एनपिएल टोली पोखरा बिक्यो साढे ३ करोडमा

भक्तपुर, भदौ २०
नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली पोखरा सबै भन्दा उच्च मूल्य साढे तीन करोडमा बिक्रि भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहिवार गरेको खुला बिडिङमा नेपाल टी–२० प्रालिले पोखरालाई ३ करोड ५७ लाखमा खरिद गरेको हो । यो एनपिएलका ८ टोली मध्ये सबैभन्दा उच्च मूल्य हो ।
बिडिङमा काठमाण्डौं ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा बिक्रि भएको छ । काठमाण्डौंलाई कान्तिपुर पब्लिकेसन्सले खरिद गरेको हो ।
यस्तै जनकपुरको फ्रेन्चाइजी ड्रिम्स स्पोर्टसले २ करोड ५ लाखमा पाएको छ । लुम्बिनीको फ्रेन्चाइजी फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँमा लिँदा सुदूरपश्चिमको फ्रेन्चाइजी इम्पायर स्पोटर्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा लिएको छ ।
चितवनको फ्रेन्चाइजी चितवन मेडिकल कलेजले १ करोड ७६ लाख एक हजार, विराटनगरको एमएडी ड्रिम्स स्पोर्टसले १ करोड ५१ लाख र सबैभन्दा कम मूल्य १ करोड ११ लाख ७० हजार रुपैयाँमा हिमालयन बिल्डर्सले कर्णालीको फ्रेन्चाइजी लिएको हो ।
एनपिएल मंसिर १५ देखि ६ पुससम्म हुने क्यानले जनाएको छ । फ्रेन्चाइजी टिमका लागि १६ वटा आवेदन परेको थियो । खुला बिडिङ गर्दा ८ वटा फ्रेन्चाइजी कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयााँमा बिक्री भएको छ ।