढ प्रतिबद्धता कायम राखेको र आतंकवादविरुद्धको संघर्ष तथा संयुक्त राष्ट्र संघको शान्ति मिसनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
पाकिस्तानले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र भौगोलिक अखण्डताको प्रश्नमा कहिल्यै सम्झौता नगर्ने प्रष्ट पार्दै उहाँले शहिदहरूको बलिदानीलाई मार्गनिर्देशनको रुपमा लिएर अघि बढिरहेको बताउनुभयो ।
रक्षा सहचारी कर्णेल मोहम्मद अली अलवीले दुई देशबीचको बलियो सैन्य सम्बन्धलाई क्षेत्रीय शान्ति र स्थायित्व प्राप्त गर्ने साझा दृष्टिकोणले मार्गदर्शन गरेको बताउनुभयो ।
कार्यक्रममा पाकिस्तानका सशस्त्र बल, रक्षा उत्पादन र पाकिस्तानको संस्कृति सम्बन्धी वृत्तचित्रहरू पनि प्रदर्शन गरिएको थियो ।
उक्त समारोहमा वरिष्ठ नेपाली सैन्य तथा नागरिक अधिकारीहरू, राजदूतहरू, सेवानिवृत्त वरिष्ठ सेना अधिकारीहरू, पूर्व प्रधानसेनापति, शैक्षिक क्षेत्रका व्यक्तित्वहरू, कूटनीतिक निकायका सदस्यहरू, रक्षा सहचारीहरू, संयुक्त राष्ट्र संघका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र पाकिस्तानी समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो ।