नगदेशमा महाकाली प्याखँ प्रदर्शन हुने

भक्तपुर, भदौ ३
भक्तपुरको मध्यपुर थिमि वडा नं. ७ नगदेशमा ५ वर्षपछि परम्परागत एवम् मौलिक महाकाली प्याखँ (नाच) प्रदर्शन हुने भएको छ । विविध कारणले रोकिएको प्याखँ यसवर्ष युवा एवम् प्याखँका पुर्व कलाकारहरुको सक्रियतामा पुनः प्रदर्शन हुन लागेको हो ।
महाकाली प्याखँमा मुल रुपमा १६ जना देवीदेवता रहन्छन । यस प्याखँमा महाकाली १, महादेवी १, महालक्ष्मी १, देवी १, वेताल ४, भुत भैरव २, कवाँ २, ख्याक २, माक २, सिंह १ गरी १६ जना देवी देवताहरु रहन्छन । यसका साथै प्याखँका गुरुहरु, बाजा बजाउने वाद्यवादक, नाच्ने कलाकारहरुका सहयोगीहरु समेत गरी महाकाली प्याखँमा प्रत्यक्ष अप्रत्यक्षमा रुपमा ५० भन्दा बढी जनशक्ति आवश्यक रहन्छ ।


यसवर्ष महाकालीको भूमिकामा प्रनिश ज्यापु, महादेवीमा अविरल कोजु, महालक्ष्मीमा बिक्की डंगोल, सिंहमा रोनित तको, बेतालमा अविन कालु, शैलेश ज्यापु, रोनप बाडे र विप्लप साझ्या, भूत भैरवमा निरोज बाडे र दिपेश बाडे, कवाँमा एरिन अवाल र क्षितिज बाडे, ख्याकमा रोजिन सलाजू र रिदेश तको, माकमा अभियान तको र अविक अवाल रहेका छन ।
यस्तै वाद्यवाधन समूह समेत गरी ५० जना भन्दा बढी कलाकारहरुको सक्रिय सहभागिता रहने यो प्याखँ दैनिक करिब चार घन्टाका दरले नगदेशको विभिन्न टोलमा प्रदर्शन गरिन्छ ।


महाकालीमा मुहाली बाजा, नायखिँ, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायतको बाजाको संयुक्त तालमा प्याखँ प्रस्तुत गरिन्छ । महाकालीमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक फरक समूह तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देवीको एकल नाच पनि प्रदर्शनी हुनेछ । नाचमा एकताल, दुताल, चौताल, परताल, ब्रह्मताल, अष्ट्राताल, बौतय्गु ताल, दैत्यसम्हार तालमा पूरै कलाकार सहभागी गराएर मृदङ, मूहाली, ताः, बौ, धा, भूस्या, नायखी, छुस्याय्लगायतका बाजा बजाएर महाकालीको एकल नाच, महालक्ष्मीको एकल नाच, कुमारीको एकल नाच प्रदर्शन गरिन्छ ।
यस वर्ष महाकाली नाच व्यवस्थापन समितिले भाद्र ५ गते साँझ साढे ६ बजेदेखी नगदेशका लाछी (गणेश मन्दिर अगाडि), दोस्रो दिन भाद्र ६ गते साँझ ६ बजे नगदशेको वाहाननी, तेस्रो दिन भाद्र ७ गते छ्वास त्वाः र अन्तिम दिन भाद्र ८ गते साँझ ६ बजेदेखी नगदेशको सम्पूर्ण क्षेत्रमा प्रदर्शन गर्नुका साथै मोसी र सगुन संकलन गरिने जानकारी दिएको छ ।


थिमि क्षेत्रमा महाकाली, भैलः प्याखँ जस्ता धार्मिक आस्थासँग जोडिएका प्याखँहरु कहिलेदेखी प्रदर्शनमा आएको भन्ने एकिन प्रमाण फेला नपरेपनि यस्ता प्याखँ सुवर्ण मल्लको पालामा प्रलचनमा आएको जनश्रुती पाईन्छ ।
मध्यपुर थिमिलाई भुतप्रेत, पिचाश र दानवी शक्तिबाट जोगाउन यस्ता परम्परागत धार्मिक आस्था बोकेको महाकाली, भैलः (भैरव), लाय्कु भैलः प्याखँ प्रत्येक वर्षको परम्परा शुरु भएको जनश्रुति रहेको छ । थिमि क्षेत्रका जनतालाई भूत, प्रेत र पिशाचहरूले समय समयमा दुःख दिने गरेपछि त्यसको समाधान खोज्न तान्त्रिक, शास्त्रीय र विद्वानहरूको सल्लाहमा तन्त्र साधनाद्वारा भैरवनाथ जगाई टोल टोलमा नचाइए भूतप्रेतले दुःख नदिने निष्कर्ष आएपछि सोही अनुसार भैरव नाच सञ्चालनमा आएको किम्वदन्ती रहेको छ ।