लोहकिल्थलीमा सुनको सिक्री लुटपाट गर्नेहरू पक्राउ

भक्तपुर, भदौ ७
भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीमा सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ घर भई काभ्रेपलाञ्चोक बनेपा बस्ने ३८ वर्षीय खनक भन्ने अनिल कुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई ललितपुर ग्वार्खो बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई काठमाण्डौँ गौशाला बस्ने ३१ वर्षीय रोहित भन्ने सुरेश तामाङ रहेका छन् ।
उनीहरुलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाण्डौं र प्रहरी वृत्त थिमि अपराध शाखाबाट खटिएको प्रहरीले भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो ।
उनीहरुले गत साउन २१ गते बिहान लोहकिल्थलीस्थित बस स्टपबाट मध्यपुर थिमि–१ लोहकिल्थलीमा बस्ने ५० वर्षिया कमला गौतमले घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यसअघि अनिल उपर २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट, गणेश उपर विभिन्न मितिमा ३ पटक प्रहरी वृत्त नयाँ बानेश्वरबाट र सुरेश उपर विभिन्न मितिमा प्रहरी वृत्त बौद्धबाट १ पटक तथा प्रहरी वृत्त गौशालाबाट ३ पटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको छ ।
उनीहरूलाई प्रहरी वृत्त थिमिमा राखी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।