घिन्ताङघिसी नाच र विभिन्न झाँकीसहित भक्तपुरमा मनाईयो गाईजात्रा

भक्तपुर, भदौ ४
भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने परम्परागत गाईजात्रा पर्व आज (मंगलवार)बाट शुरु भएको छ । बिहान सबेरै तलेजु भवानीको तहामचा नगर परिक्रमा गराएसँगै भक्तपुरमा गाईजात्रा शुरु भएको हो ।
त्यसो त भक्तपुरको गाईजात्रा जनैपुर्णिमाको साँझ नै शुरु भएको मानिन्छ । जनैपुर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पुजा गरि दरबारस्क्वायरस्थित बहटोलबाट घिन्ताङघिसी नाच निकालेसँगै भक्तपुरमा औपचारिकरुपमा गाईजात्रा शुरु भएको मानिन्छ ।
भक्तपुरमा मनाईने गाईजात्रा अन्य स्थानको भन्दा पृथक र मौलिक शैलीको रहेको छ । यहाँ मृतकको सम्झनामा तहामचा निकाल्नुका साथै एकआपसमा लठ्ठी जुधाएर नाचिने घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गराईन्छ, जुन अत्यन्त मनमोहक हुन्छ ।


यससँगै यहाँ माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी प्याखं, भैल प्याखं, भालुचा प्याखं, रामायण, लुसीचा प्याखं, खिचा प्याखं लगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ । साथै विभिन्न हाँस्य व्यंग्यसहितको झाँकी पनि प्रदर्शन गरिन्छ ।
गाईजात्राको दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रामा सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ ।
भक्तपुरमा गाईजात्रा कृष्णाष्टमीसम्म बनाईन्छ । गाईजात्राको भोलीपल्टबाट प्रत्येक दिन साँझ विभिन्न संघ संगठन, खलः, पुचःहरुले घिन्ताङघिसी नाचसँगै हाँस्य व्यंग्यसहितको झाँकी पनि प्रदर्शन गरिन्छ ।
तस्विर स्रोत – विभिन्न ऐजेन्सी