पलेशाले जितिन पेरिस पारालिम्पिक्समा ऐतिहासिक पदक

भक्तपुर, भदौ १५
नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक पदक जितेकी छिन् । पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत शुक्रबार भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै ऐतिहासिक कांस्य पदक जित्न सफल भएकी हुन ।
यो सँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो खेलाडी बनेकी छिन् । साथै अन्तराष्ट्रिय खेलमा नेपालले प्राप्त गरेको अहिले सम्मकै उच्च पदक हो ।
पलेशाले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा उनी विश्व नम्बर एक ब्राजिलकी सिल्भाना फर्नान्डेससँग पराजित हुन पुगिन । सिल्भाना विरुद्ध पाँच अंकको अग्रता लिँदा लिँदै उनी अन्तमा लय गुमाउँदा उक्त खेल १०–८ ले गुमाउन पुगिन ।
दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाइन, जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै पलेशा कांस्यनजिक पुगेकी थिइन् ।
पलेशा छनोटचरण पार गर्दै पेरिस पारालिम्पिक नेपालको प्रतिनिधित्व गरेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोटचरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी पनि हुन् ।


पलेशा १९औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कांस्य पदक विजेता हुन् । उनीसँग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव छ । टोकियोमा पलेशा कांस्य भिडन्तमा चीनकी खेलाडीसँग चुकेकी थिइन् ।
नेपालले सन् १९६४ को टोकियोमा पहिलो पटक समर ओलम्पिक्समा सहभागिता जनाएको थियो । ६ दशकदेखि नेपालले ओलम्पिक्समा सहभागिता जनाउँदै आएको छ । तर कुनै पनि खेलाडीले ओलम्पिक्समा एक खेल समेत जित्न सकेका छैनन् ।
यो अवस्थामा पारा खेलाडी पलेशाले नेपाललाई पदक दिलाएकी छिन् । यसअघि तेक्वान्दोकै विधान लामाले भने सिओल ओलम्पिकमा प्रदर्शनी खेलका रुपमा राखिएको तेक्वान्दोमा कास्य पदक जितेका थिए ।


विशेष क्षमताकी धनी पलेशाको जन्म एउटा हातको हत्केला बिना नै भएको थियो । उनको हत्केलालाई पलेशाले कमजोरी कहिले बनाइनन् । अदम्य साहस र परिवारको साथमा यही हात उनको जीन्दगीको सफलताको कडी बनेको छ, साथै देशलाई विश्व खेलकुदमा चिनाउने सशक्त माध्यम नै बन्यो । ओलम्पिक्स पदक यही विशेष क्षमताबाट सम्भव बनेको छ ।
उनले २०१४ मा १३ वर्षको कलिलो उमेरदेखि नै तेक्वान्दो खेल्न सुरू गरेकी थिइन् । उनले चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् । महिला के– ४४ क्याटगोरी अन्तर्गत ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् । एसियाली पारा खेलकुदमा नेपालले जितेको यो पहिलो पदक थियो ।