वेलकम ब्राण्डको पानीको जारमा किरा भेटियो

भक्तपुर, भदौ १५
चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित सिद्धार्थ मिनरल वाटर कम्पनीबाट उत्पादित वेलकम ब्राण्डको जारको पानीमा शनिवार बिहान किरा भेटिएको छ । मध्यपुर थिमि नगरपालिका–२, सानो थिमिस्थित भट्टराई टोलमा दोलखाको मैनापोखरी वैदेश्वर गाउँपालिका–३ घर भई हाल मध्यपुर थिमि–७ नगदेश डेरागरी बस्ने ५२ वर्षिय ललित दाहालले जारको पानी खरिद गर्ने क्रममा पानीमा किरा भेटिएको हो ।
पानीको जारमा किरा भेटिएको खबर प्राप्त भएपछि तत्काल मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठ र प्रहरी प्रभाग सानो थिमिको प्रहरी टोली घटनास्थल पुगेर पानी ओसारपसार गर्ने बा ५ ख १७३० नं.को मिनि ट्रकसहित पानीका जार नियन्त्रणमा लिएको छ ।


स्थानीयको समेत रोहबरमा मुचुल्का उठाई उक्त गाडी थप कारवाहीको लागि प्रहरीलाई बुझाएको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रहरीले पानीको जारसहितको उक्त गाडी आइतवार जिल्ला प्रशासन कार्यालयलाई बुझाउने जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सहयोगमा पानी उद्योगमा अनुगमन र अनुसन्धान गरी कारवाही गरिने बताईएको छ ।