एक महिना मनाईने ‘गुँलाधर्म’ शुरु

भक्तपुर, साउन २१
नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले अति श्रद्धा र भक्तिका साथ प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदादेखी भाद्र कृष्ण औँसीसम्म एक महिना मनाईने गुँलाधर्म सोमवारदेखी शुरु भएको छ । गुँलाधर्ममा एक महिनासम्म स्वयम्भू महाचैत्यलगायत अन्य धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलाधर्मको समापन भदौ १९ गते हुनेछ ।
गुँलाधर्म पर्वको अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको छ । गुँलाधर्म विशेषगरी बौद्धमार्गीहरुको पर्व भएता पनि पछिल्लो समय अन्य धर्मावलम्बीहरु समेत सहभागी हुने गरेको छ ।
संस्कृतिविद् डा. चुन्दा वज्राचार्यका अनुसार गुँलाधर्म पर्वमा बौद्ध स्तूपा, चैत्य, गुम्बा परिक्रमा गर्दै बुद्ध भगवानको ध्यान गर्ने परम्परा छ । दिनहुँ बिहान स्नान गरी बाजागाजासहित स्त्रोत पाठ गर्दै स्वयम्भू महाचैत्य, प्रतापपुर, अनन्तपुर र तीर्थस्थल परिक्रमा गर्ने प्रचलन रहेको उहाँ बताउनुहुन्छ ।


गुँलाधर्मको प्रमुख विशेषता धाः र न्याकुँ बाजा हो । जसलाई शृङ्गभेरी अर्थात् सिङ बाजा पनि भनिन्छ । न्याकुँ बाजा राँगा, भेडाको सिङबाट निर्माण गरिएको हुन्छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजा सहित गुँलाधर्म मनाउने प्रचलनमा बृद्धि भएको छ, जसअनुसार बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यहरुका साथै स्थानीय ईष्टदेवता, गणेश, भिमसेन भैरवलगायतका देवी देवताहरुको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ ।
नेवारी भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’ को अर्थ ‘महिना’ भएकाले नेपाल संवतको नवौँ महिनाको अर्थात नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना यो पर्व मनाउने गरिन्छ ।
गुँला अवधिका विशेष दिनमा विशेष ठाउँमा घुम्ने गर्दछन् । नागपञ्चमीका दिन भक्तपुरको चाँगुनारायण, जनैपूर्णिमामा पाटनको बगलामुखी साथै कृष्ण जन्माष्टमीमा काठमाडौँको स्वयम्भू, विजेश्वरी, शोभाभगवती, मरुगणेश, जनबहालस्थित सेतो मत्स्येन्द्रनाथ परिक्रमा गरिने चलन छ ।


त्यस्तै भक्तपुरको सूर्यविनायक, राममन्दिर, नवदुर्गा देवताघर, दत्रात्रय, पाँचतले मन्दिर, कमलविनायक परिक्रमा गरिने परम्परा छ । भने गुँलाको अन्तिम दिन ललितपुरको बुङ्मती, कार्यविनायक, खोकना, जलविनायक हुँदै चोभारको करुणामय (आदित्यनाथ) परिक्रमा गर्ने पनि परम्परा छ ।
गुँला समाप्तिका दिन हर्ष उमङ्गका साथ भोज खाने चलन छ यस भोजलाई पारु भोज पनि भनिन्छ ।
गुँला कहिलेबाट सुरु भएको भन्ने यकिन नभए पनि भाषा वंशावलीअनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो पर्व चलाएका थिए भन्ने उल्लेख छ । किंवदन्तीअनुसार मञ्जुश्रीले तालका रूपमा रहेको उपत्यकाको पानी बगाएपछि यहाँ बस्ती सुरु भएको हो । उनैबाट चैत्यसेवाको पनि प्रारम्भ भएको थियो र पछि यसले नै गुँलापर्वको रूपमा लिएको भनाइ रहेको पाइन्छ ।
यस्तै प्राचीनकालमा काठमाण्डौँ उपत्यका नागदह नामले प्रसिद्ध थियो, जुन नागदहमा चैत्र शुक्ल पूर्णिमाको दिन विपश्वी बुद्धले कमलको बीज रोपेका थिए, त्यसैबाट कमल उत्पत्ति भई त्यस कमलबाट स्वयम्भूको ज्योति प्रादुर्भाव भएको वंशावलीमा उल्लेख छ । उक्त कमलको बीजबाट अङ्कुर पलाएको गठेमङ्गलको दिन मानिन्छ । त्यसैले गठेमङ्गललगत्तै स्वयम्भू महाचैत्यमा गुँलाधर्मको मेला लाग्छ । यो अङ्कुर एक महिनापछि जलको माथिल्लो सतहमा प्रादुर्भाव भएको हुनाले एक महिनासम्म त्यस स्वयम्भू स्थानमा मेला रहन्छ ।
गुँलामा शृङ्गभेरी अर्थात् सिङ बाजा फुकाउने चलन राजा सिद्धिनरसिंह मल्लले सुरुवात गरेको परम्परा मानिन्छ । शृङ्गभेरी कथाअनुसार मृतकको नाममा स्वयम्भू महाचैत्यमा शृङ्ग बाजा बजाई परिक्रमा गर्ने र पूजा गर्ने चलन छ ।


