बुद्धिचालको बन्द प्रशिक्षण आजबाट शुरु, तयारीका लागि आइपुगे विदेशी प्रशिक्षक

भक्तपुर, साउन २३
नेपाल बुद्धिचाल महासंघले ४५ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली खेलाडीहरुलाई बुधवारदेखी बन्द प्रशिक्षणमा राख्ने भएको छ । ठमेल स्थित होटल सत्कारमा हुने बन्द प्रशिक्षणमा खेलाडीहरुको स्तरन्नोतीका लागि काजकिस्तानका ग्राण्ड मास्टर (जिएम) अजिब क्याक्ट काजिलेभ मंगलबार काठमाडौ आइपुगेका छन् ।
प्रशिक्षण भदौ ५ गतेसम्म १५ दिन विशेष प्रशिक्षण कार्यक्रम हुने महासंघले जनाएको छ । यस लगत्तै नेपाली चेस टोलिलाई थप १५ दिनको अनलाइन प्रशिक्षणको व्यवस्था गरिएको छ ।
काजिलेभलाई विहान नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई, महासचिव धरम बहादुर लामा, उपमहासचिव मोनालिसा खम्बू र कोषाध्यक्ष ताराबहादुर रानाभाटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
विश्व भरका एक सय १९१ राष्ट्रहरुको सहभागीता रहने चेस ओलम्पियाडमा नेपाली पुरुष टोलीले समूह डि मा रहेर अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी जनाउने छन् । गत बैशाखमा सम्पन्न २४ औं नेसनल चेस च्याम्पियनसीप तथा ओलम्पियाड छनौटमा उत्कृष्ट खेलाडी झापाका नेपाल च्याम्पियन २०१९ रेटड राजन सुवेदी, २००५ रेटेड सि एम शुश्रुत दाहाल, काभ्रेका फिडे मास्टर २०९० रेटेड क्षितिज भण्डारी, रौतहटका २०३९ रेटेड रुपेश जैशवाल र नेपाली उच्च वरियता खेलाडी सि एम २२८२ रेटेड विवेक थिङ खुल्ला तर्फको टोलीमा छन ।
त्यसैगरी महिला नेसनल च्याम्पियनसिपमा उत्कृष्ट भएका पाँच खेलाडी मध्ये काठमाण्डौकी १७०८ रेटेड सिन्दिरा जोशी, झापाकी १७४६ रेटेड कृतिसारा अधिकारी, कास्कीकी १६८४ रेटेड पूजा भण्डारी, मोरङकी १६७८ रेटेड शान्ति धिमाल र काठमाण्डौकी युवा १६ राष्ट्रिय च्याम्पियन १६४० रेटेड रिया श्रेष्ठले बन्द प्रशिक्षणमा रहनेछन ।
विश्व बुद्धिचाल महासंघको निमन्त्रणामा हंगेरी टोलीको नेतृत्व गर्दै चिफ डेलिगेटका रुपमा महासंघका अध्यक्ष हेराकाजी महर्जन र फिडे डेलिगेटका रुपमा महासचिव धरम बहादुर लामा बुढापेष्ट जाने भएका छन् । डेलिगेट्सले नेपालमा बुद्धिचाल खेलको बृहत्तर बिकासका लागि महत्वपूर्ण भेटघाट गर्नेछन् ।
चेस खेल महाकुम्भको रुपमा रहेको उक्त ४५ औं हंगेरी चेस ओलम्पियाडमा पुरुषतर्फ संयुक्त राज्य अमेरिकालाई पहिलो वरियता प्रदान गरिएको छ । प्रतिस्पर्धामा भारतीय टोली दोश्रो, चीन तेस्रो, उज्बेकिस्तान चौथो र नेदरल्याण्डलाई पाँचौ वरियता प्रदान गरिएको छ ।
त्यस्तै महिला तर्फ जर्जियालाई शिर्ष वरियता प्रदान गरिएको छ भने भारत दोश्रो स्थान, पोल्याण्ड तेस्रो, चीन चौथो र अजरबैजानलाई पाँचौं वरियता प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पुरुष टिमले ११५ औं वरियता र महिला टिम ११७ औं स्थानमा रहेर खेलको शुरुआत गर्नेछन् । नेपालले पहिलोपटक ओलम्पियाडमा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक व्यवस्था गरि ग्रायण्ड मास्टर अजिब क्याक्ट काजिलेभलाई टिमसँगै हंगेरी लग्ने भएको छ । यसपटक नेपालले दुवै विधामा पदकको लक्ष्य राखेको छ ।
४५ औं चेस ओलम्पियाड हंगेरीको बुढापेष्टमा सेप्टेम्बर ९ देखी २३ तारिखसम्म हुनेछ । सो प्रतियोगिताका लागि नेपाल बुद्धिचाल महासंघले पुरुषतर्फ कोषाध्यक्ष तारा बहादुर रानाभाट र महिलातर्फ केन्द्रीय सदस्य राजु ताम्राकारको नेतृत्वमा दुई टोलीको सहभागीता गराउने निश्चित गरेको छ ।