भक्तपुर, साउन १८
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शुक्रवार काठमाण्डौं उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समूदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पुजा गरी धुमधामले गठामुंगः पर्व मनाएका छन । साथै आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधी नलागोस भनेर घरघरबाट भुतप्रेत समेत मन्छाएका छन ।
विशेषगरी किसानहरुले गठामुंगः पर्वलाई वैशाख महिनामा पर्ने अक्षय तृतियाका दिन रोपाईंलगायतका बढी बल प्रयोग हुने कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले तान्त्रिक विधिले आह्वान गरेर बोलाएका भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तान्त्रिक विधिद्धारा नै बिदा गर्ने पर्वको रुपमा समेत लिईन्छ ।
भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने गर्दछन । यहाँ गठामुंग पर्व मनाउने शैली अन्य स्थानका नेवार समुदायको भन्दा भिन्न प्रकारको छ । यसदिन नेवार समूदायमा एका बिहानै उठेर घरलाई लिटपोट गरी सफा पार्ने र घरका सबैजनाले नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने परम्परा रहेको छ । घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भईरहेका सम्पूर्ण भाँडाकुडा समेत धोएर चोखो बनाउँछन ।
यसै दिन नेवार समुदायले बौ वाय् ज्या (भुत मन्छाउने कार्य) गर्दछन । काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ति बालेर टोल बाहिरको दोवाटो वा चौवाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात भुत पन्छाउने कार्य भनिन्छ ।
बौ वाय् ज्यासँगसँगै घरघरको मुल ढोका र मुख्य निदालमा पंचरंगी मयूरको प्वांख र तिन खुट्टे फलामको किला ठोकेका थिए । यसले घरमा भुत प्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीहरुलाई फलाम वा तामाको औंठी लगाईदिने चलन पनि रहेको छ । वयस्क युवतीहरुले घण्टाकर्णको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।
त्यसैगरी साँझ पख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर दोवाटोमा फाल्ने कार्य) गरेका थिए । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फुल समेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखी तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास वा दोवाटोमा लगेर सेलाउने गरिन्छ । यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोवरले लिप्ने प्रचलन समेत रहेको छ ।
घण्टाकर्ण पर्वकै अवसरमा टोलबासीले नर्कट र छ््रवालीको मानवाकृतयूक्त राक्षसको प्रतिक बनाई चोक चोकमा ठ्ड्याएर राखेका थिए । सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतिक बनाई जगात अर्थात पैसा उठाउन लगाईने परम्परा रहेको छ । साँझ पख सो राक्षसको प्रतिक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई विभिन्न बाजागाजाका साथ नजिकको खोला, चौबाटो र नगरबाहिर लगेर जलाएका थिए । यसरी जलाउन लैजाँदा बाजागाजाको तालमा अश्लिल शब्दहरु प्रयोग गर्दै गित गाउँदैं जाने गर्दछन ।
यस पर्वलाई किसानहरुको ‘सिनाज्या ब्यंकेगु’ (रोपाईं कार्य सम्पन्न भएको) र चाडपर्वको शुरुवाट भएको संकेत पर्वको रुपमा पनि लिने गरेको छ । नेवार समुदायमा रोपाईं सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा सिनाज्या ब्यंकेगु पर्व मनाउने गर्दछ ।
नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचिन ईतिहासकाल देखी प्रचलनमा रहेको ईतिहासविद् एवम् संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन । काठमाडौं उपत्यकामा करिव २ हजार वर्ष अघिदेखी यो पर्व मनाउनाउँदै आएको उहाँले बताउनुभयो । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको संस्कृतिविद् डा. श्रेष्ठको भनाई छ ।
प्रचलित किंवदन्ती अनुसार कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पुजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतिकको रुपमा पनि लिईन्छ । परापूर्वकालमा देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन नपराउने बडेमानको शरिर भएका एक व्यक्ति थिए, जसले भगवानको नाम सुन्न पर्ला भनेर कानमा ठूला ठूला घण्टा झुण्ड्याएर हिँड्ने गर्दथे । घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो । कानमा घण्टा झुण्ड्याएको हुनाले त्यस घण्टाकर्ण भन्न थालियो । उसलाई सुन भन्दा फलाम मन पथ्र्यो ।
बिस्तारै उसले दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने, बाटामा हिँड्नेसँग जगात (कर) माग्ने, जनतालाई दुःख कष्ट दिने, महिला र बालिकामाथि व्यभिचार गर्ने गर्न थाले । एकदिन उसलाई साह्रै भोक लागेको बेला ऊ आहाराको खोजीमा चौबाटोमा निस्कियो र उसको एउटा भ्यागुतोसँग भेट भयो । भ्यागुतोसँग उसले मानव बस्ती कहाँ छ भनेर सोध्यो । भ्यागुतोले घण्टाकर्णलाई धाप (भासभएको जमिन)तर्फ बाटो देखाउँदै त्यहीँ मानिसको बस्ती छ भनेर पठायो । घण्टाकर्ण त्यतै लागे तर उ धापमा फस्यो। जति निस्कन खोज्यो त्यति उनी भास्दै गए ।
साँझको समय भएकाले ऊ रातभर त्यही भासमा फँस्यो । भोलिपल्ट बिहान गाउँलेहरूले ढुंगाले हानेर उसलाई मारे । कतैकतै भ्यागुतोले घण्टाकर्णलाई कुवामा खसाएर मारेको कथा पनि सुन्न पाइन्छ । रुद्रयामलतन्त्रमा एक जना तान्त्रिकले भ्यागुतोको रुप लिई राक्षसलाई मारेको कथा उल्लेख छ । त्यसैले त्यही घण्टाकर्णको कुकृत्य फेरि नदोहोरियोस् भनेर प्रत्येक वर्षको श्रावण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन घण्टाकर्ण प्रतिक बनाई जगात उठाउने र साँझपख बाजागाजासहित नाचगान गर्दै नजिकको खोला, दोबाटो वा चौबाटोमा लगेर जलाउने परम्पराको विकास भएको मान्यता रहेको छ ।
यसै दिनबाट नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने परम्परागत देवीदेवताका नाचसहित व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षण समेत घण्टाकर्ण पर्व पछि सुरु गरिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको लागि यसै दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ ।