भक्तपुरलाई स्वास्थ्य सेवाको हब बनाउन पहल गर्छु – बागमती प्रदेश स्वास्थ्य मन्त्री थापा

भक्तपुर, भदौ २
प्रेस चौतारी नेपालले शनिवार आयोजित बधाई तथा भेटघाट कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई स्वास्थ्य सेवाको हब बनाउन पहल गर्ने बताउनुभएको छ ।
मन्त्री थापाले जिल्लामा रहेका सरकारी, नीजि र नगरपालिकाले सञ्चालन गरेका सबै अस्पतालबीच सहकार्य र समन्वयको वातावरण निर्माण गरेर एक अस्पताललाई एक विशेषज्ञ अस्पतालको विकास गरी भक्तपुरमा सबै रोगको उपचार सम्भव गरी स्वास्थ्य हब बनाउन पहल गर्ने बताउनुभएको हो । उहाँले भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सके उपत्यकाको पुर्वी जिल्लाहरुबाट बिरामी काठमाण्डौं जानुपर्ने बाध्यता नरहने बताउनुभयो ।
उहाँले बागमती प्रदेश सरकारले अस्पतालका सेवाहरुको मूल्यसुची तोक्ने गृहकार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले प्रदेशको स्वास्थ्य विधेयक पारित भएसँगै केही सेवाहरुको मूल्यसुची तोक्न सकिने बताउनुभयो ।
उहाँले आफुले मन्त्रीको पदभार ग्रहण गरे लगत्तै क्यान्सर पिडितलाई प्रदेश सरकारले दिँदैं आएको ५० हजार रुपैंया अनुदानलाई एक लाख पुर्याउने निर्णय गरेको जानकारी दिँदैं सो निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयको स्विकृतीको लागि पठाएको र अर्थको स्विकृती भएसँगै मन्त्रीपरिषदको बैठकले पारित गरी कार्यान्वयन हुने बताउनुभयो ।
उहाँले भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने बताउनुभयो । “भक्तपुरमा रहेका तीन ठूला अस्पतालहरु भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रलाई एकिकृत गरी प्रतिष्ठान बनाउन आवश्यक पहल गर्नेछु,” उहाँले भन्नुभयो ।
उहाँले प्रतिष्ठान बनाउन सके नर्सिङका साथै एमविविएसको पढाई सञ्चालन गर्न सकिने र यसले आमनागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुरमा उपयुक्त जग्गाको व्यवस्था आयुर्वेद अस्पताल निर्माणको लागि समेत आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले पत्रकारहरु राज्यको चौंथो अंग भएको र पत्रकारहरुलाई आवश्यक सेवा सुविधा दिनु राज्यको पनि दायित्व भएको बताउँदैं बागमती प्रदेशका पत्रकारहरुलाई निःशुल्क उपचारको व्यवस्थाका लागि पनि आवश्यक पहल गर्ने बताउनुभयो ।
उहाँले स्वास्थ्य मन्त्रीको हैसियतले स्वास्थ्य क्षेत्रको मात्र नभई भक्तपुरको एक जनप्रतिनिधिको हैसियतले जिल्लाको अन्य क्षेत्रको समग्र विकास निर्माणका लागि समेत आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले हरेक विपद र कथिन परिस्थितीमा पनि सूचना संकलनका लागि अहोरात्र कटिनु पर्ने पत्रकारहरुको स्वास्थ्यलाई ध्यान दिई बागमती प्रदेशका १३ वटै जिल्लाका पत्रकारहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सुझाव दिनुभएको थियो ।
त्यसैगरी महासंघका उपाध्यक्ष सुन्दर सिल्पकारले भक्तपुर क्यान्सर अस्पताल सूर्यविनायक नगर अस्पतालको अवस्थाबारे ध्यानाकर्षण गराएका थिए । सचिव संजीप शुभचिन्तकले पूरा गर्न नसक्ने आस्वासन बाडेर अनावश्यक बोझ नबोक्न सुझाव दिनुभएको थियो । सदस्यद्वय हरिसुन्दर छुकां र संजीव दुलाल, स्वतन्त्र पत्रकार कृष्ण किसी, पत्रकार रत्न प्रजापति र सुनिता थापा लगायतले पनि विविध जिज्ञासा राख्नुभएको थियो ।
प्रेस चौतारी भक्तपुरका इन्चार्ज रमेश गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौतारीका अध्यक्ष एवम् महासंघका सहसचिव हेमराज ढकाल, पत्रकार महासंघ भक्तपुरकी उपाध्यक्ष लिला श्रेष्ठ, पूर्व अध्यक्ष पुष्करराज बुढाथोकी, केन्द्रीय परिषद सदस्य पेशल आचार्य त्यसैगरी चौतारीका केन्द्रीय सदस्यहरु कविता अधिकारी, आरसी प्रजापति, भगवती थापा र पत्रकार बिरेन चम्लागाई लगायतको उपस्थिति रहेको थियो ।