महिला भलिबलमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित

भक्तपुर, साउन २०
काभा वुमन्स नेसन्स लिग महिला भलिबल च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा शनिवार सम्पन्न लिग चरणको खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदैं एतिहासिक जित हात पारेको हो ।
नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले भारतलाई हराएको हो । नेपालको जितमा विशेष गरी स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरे ।
खेलको पहिलो सेट नेपालले २५–१८ को सहज जित निकाल्यो । सेटको पहिलो अंक बटुलेर अग्रता लिन सफल नेपाल एक समय ५–५ को बराबरीमा पुगेपनि ११–६ को अग्रता कायम गर्न सफल भयो । त्यही अग्रतालाई कायम राख्दै नेपालले पहिलो सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
तर दोस्रो सेटमा भने नेपालको लय बिग्रियो । नेपाली खेलाडीहरुको फितलो प्रदर्शनका कारण दोस्रो सेट १२–२५ ले भारतले आफ्नो पक्षमा पार्यो ।


तेस्रो सेटमा नेपाल पुनः लयमा फर्कियो । एक आपसमा उत्कृष्ट समन्वय गर्दै नेपालले तेस्रो सेटमा १६–९ को अग्रता लिँदै सहज जितको आधार तयार पारेको थियो । तेस्रो सेटमा २५–१७ को जित हात पार्दै ऐतिहासिक जित निकाल्नबाट नेपाल एक सेट टाढा थियो ।
प्रतिस्पर्धात्मक बनेको चौथो सेट नेपालले १८–२५ ले गुमाउन पुग्यो । चौथो सेटमा भारत सुरुवातमा ८–३ ले अघि थियो । भारत निरन्तर चौथो सेटमा अघि थियो । भारत मध्य समयमा १५–१० ले अघि थियो । नेपालले १५–१७ बनाउँदै खेलमा फर्किने सम्भावना देखाएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा २ अंकले पछि परेको अवस्थाबाट लगातार पाँच अंक गुमाउँदा भारतले चौथो सेट २५–१८ ले जितेको थियो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको निर्णायक तथा पाँचौ सेटमा उषा भण्डारी र सरस्वती चौधरीको स्पाइकमा अंक जोड्दै नेपालले ५–२ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । नेपालले ८–५ मा पाँचौं सेटको कोर्ट परिवर्तन गरेको थियो ।
नेपाल १२–१० को अवस्थामा रहँदा भारतले टाइम आउट लिएको थियो । टाइम आउटलगत्तै अंक जोडेको थियो । १२–१३ को अवस्थामा सरस्वतीले लेफ्ट साइडबाट अंक जोडेपछि नेपाल जित भन्दा एक अंक टाढा थियो । तर भारतले पुन अंक जोड्दा खेल १३–१४ को अवस्थामा पुगेको थियो । नेपालले भारतको मोमेन्ट्स ब्रेक गर्न टाइमआउट लियो ।


भलिबलमा दक्षिण एसियाली जाइन्ट भारतलाई महिला भलिबलमा नेपालले हराएको यो पहिलो अवसर हो । यसअघिका भेटमा नेपालले भारतलाई कडा चुनौती दिएपनि जित भने निकाल्न सकेको थिएन । सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा नेपाली महिला भलिबल टोलीले पहिलो दुई सेट जितेर पनि अन्ततः खेल भारतले जितेको थियो । गत वर्ष सम्पन्न काभा नेसन्स लिग र एसियन गेम्समा पनि नेपाल भारतसँग पाजित भएको थियो ।