सरकारी घिन्ताङघिसीसँगै भक्तपुरमा गाईजात्रा शुरु

फाइल तस्विर

भक्तपुर, भाद्र ३
भक्तपुरमा आठ रात नौ दिनसम्म मनाईने प्रसिद्ध गाईजात्राको औपचारिक शुरुवात सोमवार साँझबाट भएकोे छ । गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पुजा गरि दरबारस्क्वायर स्थित बहटोलबाट घिन्ताङघिसी नाच निकालेसँगै भक्तपुरमा औपचारिकरुपमा गाईजात्रा शुरु भएको हो ।
गाईजात्रा भाद्र कृष्ण पक्ष प्रतिपदाको दिन मनाईने भएपनि जनैपूर्णिमाको साँझ गुठी संस्थानले घिन्ताङघिसी नाच निकालेर भक्तपुरमा गाईजात्राको औपचारिक शुरुवात गर्ने परम्परा बमोजिम सोमवार साँझ घिन्ताङघिसी नाच निकालेको हो ।
वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाईने धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रा शुरु भएको जनाउ दिन गुठी संस्थानले बहटोलबाट घिन्ताङघिसी नाच निकाल्ने परम्परा रहेको छ ।
घिन्ताङघिसी नाच बहटोलबाट शुरु भई भक्तपुर नगरका दरवारस्क्वायर, बालाखु गणेश, चोछें, भुलाछें, महालक्ष्मी स्थान, थालछें, गछें, सुर्यमढी, दतात्रय, गोलमढी, सुकुलढोका, टौमढी, नासमना, बंशगोल, इटाछें र खौमा लगायत क्षेत्रको परिक्रमा गरी पुनः सुकुलढोकामा पुगेर समापन भएको हो ।
धा“ बाजा, तःबाजा, धिमाय् बाजाको संयुक्त तालमा नाचमा सहभागीहरुले हातमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाचिन्छ । कृष्णाअस्टमीको दिनसम्म मनाईने भक्तपुरको गाईजात्रामा प्रत्येक दिन साँझ विभिन्न टोलबाट घिन्ताङघिसी नाच सँगै विभिन्न व्याङग्यात्मक नाटक, विभिन्न साँस्कृतिक नाचहरु प्रदर्शन गर्ने परम्परा रहेको छ ।