विष्णुकुण्डोल क्षेत्रको ‘सम्पदा मार्ग’मा वृक्षारोपण

भक्तपुर, साउन २६
मध्यपुर थिमि–४ स्थित लाय्कू धिमे खलःले शनिवार विष्णुकुण्डोल क्षेत्रको ‘सम्पदा मार्ग’मा वृक्षारोपण गरेको छ । मध्यपुर थिमि नगरपालिकाको महत्वाकांक्षी योजना ‘सम्पदा मार्ग’को थप सौन्दर्यकरण र हरियाली प्रवद्र्धनका लागि सो वृक्षारोपण गरिएको हो ।
सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले खुल्ला क्षेत्र र वन क्षेत्रको संरक्षणका साथै प्रवद्र्धन गरी नागरिकलाई दिनहुँ बिहानी पैदलयात्रा गर्ने स्थानको विकास र बिस्तारको लागि ऐतिहासिक एवम् धार्मिक महत्वको सिद्धिकाली मन्दिरदेखी विष्णुवीर, राष्ट्रिय क्षयरोग केन्द्रसम्म सम्पदा मार्ग निर्माणको योजना अघि बढाएको बताउनुभयो ।


उहाँले पछिल्लो समय नगरमा बढ्दो जनघनत्व र शहरीकरणले हरियाली क्षेत्रमा कमी आइरहेकोले नगरपालिकाले खुल्ला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षण गरी हरियाली प्रवद्र्धनको योजना अघि बढाएको बताउनुभयो । उहाँले शहरी सौन्दर्यकरणका साथै हरियाली प्रवद्र्धन र स्वच्छ वातावरणका लागि नगरका मूख्य सडकको पेटीमा समेत वृक्षारोपणको कार्य अघि बढाएको जानकारी दिनुभयो ।
नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले वृक्षारोपण गर्ने तर त्यसको संरक्षण नगर्ने हो भने विरुवा बाँच्न नसक्ने भन्दै सबैले आफुले रोपेको विरुवाको संरक्षण आफैंले गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कपुर, कल्की, असारे फुललगायतका करिव ५० वटा बिरुवा रोपिएको लाय्कु धिमे खलःका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।