आगलागीमा २ करोड ६० लाख क्षती

भक्तपुर, साउन १८
भक्तपुरको एक आल्मुनियम र फर्निचर उद्योगमा बिहिवार राती आगलागी हुँदा २ करोड ६० लाख रुपैंया बराबरको क्षती भएको छ । मध्यपुर थिमि ३ तेस्राटारस्थित नाशा ईन्टेरियर कम्पनी नामको आल्मुनियम र फर्निचर उद्योगमा आगलागी हुँदा सो क्षती भएको हो ।
स्थानीय शंकर कटुवालको ४ तल घरको भुईंतलामा रहेको उक्त उद्योगमा विद्युत चुवाहट भई राती सवा दश बजे आगलागी भएको हो । तत्काल प्रहरी वृत्त थिमि, प्रहरी प्रभाग बालकोट, स्थानीय बासिन्दा र जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुर, काठमाण्डौं र ललितपुरको दमकलको संयुक्त प्रयासमा राती पौने १२ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको कार्कीले बताउनुभयो ।