काभा बिच भलिबलमा नेपालको महिला टोली च्याम्पियन

भक्तपुर, साउन १९
नेपाली महिला बिच भलिबल टोलीले काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको थिम्पुमा शनिवार सम्पन्न फाइनलमा नेपाली टोलीले उज्वेकिस्तानको टोलीलाई २–० को साझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २१–१७, २१–१४ ले पराजित गरेको हो । नेपालले खेलेको सबै ५ खेलमा अपराजित रहँदै उपाधि जितेको हो ।
समूह चरणमा तीनवटै खेल जितेको कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले शनिबारै भएको सेमिफाइनलमा उज्वेकिस्तान बी टिमलाई २१–१३, २१–१२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।
दुई वर्षअघि बंगलादेशको क्स बजारमा भएको एभिसी बिच भलिबलमा कमल पुन र कोपिला उप्रेतीको जोडीले रजत जितेको थियो ।