विपदका घटनामा केन्द्रीय सहयोगको खाँचो – नगरप्रमुख खत्री

भक्तपुर, भदौ १३
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले मनसुनजन्य विपदका कारण भएको क्षतीको पुनःनिर्माण, पुनःस्थापना र राहतका लागि केन्द्रीय स्तरको सहयोगको खाँचो रहेको बताउनुभएको छ ।
भक्तपुर जिल्लाको विपद् व्यवस्थापन समितिको बुधवार बसेको बैठकमा चाँगुनारायण नगरपालिका प्रमुख खत्रीे विपदले पु¥याएको क्षतीको पुनःनिर्माण, पुनःस्थापना र राहतका लागि स्थानीय स्रोतसाधनले धान्न नसक्ने भएकोले केन्द्रीय स्तरको सहयोगको खाँचो रहेको बताउनुभएको हो ।
उहाँले मनसुन अघि बनाएको बजेट र कार्यक्रम मनसुनले गरेको क्षतीका कारण सार्वजनिक गर्न पनि गरौं की नगरौंको अवस्थामा पु¥याएको बताउनुभयो ।
उहाँले बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाका कारण मनसुनजन्य बिपदबाट भएका घटनाहरूमा तत्काल प्रतिकार्य गरी थप क्षति हुन नदिन नगरपालिका सफल भएता पनि अधिक बर्षाका कारण गएको पहिरो, बाढी र डुबानका घटनाहरूबाट चांगुनारायण नगरपालिकाले धेरै क्षति बेहोरेको जानकारी दिनुभयो ।
उहाँले आगामी दिनमा क्षति हुनुका मूल कारणहरु पहिचान गरी रोकथाम तथा न्यूनीकरणका उपायहरू गरिने बताउनुभयो । उहाँले दिगो विकासमा ध्यान दिदै विकास निर्माणका हरेक काममा बिपद् जोखिम न्युनीकरणलाई मूलप्रवाहीकरण गर्दै सबै सरोकारवाला निकायहरुसँग हातेमालो गर्दै बिपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जिल्लाको विपद राहत कोषले पिडितलाई क्षतीपुर्ति स्वरुप थोरै रकम मात्र दिन सकिने व्यवस्था भएको र ठूला विपदका घटनापनि पुनःनिर्माण, पुनःस्थापनाका लागि केन्द्रीय विपद् समितिमा माग गरेर पठाउन सकिने व्यवस्था भएको जानकारी दिनुभयो ।
उहाँले जिल्लामा भएका विपद्का घटना, जिल्ला बाहिरका घटनामा भक्तपुरका स्थानीय पिडित बनेका घटनाहरुको समेत संक्षिप्त जानकारी दिँदैं पूर्वतयारीका घटनाका कारण पनि यो वर्ष हालसम्म भक्तपुरमा मानवीय क्षती हुन नपाएको बताउनुभयो ।
बैठकमा राजनैतिक दलका प्रतिनिधिहरुले विपदका घटना के कारणले भएका हुन सो अध्ययन गरी ती कारणहरुको निराकरण गर्न आवश्यक पहल गरी भविष्यमा विपद्का घटना नदोहोरिने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा जिल्लाका चारवटै पालिकाहरुले मनसुनजन्य विपदले हालसम्म पुर्याएको क्षतीको विवरण, खोज तथा उद्धारका कार्यमा गरेका प्रयास, रोकथामका उपाय र राहत वितरणका कार्यको संक्षिप्त विवरण प्रस्तुत गरेको थियो । साथै जिल्ला स्थित सरोकारवाला निकायले पनि विपद्का घटनामा गरेका न्यूनिकरणका उपायका बारेमा जानकारी दिएका थिए ।
बैठकले मध्यपुर थिमि १, लोहकिल्थलीस्थित खानेपानी बोरिङ माथिको बस्ती पहिरोको जोखिममा परेको र सो स्थानको पहिरो रोकथामका लागि स्थानीय तहको बजेटले धान्न नसक्ने भन्दै सो को लागि आवश्यक व्यवस्था गर्न केन्द्रीय स्तरमा लेखी पठाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले जानकारी दिनुभयो ।