गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीको गल्ती छैन – अध्ययन समिति

भक्तपुर, भदौ १४

भक्तपुरको मध्यपुर थिमि–३ गठ्ठाघरमा गत साउन ३१ भएको सवारी दुर्घटनाको सम्बन्धमा अध्ययन गर्न गठित समितिले सो दुर्घटनामा ट्राफिक प्रहरीको गल्ती कमजोरी नभएको निष्कर्ष निकालेको छ ।
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको निर्णयले गठन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला संयोजक रहेको समितिले करिव १० दिन लामो अध्ययन र छानविनपछि सो घटनामा ट्राफिक प्रहरीको गल्ती कमजोरी नभएको निष्कर्ष निकालेको हो ।
यसअघि नेपाल प्रहरीको उपत्यका प्रहरी कार्यालयले गठन गरेको छानविन समितिले पनि सो दुर्घटनामा ट्राफिकको कमजोरी नभएको र उक्त घटनामा ट्रक चालकले पनि स्कुटरलाई नदेख्दा दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।
ट्राफिक प्रहरीको सवारी जाँच भइरहेको समयमा सो दुर्घटना भएको थियो । काठमाण्डौंबाट भक्तपुरतर्फ आउँदैं गरेको ना ६ ख २१७३ नम्बरको मालबहाक ट्रकको ठक्करले बा ३९ प ८९४४ नम्बरको स्कुटर चालक ओखलढुंगा चिशंखुगढी गाँउपालिका–४ खहरे घर भई हाल काठमाण्डौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षीय उत्तम कोईरालाको घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा पछि आक्रोशित सर्वसाधरणले ट्राफिक प्रहरीको सवारी जाँचका कारण दुर्घटना भएको भन्दै ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि आक्रमण गरेका थिए । सामाजिक सञ्जालहरुमा पनि ट्राफिक प्रहरीप्रति आक्रोश पोखेका थिए ।
विशेष गरी ट्राफिक प्रहरीप्रतिको जनआक्रोश र ट्राफिक प्रहरीको सवारी जाँचका विषयमा धेरै टिका टिप्पणी भएपछि गृहमन्त्री रमेश लेखकको निर्देशनमा नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय भक्तपुरले छुट्टाछुट्टै छानविन र अध्ययन समिति गठन गरेको थियो ।
सोही अनुसार प्रजिअ श्रेष्ठले सहायक प्रजिअ निरौलाको संयोजकत्वमा जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजन कार्की, यातायात व्यवस्था विभाग सवारी चालक अनुमति पत्र कार्यालय राधेराधेका मेकानिकल ई. उत्तम बस्नेत र नागरिक समाजका तर्फबाट पिडितका नातेदार समेत रहनुभएका तुलसीहरी कोइराला सहितको घटना सत्य तथ्य अध्ययन समिति गठन गरेको थियो ।
सो समितिले ८ पृष्ठको अध्ययन प्रतिवेदन बिहिवार प्रजिअ श्रेष्ठलाई बुझाएको छ । प्रजिअ श्रेष्ठले तत्कालै उक्त प्रतिवेदन गृहमन्त्रालयमा पठाएको स्रोतले जानकारी दिए ।
समितिले घटनास्थलको सीसीटिभी फुटेज, सामाजिक सञ्जालमा आएका भिडियो, ट्रकको अवस्थालगायतको अध्ययन एवम् प्रत्यक्षदर्शी, ट्रक चालक, सवारी जाँचका क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग समेत सोधपुछ गरी प्रतिवेदन तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।


अध्ययनका क्रममा ट्राफिकले दुर्घटनामा परेका दुबै सवारीलाई रोकेको नदेखिएको, सीसीटीभी फुटेज र प्र्रत्यक्षदर्शीलाई सोधपुछ गर्दा समेत दुर्घटनामा ट्राफिक प्रहरीको भूमिका नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘सीसीटीभी फुटेजमा दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक प्रहरी ड्युटी गरिरहेको देखिन्छ । सोही क्रममा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेको स्कुटरलाई ठक्कर दिएर अघि बढेको देखिन्छ । सडकमा रहेका ३ जनामध्ये एक जना ट्राफिक प्रहरी दौडिंदै ट्रकतर्फ अघि बढेको देखिन्छ । लगत्तै ट्रक रोकिन्छ र एक व्यक्ति ट्रकबाट ओर्लिएको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठसँग समितिले गरेको सोधपुछका क्रममा चालकले स्कुटर नदेखेको र दुर्घटना गराउने कुनै मनसाय नै नरहेको बयान दिएको उल्लेख छ । दुर्घटना गराउने मनसाय नदेखिए पनि ट्रक चालककै कमजोरीले दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
समितिले मेकानिकल इन्जिनियरको सहयोगमा ट्रकको प्राविधिक जाँच समेत गरेको थियो । त्यसक्रममा ट्रकको अवस्था भने ठीक रहेको पाएको प्रतिवेदनमा उल्लेख छ । ट्रकको बत्ती, ब्रेकदेखि अन्य पार्टपूर्जा समेत ठीक रहेको र कर तिरेकोदेखि चालकको लाइसेन्स रहेको, चालकले कुनै किसिमको मादक पदार्थ सेवन नगरेको पाईएको प्रतिवेदनमा उल्लेख छ ।
समितिले दुर्घटनास्थलबाट ट्रक चलाएर सुरक्षित ठाउँमा पु¥याएका प्रहरीसँग समेत ट्रकको अवस्थाबारे सोधपुछ गरेको प्रतिवेदनमा उल्लेख छ ।
समितिले ट्राफिक प्रहरीको सवारी जाँचलाई थप वैज्ञानिक बनाउन र काठमाण्डौं भक्तपुर ६ लेन सडकको ट्राफिक व्यवस्थापन थप व्यवस्थित बनाउन पनि सुझाव दिएको छ ।
समितिले मूख्य सडकमा सवारी जाँच गर्दा कम्तीमा एक सय मिटर अगाडी प्रष्ट रुपमा देखिने गरी सवारी जाँचको संकेत वा बोर्ड राख्न, ट्राफिक जाँच तथा अनुगमनलाई वैज्ञानिक बनाउन एआईको प्रयोगदेखि स्थान विशेषमा फरक–फरक प्रकृतिको जाँच हुनुपर्ने सुझाव दिएको छ ।
यसैगरी काठमाण्डौं भक्तपुर ६ लेन सडकको सर्भिस लेनमा दुई पाङ्ग्रे सवारीसाधन चलाउन पनि सुझाव दिएको छ ।
प्रतिवेदनमा मृतकका परिवारलाई उचित क्षतीपुर्तीको व्यवस्था गर्न सुझाव दिएको छ । क्षतपुर्ती सम्बन्धी कानूनी व्यवस्था भएपनि मृतकको परिवारको आर्थिक अवस्था, दुर्घटनाको प्रकृति समेतलाई मध्यनजर गर्दै पिडित परिवारलाई उचित क्षतीपुर्तीको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।