एक किंवदन्ती अनुसार ब्राह्मण कुलमा जन्मिएकी रूपवती एक दिन जङ्गलमा भैँसी चराउन पुगिन् । यसै क्रममा भैँसी भीरबाट खसेर मरकाले उनी भैँसी मरेको दुःखका रुँदै बसिरहेकी थिइन् । त्यहाँ रूपवतीलाई देखेर बोधिसत्व प्रकट भएर हेर्दा रूपवती पूर्वजन्ममा रानी थिइन् भने भैँसी पूर्वजन्ममा रूपवतीको लोग्ने राजा भएको बताउँछन् । पूर्वजन्ममा पापकर्म गरेको कारण भैँसीको जूनी भएर जन्म लिएको हुनाले बोधिसत्वले भने, उदार गर्ने भए भैँसीको सबै हड्डीहरू राखेर एउटा चैत्य बनाई एउटा सिङ फुकाउने र अर्का सिङमा २१ दिनसम्म जल राखेर सो जल निर्माण गरेको चैत्यमा चढाएमा पूर्वजन्ममा तिम्रो लोग्ने राजाले गरेको पापमुक्त हुन्छ भनेपछि रूपवतीले गुँला अवधिभर सिङ फुकेर यसका साथसाथै अन्य बाजा बजाएर चैत्य परिक्रमा गर्ने परम्परा सुरु भएको कथन रहेको पाइन्छ ।
गुँलामा बजाइने विशेष गुँलाबाजा धाः यस पर्वसँग सम्बन्धित रहेको देखिन्छ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी कपिलवस्तुमा गुँला बाजा बजाउने चलन थियो । जुन गुँला बाजाको ताल सिद्धार्थ राजकुमारलाई निकै मन पर्दथ्यो भन्ने भनाइ छ । पछि शाक्य गणराज्यको पतन भएपछि शाक्य र कोलियाहरू काठमाण्डौँ उपत्यकामा आई बसोबास गरेपछि यहाँ पनि बहाबहीमा यही धाः बाजा बजाउने परम्परा रह्यो । जुन चलन यद्यपि छँदैछ ।
गुँलाभरी स्वयम्भू महाचैत्यसँगै रहेको हारती अजिमालाई पनि विशेष रूपले पूजा गर्ने गरिन्छ । यससम्बन्धी एउटा जनश्रुति अनुसार प्राचीनकालमा हारती अजिमाले १०८ जना सन्तान बच्चा पाल्नका लागि अरू मानिसहरूको बच्चा चोरेर खाने गर्दै आएको रहेछ । बच्चा हराएर रोइकराई गरेका आमाबाबुहरूको दुःख हेर्न नसकेर बुद्ध भगवानले अजिमाका सबै बच्चाहरू गुँला अवधिभर लुकाइदिए । पछि अजिमाले थाहा पाएर भगवान् बुद्धसँग बिन्तीभाव गरी अजिमाले आफ्नो बच्चाहरू फिर्ता मागे ।
भगवान् बुद्धले भने आफ्नो सन्तानको कति माया हुँदोरहेछ, यस्तै अरूलाई पनि आफ्नो सन्तानको उतिकै माया हुन्छ भनेपछि अब उप्रान्त अन्य अरू कसैका बच्चाहरूको उद्धार गर्ने वचनबद्धता गराएर अजिमालाई मनपर्ने छ जना मात्र बच्चा फिर्ता दिई बाँकी बच्चा अजिमाको मन्दिर अगाडि रहेको मण्डपमा गाडेर छोपिदिए । त्यसबेलादेखि हारती अजिमाले सबै बच्चाहरूको हेरचाह रक्षा गर्दै आइरहेको मानिन्छ । सोही बेलादेखि हारतीमातालाई पूजा गर्ने बेलामा १०८ जना बच्चालाई पनि खुवाउने हिसाबले मन्दिर अगाडिको मण्डपमा पनि एक प्रकारको खानेकुरा चढाएर पूजा गर्दै आइरहेको भनाइ रहेको पाइन्छ ।
गुँला अवधिभर अन्य महिनाको भन्दा धेरै चाडपर्वहरू जोडिएको पाइन्छ । जस्तै नागपञ्चमी, यलपञ्चदान, पूर्णिमामा– गुंपुन्हि (क्वाटी पूर्णिमा), कुम्भेश्वर मेला, गाईजात्रालगायत दीपयात्रा मतयाः, श्रीकृष्ण जन्माष्टमी, पञ्चदान र कुशेऔँसी (बुबाको मुख हेर्ने) यसै गुँला मेलाभित्र पर्छ ।