भक्तपुर, भदौ २
घरेलु उद्योग प्रवद्र्धनका लागि सबै एकजुट हुनुपर्ने सरोकारवालाहरूले बताएका छन् । उनीहरुले नेपालको मौलिक उत्पादनको संरक्षणका लागि पनि घरेलु उद्योगको प्रवद्र्धनको आवश्यक रहेको औंल्याएका छन ।
भादगाउँले कालो टोपी उद्योग संघको शनिवार आयोजित प्रारम्भिक साधारण सभामा सहभागीहरुले रोजगारीको अवसर सिर्जना गरी आर्थिक समृद्धिका लागि पनि घरेलु उद्योगको प्रवद्र्धन आवश्यक रहेको बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग, हस्तकलालगायतका उद्योगहरूले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउँदै यसको प्रवद्र्धनमा सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले नगरपालिकाले यहाँका मौलिक तथा परम्परागत सीप तथा कलाहरू संरक्षणमा विशेष पहल गर्दै आइरहेको बताउँदै भक्तपुर भ्रमण गर्ने स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाहरूलाई भादगाउँले टोपी, जुः जुः धौ, मौलिक थैली र मयुरको झ्याल उपहार स्वरूप प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भादगाउँले टोपीको शानलाई अझ उच्च राख्न व्यवसायीहरूले यसको गुणस्तरका साथै बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भक्तपुरका मौलिक वस्तुहरूको ट्रेडमार्क कायम गर्न सके अझ फलदायी हुने बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी मैयाँ धाबन्जाले भादगाउँले टोपी प्रयोगकर्ताहरू कम हुँदै जाँदा व्यवसायीहरू निराश देखिएको बताउँदै भक्तपुरको मौलिक टोपी प्रयोग गर्न सबैलाई उत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भादगाउँले कालो टोपी उद्योगका संघका अध्यक्ष सिताराम श्रेष्ठले देशकै पहिचान बोकेको भादगाउँले टोपीको प्रयोगलाई सरकारी कार्यालयका कर्मचारीहरूमा अनिवार्य गर्न सके यसको संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार विश्वराम दुवाल, भक्तपुर हस्तकला संघका अध्यक्ष शम्भु श्रेष्ठ, भक्तपुर रेडिमेड व्यापार संघका अध्यक्ष राजेन्द्रकुमार प्रजापतिलगायतले भादगाउँले टोपीको विविध पक्षको चर्चा गर्नुभएको थियो ।