ख्वप विश्वविद्यालयप्रति सकारात्मक छु तर भक्तपुर नगरपालिकाले सहकार्य गरेन – सांसद थापा

भक्तपुर, भदौ ७
भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले ख्वप विश्वविद्यालय स्थापना गर्न आफु सकारात्मक भएको बताउनुभएको छ । नेपाल प्रेस सोसाईटी भक्तपुरले शुक्रवार आयोजित साक्षात्कार कार्यक्रममा सांसद थापाले त्यसका लागि भक्तपुर नगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताउँदैं भक्तपुर नगरपालिकाले पनि आफुसँग सहकार्य गर्न तयार हुनुपर्ने शर्त राख्नुभयो ।
उहाँले भन्नुभयो, “ख्वप विश्वविद्यालय स्थापना हुनु राम्रो हो । यसमा म सकारात्मक मात्र होइन पहल गर्न तयार छु । तर भक्तपुर नगरपालिका पनि हामीसँग सहकार्य गर्न तयार हुनु प¥यो ।” उहाँले ख्वप विश्वविद्यालयको प्रस्तावित प्रावधान नेपाल मजदुर किसान पार्टीको प्रशिक्षण केन्द्रको जस्तो ढाँचा रहेको भन्दै त्यस्तो प्रस्ताव भने स्विकार्य नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो फोन समेत नउठाउने गरेको गुनासो गर्नुभयो । “ख्वपः विश्वविद्यालयको स्थापनामा मात्र होइन नगरका अन्य विद्यालयको स्तरोन्नती, हनुमन्ते डुबानको समस्या समाधान लगायत धेरै विषयमा भक्तपुर नगरपालिकालाई सहयोग गर्न तयार छु । तर भक्तपुरका नगरप्रमुखले मेरो फोन समेत उठाउँदैन । अनि कसरी सहकार्य हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले आफूले सञ्चालन गरेका शैक्षिक संस्था बाहेक भक्तपुरको ऐतिहासिक विद्यालयहरु श्री पद्य, विद्यार्थी निकेतन जस्ता विद्यालयको विकासमा ध्यान नदिएको आरोप समेत लगाउनुभयो । संघीय सांसदले धेरै काममा समन्वय गर्नुपर्ने तर, स्थानीय सरकार कुरा सुन्न समेत नचाहने प्रवित्तिले आफू आजित भएको उहाँको भनाई थियो ।
उहाँले संविधान संशोधन र स्थानीय तहको संख्या घटाउने सम्बन्धमा बोल्दै भक्तपुरमा चार वटा पालिका भन्दा पनि एउटै उपमहानगरपालिका बनाउनु उपयुक्त हुने धारणा राख्नुभयो । संविधान निर्माणका बेला नै भक्तपुरलाई एउटै महानगरपालिका बनाउन आफुले प्रस्ताव गरेको स्मरण गराउँदैं उहाँले कसैको राजनीतिको रोटी सेक्न कै लागि भक्तपुरमा चार वटा पालिका आवश्यक नभएको बताउनुभयो ।
उहाँले जनप्रतिनिधि र राजनीतिक दलले राम्रोको जस आफूले लिने र नराम्रोको दोष अर्काको टाउकोमा थोपर्ने गरेकोप्रति दुःख व्यक्त गर्दै सबै राजनीतिक दल र नेताहरुको सामुहिक प्रयासबाट नै जिल्लाको समग्र विकास सम्भव हुने बताउनुभयो ।


आफु सधैं जनताको सुखदुःखमा साथै रहेको जिकिर गर्दै आफु बिरामी भएर उपचार गरिरहेको अवस्थामा सांसद कहाँ हरायो भन्दै दलका नेताहरु असहिष्णु बनेको टिप्पणी गर्नुभयो । सडक निर्माणलाई मात्र विकास मान्न नसकिने भन्दै उहाँले दीर्घकालीन विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई र जनताको आयआर्जन वृद्धिको योजनामा आफूले जोड दिएको दावी गर्नुभयो ।
समसामयिक राजनीतिप्रति टिप्पणी गर्दै थापाले संसदमा सधैं प्रतिष्पर्धामा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदा विश्वमै सकारात्मक सन्देश गएको जिकिर गर्नुभयो । उहाँले यसले राजनीतिक स्थिरता ल्याएको तथा देश र जनतामा आशाको सञ्चार गराएको दावी गर्दै टिआरसी विधेयक संसदबाट पास हुनु त्यसको प्रमाण भएको स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेस लोकतान्त्रिक शक्ति भएकोले ठुला दुई दल मिल्दैमा अधिनायकबाद नआउने दावी गर्दै उहाँले अन्य दललाई समेत समेटेर सरकार बनाउनु यसको उदाहरण भएको बताउनुभयो ।
निर्वाचन प्रणाली, समानुपातिक समावेशी लगायत संविधानका केही धारा संशोधन गर्नुपर्ने आवश्यकता औल्याउदै सांसद थापाले माओवादी केन्द्र, रास्वपा र नेकपा( एकीकृत समाजवादी) लगायतका दलसँग समेत सहकार्य गरेर सबैको अपनत्व हुनेगरी संविधान संशोधन हुने विश्वास दिलाउनुभयो ।
प्रेस सोसाइटी नेपालका अध्यक्ष उपेन्द्रराज केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे ‘शुभचिन्तक’ले जनप्रतिनिधिले समय समयमा सामाजिक परीक्षण गराउनुपर्नेमा जोड दिनुभयो ।