भक्तपुर, साउन ३१
भक्तपुरको मध्यपुर थिमि ३, गठ्ठाघर चोकमा मालबहाक ट्रकको ठक्करले स्कुटर मा चालकको मृत्यु भएको छ । काठमाण्डौंबाट भक्तपुरतर्फ आउँदैं गरेको ना ६ ख २१७३ नम्बरको १४ चक्के ट्रकको ठक्करले सोही दिशामा आउँदैं गरेको बा ३९ प ८९४४ नम्बरको स्कुटर चालक महिलाको मृत्यु भएको हो । मृतकको हालसम्म पहिचान खुल्न नसकेको प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरिक्षक प्रेम सागर केसीले बताउनुभयो ।
यसअघि केही सञ्चारमाध्यममा मृतक दोलखाको मेलुङ–४ घर भई हाल काठमाडौँको बागबजार बस्ने २३ वर्षकी सुष्मा नेपाली भनी प्रकाशित समाचार सत्य नभएको जानकारी दिँदैं गलत सूचना दिएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
घटनापछि फरार रहेका ट्रक चालक सर्लाही मलंगवा नगरपालिका वडा नं. २ बस्ने ३२ वर्षिय सतेन्द्र श्रेष्ठलाई प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजन कार्कीले जानकारी दिनुभयो । प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन नियन्त्रण लिएको कार्कीले बताउनुभयो ।
गठ्ठाघर चोकमा ट्राफिकले सवारी जाँच गरिरहेको अवस्थामा दुर्घटना भएको हो । ट्राफिक जाँच पार गरेर गएको स्कुटरलाई ट्रकले ठक्कर दिई चालकलाई कही मिटर परसम्म घिसारेर लगेको थियो । जसले गर्दा मृतकको शब क्षतविक्षत बनेको थियो ।
सर्वसाधारणको अवरोधले ट्रक मुनीबाट करिव ३ घण्टापछि मात्र शव निकालेको थियो । शवको मोष्टमार्तमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
घटना लगत्तै सर्वसाधरणले ट्रक माथि ढुंगामुढा गरी आगजनीको प्रयास गरेका थिए । प्रहरीले समयमा नियन्त्रण लिँदा ट्रकमा आगजनी भने हुन पाएन । आक्रोशित भिडले सडकमा प्रदर्शन गर्दा अरनिको राजमार्गको कोटेश्वर सल्लाघारी खण्ड करिव ३ घण्टा अवरुद्ध भएको थियो ।
प्रहरीले भक्तपुर जाने सवारी साधन जडिबुटीबाट पेप्सीकोला हुँदैं पुरानो बाटोबाट र काठमाण्डौं जाने सवारी साधन सल्लाघारीबाट पुरानो बाटोबाट पेप्सीकोला हुँदैं पठाएको थियो । सवारी चापले उक्त सडक पनि जामले ठप्प भएको थियो ।
ट्रकको मुनीबाट शव निकालेपछि प्रहरीले २२ राउण्ड अश्रुग्यास हानेर स्थितिलाई नियन्त्रणमा लिई अवरुद्ध सडक खुलाएको थियो । आक्रोशित भिडले नजिकैको ट्राफिक आइल्याण्डमा पनि क्षति पु¥याएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक बेद बिष्टको कमाण्डमा ११८ जनाको प्रहरी टोली र काठमाण्डौंका विभिन्न प्रहरी कार्यालयबाट थप १३० जना प्रहरी परिचालन भएको कार्कीले बताउनुभयो ।
घटनास्थलमा ढुंगामुढा हुँदा प्रहरी उपरिक्षक बिष्ट, जिल्ला प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुरे राउत, मध्यपुर थिमि ३, गठ्ठाघर बस्ने सौगात सापकोटा समेत सामान्य घाइते भएकोमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको कार्कीले बताउनुभयो ।