भक्तपुरको सुरक्षा, शिक्षा र स्वास्थ्यसहित ११ कार्यालयको कमान सम्हाल्दै महिला

भक्तपुर, साउन २०
भक्तपुरको शान्ति सुरक्षादेखी शिक्षा, स्वास्थ्यलगायत विभिन्न ११ सरकारी कार्यालयको कमान महिलाले सम्हालेका छन । जिल्लामा रहेका ५५ वटा विभिन्न सरकारी कार्यालय र आयोजनाहरु मध्ये १० कार्यालय र नेपाल प्रहरीको जगाती वृत्तगरी भक्तपुरका ११ कार्यालयको कमान महिलाले सम्हाल्दै आएको हो ।
महिलाहरुलाई अहिलेसम्म पनि दोश्रो दर्जाको रुपमा हेरिने चलन हट्न नसकेको अवस्थामा भक्तपुरमा रहेका करिव एक दर्जन सरकारी कार्यालयहरु महिलाहरुले नै नेतृत्व गरिरहेका छन् । भक्तपुर अहिलेसम्मकै सवैभन्दा बढी महिला कार्यालय प्रमुखहरु रहेको जिल्ला बनेको छ ।
भक्तपुरको जिल्ला प्रशासन कार्यालयको कमान प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले सम्हाल्दै आउनुभएको छ । वि. सं. २०८० भदौमा भक्तपुरको प्रजिअको जिम्मेवारी सम्हालेका श्रेष्ठले जिल्लाको समग्र शान्ति सुरक्षाका साथै स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रको नेतृत्व गर्दै आउनुभएको छ ।
भक्तपुर आउनुअघि श्रेष्ठ बागलुङको प्रजिअ हुनुहुन्थ्यो । श्रेष्ठअघि खगेन्द्र प्रसाद रिजाल भक्तपुरका प्रजिअ हुनुहुन्थ्यो भने रिजाल अघि रुद्रादेवी शर्मा प्रजिअ हुनुहुन्थ्यो । २०७९ को स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका शर्मा गृहमन्त्रालय सरुवा भएर जानुभयो । शर्मा गृहमन्त्रालयबाट काभ्रेको प्रजिअ हुँदैं अहिले बर्दियाको प्रजिअको जिम्मेवारीमा हुनुहुन्छ । शर्मा अघि प्रेमप्रसाद भट्टराई र त्यसअघि हुमकला पाण्डे भक्तपुरको प्रजिअ हुनुहुन्थ्यो ।
डा. सुमित्रा गौतमले भक्तपुर अस्पतालको कमान सम्हाल्दै आउनुभएको छ । तेस्रो पटक भक्तपुर अस्पताल प्रमुखको रुपमा कार्यरत डा. गौतमले रिफरल अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन सफल हुनुभएको छ ।


भक्तपुरमा अन्य कार्यालयहरुमा शिक्षा विकास तथा समन्वय इकाईमा कमला ज्ञवाली, स्मारक संरक्षण दरवार हेरचाह कार्यालयमा अरुणा नकर्मी, राष्ट्रिय कला संग्रहालयमा जयन्ती श्रेष्ठ प्रधान, जिल्ला हुलाक कार्यालयमा सिता साम्बा, गुठी संस्थान कार्यालयमा खिमा वली, भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा मेलिना चित्रकार, व्यवसायिक ग्रेनेज केन्द्रमा निमित्त प्रमुख सुलोचना श्रेष्ठ, जनस्वास्थ्य कार्यालयमा अस्मिता ओझा र प्रहरी वृत्त जगातीमा प्रहरी नायव उपरिक्षक दिप्ती कार्की कार्यालय प्रमुख छन ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको समन्वयमा आइतवार महिला कार्यालय प्रमुख र पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरी महिला कार्यालय प्रमुखहरुको अनुभव साटासाट गर्ने अवसर प्रदान ग¥यो ।
कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरुले आफुहरुले महिला भएकै कारण कतिपय काम सहज ढंगले सम्पन्न गर्ने वातावरण बनेपनि कतिपय अवस्थामा कडा चुनौती र दवाब झेल्नु परेको अनुभव सुनाउनुभयो । उहाँहरुले कार्यस्थलमा कर्मचारीको सहयोगका साथै स्थानीयको पनि सहयोग हुने गरेको उल्लेख गर्दै केही अवसरमा नमूना योग्य र उत्कृष्ट कार्य गरेको जानकारी समेत दिनुभयो ।


कार्यक्रममा महिला कार्यालय प्रमुख हुँदा सेवाग्राहीको पहुँच कार्यालय प्रमुखसम्म पुग्ने गरेको अनुभव प्रजिअ श्रेष्ठले सुनाउनुभयो । उहाँले कार्यालय प्रमुख वा हाकिम भन्ने बित्तिकै पुरुषको चित्रण हुने गरेकोमा पछिल्लो समय महिला पनि कार्यालय प्रमुख हुन्छन भन्ने तथ्य स्थापित भएको बताउनुभयो ।
उहाँले महिलाहरुले पनि उत्कृष्ट सेवा प्रवाह गर्न सक्छन र सेवाग्रहीलाई सुन्तुष्टी दिनुका साथै राज्यको नीति निर्देशन अनुसार उत्कृष्ट नतिजा दिन सक्छन भन्ने उदाहरण अहिले भक्तपुर भएको बताउनुभयो । उहाँले महिलाहरुलाई अझ समाजको साथ सहयोगको खाँचो रहेको र त्यस्तो साथ सहयोग पाएको अवस्थामा अझ उत्कृष्ट नतिजा दिन सकिने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर अस्पतालका निर्देशक डा. सुमित्रा गौतमले भावुक हुँदैं जागिरे जीवनमा महिला भएकै कारण आइपरेका कठिनाई र चुनौतीहरुको बारेमा बेलिबिस्तार लगाउनुभयो । उहाँले महिला भएकै कारण आफुले जहाँ काम गर्ने अवसर प्राप्त गरे त्यहाँको अस्पताल र स्वास्थ्य चौकीलाई देशको उत्कृष्ट स्वास्थ्य केन्द्र बनाउन सफल भएको बताउनुभयो ।
“महिला भएका कारण जुन दृष्टिले हेर्ने हाम्रो समाज छ, सायद त्यसकै कारण मैले केही गरेर देखाउनुपर्छ भन्ने भावना पलायो । त्यही भावना र दृढ निश्चयले जहाँ काम गरें त्यहाँ उत्कृष्ट गरें र ती संस्थालाई देशकै उत्कृष्ट बनाएँ जस्तो लाग्छ,” उहाँले भन्नुभयो ।
स्मारक संरक्षण दरवार हेरचाह कार्यालयका अरुणा नकर्मीले महिला कार्यालय प्रमुखका रुपमा सकारात्मक र नकारतमक दुवै अनुभव भएको बताउँदैं सेवाग्राहीको भनाई सुनिदिने गर्नाले पनि आधा समस्या हल हुने गरेको अनुभव सुनाउनुभयो । उहाँले स्थानीयता र भाषाका कारणले पनि काम गर्न सहज हुने गरेको बताउँदैं भक्तपुरमा लामो समयदेखी रोकिएको ५५ झ्याले दरवारको जिर्णोद्धारलगायत ऐतिहासिक सम्पदाहरुको पुननिर्माणमा भूमिका निवार्ह गर्न पाउँदा खुसी र सन्तोष लाग्ने गरेको बताउनुभयो ।


गुठी संस्थानका प्रमुख खिमा वलीले जीवनको केही बाध्यतामा कारण गुठी क्षेत्र रोज्नु परेपनि दुःख नभएको बताउँदैं नेपालको मठ मन्दिर, कला संस्कृति, जात्रा पर्वलाई व्यवस्थित सञ्चालन गर्ने भूमिका निर्वाह गर्न पाउँदा गर्व लाग्ने गरेको अनुभव सुनाउनुभयो । उहाँले जात्रा पर्व सञ्चालनलाई सहज बनाउन सक्नुमा भगवानको आर्शिवाद प्राप्त गरेको अनुभुती हुने गरेको बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कमला ज्ञवालीले पाठ्यक्रमको आधारमा पठनपाठन नहुँदा शिक्षाको नतिजा कमजोर भएको बताउँदैं अभिभावकलाई शिक्षा के हो भन्ने विषयमा अभिमुखीकरण गरी शिक्षाको बारेमा जानकारी दिने प्रयास गरिएको बताउनुभयो ।
उहाँले मुस्कान सहितको सेवा बिस्तार गरिएको र विगत लामो समयदेखी समस्याको रुपमा रहेको शिक्षकहरुको हाजिरी प्रमाणिकरणलाई समाधान गरिएको बताउनुभयो ।
प्रहरी वृत्त जगातीका प्रमुख प्रनाउ दिप्ती कार्कीले महिला भएकै कारण पछि परेको भन्ने भावना राख्न नहुने बताउँदैं प्रहरीको जीवन एउटा जागिर मात्र नभई जीवन पद्धतीको रुपमा आफुले लिएको बताउनुभयो । उहाँले एउटा महिलाले जीवनमा धेरै भूमिका निर्वाह गर्नुपर्ने बाध्यताका बीच पनि पुरुष सरह प्रतिष्पर्धामा आउन सक्नु सकारात्मक भएको बताउनुभयो ।
जिल्ला हुलाक कार्यालय प्रमुख सिता साम्बाले हुलाक सेवाको पुरानो पहिचान फिर्ता ल्याउने प्रयासमा निरन्तर कार्य गरिरहेको बताउनुभयो ।
व्यवसायिक ग्रेनेज केन्द्रको निमित्त प्रमुख सुलोचना श्रेष्ठले महिलालाई घर गृहस्थी र कार्यालय एकैपटक सम्हाल्नुपर्ने अवस्था र चुनौतीको बेला घरपरिवारको साथ सहयोगको खाँचो रहने गरेको अनुभव सुनाउनुभयो ।
भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख मेलिना चित्रकारले औद्योगिक क्षेत्रको सुधारका साथै स्थानीयसँग समन्वय गरेर समस्या समाधानमा अग्रसरता लिएका कारण कार्य गर्न सहज भएको बताउनुभयो ।
राष्ट्रिय कला संग्रहालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जागिरे जीवनमा सधै खुल्ला प्रतिष्पर्धाबाट आएकाले महिला हुँ, कमजोर छु की भन्ने भावनाको अनुभव नभएको बताउँदैं महिला भएता पनि उत्कृष्ट कार्य गर्न सफल भएकै कारणले राज्यले दुई पटक पुरस्कृत गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले ५१.४ प्रतिशत महिला जनसंख्या भएको नेपालमा पछिल्लो १५ वर्षमा लोकसेवा उत्तीर्ण गर्ने महिलाको संख्या ३ गुणा बृद्धि भएर ३१ प्रतिशत पुग्नु सकारात्मक भएपनि अझै नपुग भएको बताउनुभयो ।
उहाँले महिलाले कुर्सीमा बसेर परिणाम दिलाएपछि मात्र विश्वास गर्ने परिपाटी अझै रहेको भन्दै महिलाहरुले जुन खालको प्रश्नको सामना गर्नुपर्छ त्यस्ता प्रश्नको सामना पुरुषले गर्न नपरेको अवस्था रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्षले भक्तपुरमा महिला कार्यालय प्रमुख २० प्रतिशतको हाराहारीमा पुग्नु जिल्लाकै गौरवको विषय भएको बताउँदैं महिला कार्यालय प्रमुख भएका कार्यालयमा सेवाग्राहीको पुहँच बृद्धि भएको, बिचौलिया स्वभावका मानिसहरुको चहलपहल कम हुने गरेको बताउनुभयो ।
उहाँले नम्रता, आत्मनियन्त्रण, संवेदनशीलता, सामाजिक दक्षता, समानुभूति आदि नेतृत्वमा हुनुपर्ने गुणहरू पुरुषको तुलनामा महिलामा बढी हुने भएका कारण महिलाहरुको नेतृत्व बढी प्रभावकारी हुने अध्ययनले देखाएको बताउनुभयो ।
उहाँले महिलामा भएका प्राकृतिक गुण तथा योग्यताले समस्यामा रहेका संस्थालाई सही ट्रयाकमा ल्याउन सक्ने विश्वासले संकटका बेलामा महिलाहरुलाई नेतृत्व सुम्पने गरेको पाईएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकी, रमेश गिरी, राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्य, महासंघका उपाध्यक्ष लिला श्रेष्ठ, सचिव संजीप घिमिरे ‘शुभचिन्तक’, सहसचिव हेमराज ढकाल, पत्रकारहरु कृष्ण किसी, महासंघका केन्द्रीय सदस्य ललिता साहलगायतले विभिन्न जिज्ञासा राख्दै अन्तरक्रियामा सक्रिय सहभागिता जनाउनुभएको थियो ।