एकीकृत समाजवादीको महिला उपाध्यक्षमा झाँक्री पराजित

भक्तपुर, भदौ १२
नेकपा (एकीकृत समाजवादी)को महिला उपाध्यक्षमा नेतृ रामकुमारी झाँक्री पराजित हुनुभएको छ । समाजवादीको मंगलवार साँझ भएको निर्वाचनमा झाँक्री अर्की नेतृ जयन्ती राईसँग पराजित हुनुभएको हो ।
मतपरिणाम अनुसार राईले १८९ मत प्राप्त गरी विजयी हुनुभयो । झाँक्रीले ११२ मत मात्रै पाउनुभयो । खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधरले १८९, भानुभक्त जोशीले १५६, प्रकाश ज्वालाले १३९ र जगन्नाथ खतिवडाले १५१ मत प्राप्त गरी विजयी हुनुभयो । मधेशीतर्फको उपाध्यक्षमा धर्मनाथ साहले १६४ मत प्राप्त गरी निर्वाचित हुने क्रममा उहाँले अर्का नेता रामचन्द्र झालाई पराजित गर्नुभयो ।
उपमहासिवमा मेटमणी चौधरीले लोकप्रिय मत प्राप्त गर्नुभयो । उहाँ १५८ मतका साथ निर्वाचित हुँदा अन्य उपमहासचिवमा रामकुमार भट्टराईले १०७ मत, राजेन्द्र राईले १०६ र गरिमा शाहले १०५ मत पाएर निर्वाचित हुनुभयो ।
सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्माले १८० मत, आदिवासी जनजातिबाट बलदेव चौधरीले १७५ मत, खुलाबाट शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोप्रसाद पाण्डेले १४१, सावित्रा कुमारी भुसालले १०६ र श्रीनाथ बरालले १०७ निर्वाचित भएका छन् । चार उपमहासचिव पदमा १९ जना प्रतिस्पर्धी थिए ।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसहमत चुनिनुभएको थियो ।