बालकुमारी सहकारीको २५ औं स्थापना दिवसमा साताव्यापी कार्यक्रम आयोजना हुने

भक्तपुर, साउन २२
मध्यपुर थिमि–४, शंखधरचोकस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.ले स्थापनाको रजत महोत्सवमा साताव्यापी कार्यक्रम आयोजना गरी मनाउने भएको छ । वि. सं. २०५७ सालमा स्थापना भएको बालकुमारी सहकारीले यही भदौ २७ गतेदेखी साताव्यापी कार्यक्रम आयोजना गरी २५ औं स्थापना दिवसका साथै रजत महोत्सव मनाउन लागेको हो ।
संस्थाले मंगलवार पत्रकार सम्मेलन गर्दै २५ औं स्थापना दिवस तथा रजत महोत्सवको लोगो समेत सार्वजनिक गरेको छ । साताव्यापी रजत महोत्सव अन्तर्गत भाद्र २७ गते बिहिवार वित्तिय साक्षरता र सदस्य बृद्धि कार्यक्रम आयोजना गरिने सहकारीका सचिव पृथ्वीराम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार भाद्र २८ गते शुक्रवार भक्तपुर जिल्ला व्यापी चित्रकला प्रतियोगिता, भाद्र २९ गते शनिवार थिमि शंखधरचोकमा खुल्ला रक्तदान कार्यक्रम, भाद्र ३० गते आइतवार बृद्धाश्रम तथा मानवविद्यागृहमा खाना÷खाजा खुवाउने वा भौतिक सामाग्री वितरण गरिने भएको छ ।
यसैगरी भाद्र ३१ गते सोमवार सरसफाई, असोज १ गते मंगलवार रजत वर्ष २०८१ प्रभातफेरी र अन्तिम दिन असोज २ गते बुधवार २५ औं स्थापना दिवस तथा रजत महोत्सव–२०८१ कार्यक्रम आयोजना गरिनेछ ।
२५ औं स्थापना दिवस तथा रजत महोत्सवका अवसरमा संस्थाले बालकुमारी रजत स्मारिका २०८१ प्रकाशन गरिने संस्थाका अध्यक्ष तुइलाल श्रेष्ठले बताउनुभयो । यसका लागि सचिव पृथ्वीराम श्रेष्ठको संयोजकत्वमा प्रकाशन समिति गठन गरिएको छ ।


यसैगरी एकापट्टी संस्थाको लोगो र अर्को पट्टी लक्ष्मी अंकित चाँदीको सिक्का (स्मारिका) प्रकाशन गर्ने, संस्थाका २८ जना संस्थापकहरुलाई चाँदीको तक्मा सहित दोसल्ला ओदाई सम्मान गर्ने र पूर्व सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिमा रही योगदान गरेका सञ्चालकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
२०५७ सालमा २८ जनाको संयुक्त पहलमा ७ लाख पुँजीबाट स्थापना गरिएको बालकुमारी सहकारीको गत असार मसान्तसम्म १३ करोड ७० लाख ९७ हजार ८ सय शेयर पुँजी, १ अर्ब ७८ करोड ५८ लाख ८४ हजार ६३० रुपैंया वचत रहेको छ ।
यस्तै ऋण लगानी १ अर्ब ३६ करोड ७६ लाख ५७ हजार ४१५ रुपैंया, जगेडा कोष तथा अन्य कोष ८ करोड ४९ लाख ८८ हजार ८१९ रुपैंया, तरलता ६१ करोड ४८ लाख ८७ हजार ८३८ रुपैंया रहेको छ ।
बालकुमारी सहकारीले सहकारी अभियानमा पु¥याएको योगदानको कदर गरी २०६७ सालमा डिभिजन सहकारी कार्यालय भक्तपुरले जिल्लाको उत्कृष्ट सहकारी पुरस्कार, राष्ट्रिय सहकारी बैंकले २०७३ सालमा काठमाण्डौं उपत्यकाका सहकारी मध्ये उत्कृष्ट क्षेत्रीय सहकारी, भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि.ले सहकारी दिवसको अवसरमा आयोजित प्रभातफेरीमा निरन्तर र उत्कृष्ट सहभागिता पुरस्कार, निरन्तर रक्तदान कार्याक्रम आयोजना गरे वापत नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले २०७६ र २०८१ मा सम्मान गरेको थियो ।