सापारुलाई भक्तपुर नगरको तार व्यवस्थित गर्ने

भक्तपुर, साउन २८
भक्तपुरमा मनाईने प्रसिद्ध सापारु (गाईजात्रा)लाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरू व्यवस्थित गर्ने भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमवार बसेको सरोकारवालाहरुको बैठकले सापारु पर्वलाई व्यवस्थित र मर्र्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने र गाईजात्रा प्रदक्षिणा मार्ग र महत्वपूर्ण स्थानहरूमा टेलिकम, बिजुली बत्ती र इन्टरनेटका तार व्यवस्थापन गर्न भदौ १ गतेभित्र आ–आफ्नो तारहरू व्यवस्थापन गर्ने र तोकिएको समयभित्र तारहरू नहटाएमा नगरपालिका स्वयम्ले हटाउने निर्णय गरेको हो ।
बैठकले भक्तपुर नगरमा अस्तव्यस्त राखिएका तारहरूको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन कार्य गर्न वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा जनप्रतिनिधि, भैरवनाथ जात्रा व्यवस्थापन समिति, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, जिल्ला प्रशासन कार्यालय, नगर प्रहरी, केबल नेटवर्क तथा वडा निरीक्षकसहितको समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले सापारुको उपलक्ष्यमा विगत वर्षहरुमा झैं यस वर्ष पनि परम्परागत र आधुनिक सांस्कृतिक विधाहरुको संरक्षण र सम्बद्र्धन गर्न सांस्कृतिक प्रस्तुतीहरुको मूल्यांकन गरी पुरस्कृत गर्ने निर्णय गरेको बताउनुभयो ।
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँलगायतको उपस्थिति रहेको थियो ।