सर्वसाधारण सरह राष्ट्रपति पौडेलद्धारा भक्तपुर दरवारस्क्वायर अवलोकन(फोटो फिचरसहित)

भक्तपुर, भदौ १४
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार भक्तपुर दरवार क्षेत्रको अवलोकन र स्थानीय तलेजु भवानी एवम् भैरवनाथको पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रमको शुभारम्भ स्वरुप पहिलो दिन भक्तपुर दरवारस्क्वायरको अवलोकन भ्रमण गर्नुभएको हो ।


उहाँलाई दरवारस्क्वायरमा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्री, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय भक्तपुरका प्रमुख उपअनुसन्धान निर्देशक टेकराज तिमल्सिना, सशस्त्र प्रहरी बल २२ नं. गण गुहेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बासुदेव ओली, जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्की, विभिन्न सरकारी कार्यालयका प्रमुखलगायत सर्वसाधरणले स्वागत गर्नुभएको थियो ।


दरबारस्क्वायर अवलोकनका क्रममा राष्ट्रपति पौडेलले सर्वसाधरणसँग सम्वाद समेत गर्नुभएको थियो । सो क्रममा सर्वसाधारणहरूले आमनागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकले पाउन नसकेको गुनासो गर्नुभएको थियो । साथै राष्ट्रपति पौडेलसँग सर्वसाधारणहरूले सार्वजानिक सेवामा सहज पहुँच पुग्न नसकेको, महंगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो समेत गर्नुभएको थियो ।
सो क्रममा राष्ट्रपति पौडेलले आमनागरिकको गुनासो शासन सञ्चालन गर्ने कार्यपालिका प्रमुखको ध्यानाकर्षण गराउने आश्वासन दिनुभयो ।


बिहान सवा ११ बजे धर्मपत्नी धर्मपत्नी एवं प्रथम महिला सविता पौडेलका साथ दरवारस्क्वायर पुग्नु भएका राष्ट्रपति पौडेललाई भक्तपुर नगरपालिकाका तर्फबाट नगरपालिकाका कर्मचारी गौतम लासिवाले दरवारस्क्वायर अवलोकन गराउनुका साथै त्यहाँ भएका पुरातात्विक एवम् ऐतिहासिक सम्पदाहरुको विस्तृत जानकारी गराउनुभएको थियो ।
कुनै तामझाम विना नितान्त अनौपचारिक रुपमा भ्रमणमा आउनुभएका राष्ट्रपति पौडेल पचपन्ने झ्याले दरवार, स्वर्णद्धार (गोल्डेन गेट)लगायतका पुरातात्विक सम्पदाको अवलोकन गर्दै अगाडि बढ्नुभयो र तलेजु देवीको मन्दिर प्रवेश गरी पुजाअर्चना गर्नुभयो ।
त्यसपछि राष्ट्रिय कला संग्रहालयभित्र प्रवेश गरी संग्रहालयको अवलोकन गर्नुभएका राष्ट्रपति पौडेलले त्रिपुरासुन्दरी मन्दिरको अवलोकन गर्दै दरवारस्क्वायर पाटीमा रहेका विद्यालयका विद्यार्थीहरुसँग भलाकुसारी गर्नुभयो । उहाँले दरवारस्क्वायरबाट टौमढी जानेक्रममा पनि स्थानीयसँग भलाकुसारी गर्नुभएको थियो ।


टौमढीमा ङातापोल (पाँचतल्ले मन्दिर)को अवलोकन गरीसकेपछि उहाँले भैरवनाथको पुजा अर्चना गर्नुभयो । सो अवसरमा उहाँलाई गुठी संस्थानका भक्तपुरका प्रमुख खिमा ओली, भैरवनाथका गुठी नाइके एवम् पुजारीहरुले स्वागत गर्नुभएको थियो । गुठी प्रमुख ओलीले राष्ट्रपतिको पुजाअर्चनाको व्यवस्था समेत गर्नुभएको थियो ।
‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम शुरु गरिएको र सोही अन्तर्गत पहिलो कार्यक्रम भक्तपुरमा सम्पन्न गरिएको राष्ट्रपति पौडेलका प्रमुख प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । उहाँले यस्तो कार्यक्रमले राष्ट्रपतिलाई जनतासंग जोड्न सहयोग पुग्ने र जनताको छोराछोरी राष्ट्र प्रमुख भएको अनुभुती जनताले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले यस्तो कार्यक्रम हाललाई महिनामा एक पटक गर्ने योजना रहेको जानकारी दिँदैं परिस्थिती अनुसार १५ दिनमा एक पटक वा दुई महिनामा एक पटक पनि हुन सक्ने बताउनुभयो ।


राष्ट्रपति पौडेलकी छोरी एवं स्वकीय सचिव अध्यक्षता पौडेलले राष्ट्रपति पौडेलले धार्मिक, सांंस्कृतिक एवं पर्यटकीय नगर भक्तपुरको भ्रमणप्रति आनन्द अनुभुती गरेको बताउनुभयो ।
औपचारिक कार्यक्रम नभएकोले भिडभाड नभएको र आमनागरिक जस्तै राष्ट्रपति पौडेलले भक्तपुर अवलोकन गरेको देख्दा स्थानीय र पर्यटकहरु अचम्मित भएका थिए भने सर्वसाधारणले राष्ट्रपति पौडेललाई कौतुहलतापूवर्क हेरेका थिए ।
अनौपचारिक कार्यक्रम भएकोले सुरक्षा व्यवस्था तुलनात्मकरुपमा खुकुलो बनाएको थियो । सोही कारण सर्वसाधारण राष्ट्रपतिको नजिक आउन र कुरा राख्न सहज भएको थियो ।