दशौं राष्ट्रिय खेलकुदको सय दिने ‘काउन्टडाउन’ शुरु, प्रस्तावित मस्कट, लोगो र गीत सार्वजनिक

भक्तपुर, साउन २७
कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको १०० दिने काउन्टडाउन शुरु भएको छ । साथै प्रतियोगिताको प्रस्तावित मस्कट, लोगो र गीत समेत सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सुर्खेतमा शनिवार विशेष कार्यक्रमको आयोजना गरेर दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्टडाउन शुरु गर्नुका साथै मस्कट र लोगो सार्वजनिक गरेको हो ।
दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा मंसिर २ देखि ९ गतेसम्म सञ्चालन गर्ने तयारी छ । सरकारले यसअघिनै मिति घोषणा गरेर प्रतियोगिताको तयारी अघि बढाएको थियो । प्रतियोगिता सञ्चालनका लागि सरकारले ६० करोड रुपैयाँ बजेट समेत चालू आर्थिक वर्षमा विनियोजन गरिसकेको छ ।
प्रतियोगिताको प्रस्तावित लोगोमा सातवटा रंगमा सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदी अंकित रहेको छ । सो लोगो राष्ट्रिय खेलकुद परिषद्लाई प्रस्तावको रुपमा पठाइएको छ । उक्त लोगोको रचयता भने विकास तमखु रहेका छन् ।
यस्तै कर्णालीले सार्वजनिक गरेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट भने कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा रहेको छ । सरोकारवाला सबैको सुझावमा रेडपाण्डालाई मस्कटको रुपमा राष्ट्रिय खेलकुद परिषद्लाई पठाइएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।
आयोजकले प्रतियोगिताका लागि बनाएको गीत समेत सार्वजनिक गरेको छ ।सार्वजनिक गरिएको गीतको शब्द क्षितिज समर्पण, सङ्गीत सन्तोष श्रेष्ठ र स्वर सन्तोष श्रेष्ठ, दुर्गा परियार, कृष्ण बस्याल र धनमाया रानाको रहेको छ । कर्णाली प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुदलाई केन्द्रित गरेर झण्डै ३ अर्ब रुपैयाँ बढी लगानीमा खेलकुद पूर्वाधारको कामलाई अन्तिम चरणमा पुर्याएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा खेलकुद पूर्वाधार निर्माणको कामलाई प्रदेश सरकारले अन्तिम चरणमा पुर्याएको हो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलले निर्धारित समयमा प्रतियोगिता आयोजना गर्न थोरै समय बाँकी रहेकाले काउन्टडाउन बनाएर तयारी अघि बढाईएको बताए ।
’खेल पूर्वाधारको हिसाबले कुनै समस्या छैन । सहभागी खेल र खेल स्थलको विषयमा चाँडो निर्णय लिनुपर्नेछ,’ सन्जेलले भने, ’सरकारले बजेट समेत सुनिश्चित गरिसकेको छ । कतै कार्यान्वनयमा जटिलता भए त्यसको समाधान गरेर निर्धारित समयमै खेल आयोजना गर्नपर्छ ।’
सदस्य सचिव सन्जेलका अनुसार परिषद्ले पहिलो प्रथामिकतामा राखेका पाँच काममध्ये पूर्वाधार, बसोबास, यातायात, स्वास्थ्य र सुरक्षा रहेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजना स्थल प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी कार्य असोजसम्म सम्पन्न गर्ने कार्य योजना तयार रहेको सन्जेलले बताए ।
प्रतियोगिताका लागि हुम्लामा हक्की खेल मैदान, रारामा कबड्डीको खेल मैदान र जुम्ला, कालीकोट, दैलेख र रुकुम पश्चिममा इनडोर कवर्डहल तयार गरिएको छ । जाजरकोटमा भने टेवल टेनिसको लागि खेल पूर्वाधार तयार रहे पनि केही मर्मत सुधार गर्नु पर्नेछ ।
दशौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशभित्र २४ खेल मात्र गर्न सम्भव रहेको सन्जेलले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेलहरु समावेश भएका थिए । तर, १०औंमा आयोजक कर्णाली प्रदेशले २४ वटा खेल खेलाउन सक्ने गरी खेल तालिका बनाएर पठाएको छ । सोही अनुसार बसोबासलाई व्यवस्थित गर्न उद्घाटन भन्दा ६ दिन अगाडिदेखि खेलहरू शुरु गर्ने गरी प्रस्तावित तालिका र खेल संख्या राष्ट्रिय खेलकुदलाई पठाइसकेको छ ।