मध्यपुर थिमिमा थिमि भैलः प्याखँ शुरु

मध्यपुर थिमि, भदौ ६
मध्यपुर थिमिमा बुधवार रातीदेखी ऐतिहासिक एवम् धार्मिक महत्वको थिमि भैलः प्याखँ (नाच) प्रदर्शन शुरु भएको छ । गाईजात्राको भोलीपल्ट अर्थात भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार रात मध्यपुर थिमि क्षेत्रभर नचाईने यो प्याखँ यसवर्ष वडा नं. ५ तहाननीबाट निकालिएको हो ।
थिमि भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरव) एक, ज्यापुंगः एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एक जना गरी कुल पाँच जना देवीदेवता रहन्छ ।
यसवर्ष थिमि भैलः प्याखँमा कृशल प्रजापतिले ज्यापुंग, अशोक प्रजापतिले न्हापा भैलः, बालमुकुन्द प्रजापतिले लिपा भैलः, आयुष प्रजापतिले न्हापाँ दाँगी, साहिल प्रजापतिले लिपा दाँगीको भूमिका निर्वाह गरिहनुभएको छ ।
यस्तै थिमिका जिवित साँस्कृतिक धरोहर साँस्कृतिक र परम्परागत प्याखँ एवम् वाद्यवादन गुरु श्रीगोपाल प्रजापतिको नेतृत्वमा गुरुहरु कृष्ण बहादुर प्रजापति, बालकृष्ण प्रजापति, चन्द्र भक्त प्रजापति र प्रेम कृष्ण प्रजापति प्याखँमा गुरुको भूमिकामा रहनुभएको छ ।
त्यसैगरी बाद्यवादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादकहरु करिव ३ दर्जनको संख्यामा रहेका छन । यसका साथै प्याखँका कलाकारका सहयोगी समेत करिव ५० जनाको टोली भैल प्याखँमा सहभागी रहेको थिमि भैलः ताहननी व्यवस्थापन समितिका उपाध्यक्ष बलराम प्रजापतिले बताउनुभयो ।
तहाननी द्यः छें बाट राती करिव ९ बजे शुरु भएको थिमि भैलः प्याखँ कुकी इनाय गणेश, दिगु टोल, ईनाय टोल, दथुटोल, दतलय, मरुटोल, बालकुमारी पछाडी, बालकुमारी अगाडि, बालकुमारी भैलः द्यः अगाडि, दिगुटोलमा नचाईएको थियो ।
यसैगरी हात्तिमहाकाल, कुतिँचिवा, कुम्हाननी, नासननी, चपाचो द्यःछें, जलाँननी (हरिसिद्धी), चपाचो गणेश, गार्भा, थामद्यः, गुङ्गचिवा र अन्त्यमा पुनः तहाननी द्यःछेंमा भैलः नचाएपछि पहिलो दिनको भैलः प्याखँ सम्पन्न भएको थिमि भैलः प्याखँ व्यवस्थापन समिति तहाननीका उपाध्यक्ष बलराम प्रजापतिले जानकारी दिनुभयो । एवम् तरिकाले चार रात यो प्याखँ नचाईने उहाँले बताउनुभयो ।
तहाननीबाट भैलः प्याखँ निकालिएको यो दुई दशकपछि पहिलो हो । यसअघि २१ वर्ष अघि तहाननीबाट थिमि भैलः प्याखँ निकालिएको थियो ।


मध्यपुर थिमि क्षेत्रमा दुई वटा भैलः प्याखँ प्रचलन रहेको छ । एक लाय्कू भैलः र दोस्रो थिमिका प्रजापतिहरुले सञ्चालन गर्ने थिमि भैलः प्याखँ ।
प्रचलित संस्कृति अनुसार लाय्कू भैलः सञ्चालन हुने भएपछि प्रजापतिहरुले भैलः प्याखँ निकाल्दैन । त्यस्तै लाय्कु भैलः ननिकाल्ने भए थिमि भैलः प्रदर्शन गर्ने परम्परा रहेको छ । सोही अनुसार यसवर्ष लाय्कु भैलः प्रदर्शन नहुने भएपछि ताहननीबाट थिमि भैलः प्रदर्शन गर्न लागिएको हो ।
भैलः प्याखँ कहिलेदेखी प्रचलनमा आएको हो यकिन तथ्य हालसम्म फेला परेको छैन । यद्यपी विभिन्न कथन किंवदन्तीको आधारमा यो प्याखँ मल्लकालिन समयमा शुरु भएको मान्न सकिने सँस्कृतिकर्मीहरु बताउँछन ।
प्रचलित कथन अनुसार थिमि क्षेत्रका जनतालाई भूत, प्रेत र पिशाचहरूले समय समयमा दुःख दिने गरेपछि त्यसको समाधान खोज्न तान्त्रिक, शास्त्रीय र विद्वानहरूको सल्लाहमा तन्त्र साधनाद्वारा भैरवनाथ जगाई टोल टोलमा नचाइए भूतप्रेतले दुःख नदिने निष्कर्ष आएपछि सोही अनुसार भैलः प्याखँ सञ्चालनमा विश्वास गरिएको छ ।