गठ्ठाघर दुर्घटनामा स्कुटर नै नदेखेको ट्रक चालकको बयान, ट्राफिकको कमजोरी नभएको छानविन समितिको निष्कर्ष

भक्तपुर, भदौ ५
गत साउन ३१ गते बिहिवार दिउँसो मध्यपुर थिमि–३, गठ्ठाघर चोकमा स्कुटर चालकको ज्यान जाने गरी भएको दुर्घटनामा ट्रक चालकले स्कुटरलाई नदेखेको बयान दिएका छन ।
प्रहरी अनुसन्धानको क्रममा ट्रक चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठले आफूले स्कुटर नदेखेको र केही पछि मात्रै चक्काले केही वस्तु घिसारे जस्तो लागेपछि लुकिङ ग्लास हेर्दा दुर्घटना भएको थाहा पाएको बयान दिएको स्रोतले जानकारी दिएको छ ।
उनले लुकिङ ग्लास हेर्दा दुर्घटना भएको थाहा भएपछि ट्रक रोकेको र डरले ट्रक छाडेर भागेको बयानमा उल्लेख गरेका छन ।
काठमाण्डौंबाट भक्तपुरतर्फ आउँदैं गरेको ना ६ ख २१७३ नम्बरका ट्रकले गत बिहिवार दिउँसो करिव २ बजे बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाण्डौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।
ट्राफिक प्रहरीले सवारी गति मापन जाँच गरिरहेको अवस्थामा चेक प्वाईन्ट नजिक भएको दुर्घटना ट्राफिक प्रहरीको लापरबाही कारण भएको भन्दै आम सर्वसाधरणले सामाजिक सञ्जालमार्फत आरोप लगाएका थिए । दुर्घटनास्थल नजिक रहेका ट्राफिक प्रहरी माथि आक्रमण समेत भएको थियो ।


सो घटनाको सत्यतथ्य छानविन गर्न प्रहरीले काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्षक (एसपी) प्रजित केसीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
सो समितिले मंगलवार प्रतिवेदन बुझाउँदैं ट्रक चालकले स्कुटर नै नदेखेको निष्कर्ष निकालेको छ । समितिले विभिन्न व्यक्तिसँगको सोधपुछ, सीसी क्यामराको फुटेजलगायतको अध्ययन र ट्रक चालकको बयानका आधारमा सो निष्कर्ष निकालेको हो ।
समितिले दुर्घटना हुँदा ट्रक भन्दा पछाडि आइरहेको अर्को गाडीका चालकसँग पनि सोधपुछ गरेको थियो । उनले पनि दुर्घटना भएपछि मात्र स्कुटर देखेको बयान दिएका छन् ।
समितिले सो दुर्घटनामा ट्राफिक प्रहरीको कमजोरी पनि नभएको निष्कर्ष निकालेको प्रहरी स्रोतले जानकारी दिए । समितिले विभिन्न व्यक्तिसँग गरेको सोधपुछ र सीसीटीभी फुटेजलाई आधार मान्दै ट्राफिकको कमजोरी नरहेको राय दिएको छ ।
दुर्घटनास्थल नजिकको सीसी टिभी क्यामराको फुटेजमा दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक प्रहरी ड्युटी गरिरहेको देखिन्छ । सोही क्रममा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर देब्रेतर्फ उछिटेको र चालक ट्रकको चक्का मुनी छिरेको देखिन्छ । दुर्घटनामा ट्रकले स्कुटर चालकलाई केही मिटर घिसार्दै लगेपछि ट्रक रोकिएको र त्यसपछि ट्रकबाट एक व्यक्ति ओर्लेको फुटेजमा देखिन्छ ।
दुर्घटना लगत्तै त्यहाँ उभिएका ३ जना मध्ये एक जना ट्राफिक प्रहरी दौडिंदै ट्रकतर्फ अघि बढेको देखिन्छ । एक ट्राफिक प्रहरी दौडिएपछि अरु दुई ट्राफिक पनि पछि पछि गएका हुन्छन् । जसकारण यो दुर्घटनामा ट्राफिकको कुनै गल्ती नरहेको एसपी केसीको समितिले औंल्याएको छ ।
सो घटनाको छानविनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि सत्य तथ्य अध्ययन समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको निर्णयले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो ।
एक साताको समयावधी तोकिएको सो समितिले पनि घटनाको विभिन्न कोणबाट अध्ययन भइरहेको जनाएको छ । समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरका नायव प्रहरी उपरीक्षक राजन कार्की, मृतकका आफन्त समेत पर्ने नागरिक समूदायको प्रतिनिधि तुलसीहरी कोइराला र यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय रोधरोधका ई. उत्तम बस्नेत रहनुभएको छ ।
सो समितिले आइतवारबाट काम शुरु गरेको र आगामी आइतवारसम्म प्रतिवेदन बुझाउने गरी काम गरिरहेको जनाएको छ ।