इरानलाई हराउँदैं नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल प्रवेश

भक्तपुर, साउन २२
काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा मंगलवार सम्पन्न सेमिफाइनलमा नेपाल ३–० को सोझो सेटमा इरानलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराएको हो ।
नेपालले उपाधिका लागि दक्षिण एसियन जाइन्ट भारतको सामना गर्नेछ । भारतले आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
नेपाल यसअघि लिग चरणमा इरानसँग पाराजित भएको थियो । उक्त हारको बदला लिँदैं फाइनलमा पुग्ने सोचमा रहेको नेपालले शुरूवात राम्रो गर्यो । नेपाली टिमको आत्मविश्वासी प्रदर्शनमा पहिलो सेटमा इरानको युवा टोलीलाई २५–२१ ले हरायो ।
पहिलो सेटको सुरुमा ५–१ ले पछि परेको नेपालले लगातार ४ अंक जोड्दै ६–५ को अवस्थामा अघि बढ्यो । त्यसपछि नेपालले लगातार अंक जोड्दै १६–१० को अवस्थामा पुग्यो । त्यसपछि एक समय २०–२२ मा पुगिसकेको नेपालले खेलमा पछि नपरी २५–२१ ले पहिलो सेट जित्यो ।
दोस्रो सेट नाटकीय बन्यो । दोस्रो सेटको सुरुवातमा २–० को अग्रता इरानले बनाएको थियो । त्यसपछि नेपाल ६–४, १०–५ हुँदै अग्रता लिँदै गइरहेको थियो । नेपालले एक समय बनाएको ६ अंकको अग्रता बनाएको थियो ।


नेपालले केही सामान्य गल्ती गर्दा इरान खेलमा फर्कियो र २०–२० को अवस्थामा पुग्यो । त्यसपछि खेलमा इरानले २४–२१ को अग्रता बनायो । तर संगठित प्रदर्शन नेपालले लगातार ३ अंक जोडेर खेललाई २४–२४ मा पुर्यायो । त्यसपछि दुबै टिमले पालैपालो अंक जोड्यो र अन्तमा नेपालले लगातार २ अंक जोड्दै २८–२६ ले दोस्रो सेट जित्यो ।
तेस्रो सेटको सुरूवातमा प्रतिस्पर्धात्मक बन्यो । एक समय इरानले १०–७ को अग्रता बनाएको थियो । नेपालले खेलमा फर्कदै १५–१५ बनायो । त्यसपछि नेपालले इरानलाई कुनै मौका नदिई अग्रता लिँदै खेललाई २३–१९ को अवस्थामा पु¥यायो । अन्तमा यो सेट नेपालले २५–२० ले जित्दै फाइनल प्रवेश ग¥यो ।
नेपाल लिग चरणमा दोस्रो र इरान तेस्रो हुँदैं सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले बुधवार बलियो प्रतिद्वन्द्वी भारतसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले जारी प्रतियोगिताको लिग चरणको खेलमा भारतलाई प्रतिष्पर्धात्मक खेलमा ३–२ सेटले हराएको थियो । फाइनल खेल बुधवार साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ । त्यसअघि दिउँसो २ बजे इरान र श्रीलंकाबीच तेस्रो स्थानको लागि प्रतिष्पर्धा हुनेछ ।